नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेटपछि फुटबल सबैभन्दा मन पर्ने खेल हो। बास्केटबलमा समेत राष्ट्रिय स्तरका थुप्रै प्रतियोगिता खेलेका उनी स्कुले जीवनमा फुटबलका राम्रा खेलाडी थिए। 'म सायद क्रिकेटभन्दा फुटबलको राम्रो खेलाडी हुँ। सन्तोष साहुखल स्कुलमा मेरो स्ट्राइकिङ पार्टनर थियो,' पारस अक्सर भन्ने गर्छन्।
नेपाली राष्ट्रिय टोलीले दशरथ रंगशालामा खेल्ने हरेक खेलका नियमित दर्शक हुन उनी।
उनीसँगै राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल, स्टार बलर शक्ति गौचन, पृथु बास्कोटालगायत क्रिकेटर फुटबलका खाँटी प्रशंसक हुन्। यसैगरी नेपाली टोलीका ओपनर सुवास खकुरेल पनि फुटबललाई नजिकबाट नियाल्छन्।
सुरुवातमा अर्जेन्टिनाका फ्यान भए पनि सन् १९८६ को विश्वकपमा इंग्ल्यान्डलाई हराएपछि डिएगो म्याराडोनाले फकल्यान्ड युद्धको प्रसंग कोट्याउँदै दिएको प्रतिक्रियाले भने सुवासको समर्थन फेरियो। 'त्यो बेला म्याराडोनाले मैदानमा गोर्खाली नभएका कारण इंग्ल्यान्डलाई हरायौँ भनेका थिए। उनको प्रतिक्रिया सामान्य रूपमा हेर्दा ठीकै जस्तो देखिए पनि उनले नेपालीको अपमान गरेका थिए। त्यसैले त्यो कुरा थाहा पाएपछि मैले अर्जेन्टिनालाई समर्थन गर्न छोडेको छु,' हाल स्पेनिस टोलीका समर्थक सुवास नेपाली क्रिकेटसँग विश्व फुटबलको तुलना गर्दै भन्छन्, 'ठूला टोलीलाई सबैले फलो गर्छन्। तर, नयाँ टोलीको आगमनबाट हामीले प्रेरणा लिन सक्नुपर्छ। त्यसैले नयाँ टोलीको प्रदर्शन, उनीहरूको तयारीलगायत सबै कुरा राम्ररी नियाल्नुपर्छ र त्यसबाट सिक्नुपर्छ भन्ने मलाई लाग्छ। हामीले विश्वकपसम्मको यात्रा गर्दा पनि धेरै कुरा सिकेका र स्थापित गरेका छौँ।'
क्रिकेटरमात्र होइन, अन्य खेलका सुपरस्टारलाई पनि आफू खेल्ने खेलपछि पहिलो रोजाइमा फुटबल नै पर्ने गर्छ। दक्षिण एसियाली खेलकुद (साफ) मा लगातार चार स्वर्ण पदक जितेका तेक्वान्दो स्टार दीपक विष्ट, साफका दोहोरो स्वर्णधारी कराते खेलाडी दीपक श्रेष्ठलगायत सबै फुटबलका क्रेजी हुन्। 'फुटबल मन नपर्ने मानिस संसारमा सायदै छन्। अझ खेलाडीलाई त ऊ जुनसुकै खेलको भए पनि फुटबलले नतान्ने कुरै हुँदैन,' ब्राजिलमा विश्व फुटबलको सबभन्दा ठूलो कुम्भमेला विश्वकपको २० औँ संस्करण सुरु हुनै लाग्दा करातेका सुपरस्टार श्रेष्ठ भन्छन्, 'विश्वकपले अहिलेको माहोल त झनै फुटबलमय बनाएको छ। हामी दक्षिण कोरियामा तीन महिनापछि हुने १७ औँ एसियाली खेलकुदको तयारीमा छौँ। तर, विश्वकप हेर्न कसरी समय मिलाउने भन्ने हाम्रो चासो पनि कम छैन।'

हाल राष्ट्रिय टोलीको प्रशिक्षकका रूपमा कार्यरत दीपकले अभ्यासलाई असर नगर्ने गरी विश्वकपका सबै खेल हेर्ने योजना बनाएका छन्। 'हामी अभ्यासमा पनि कहिलेकाहीँ फुटबल खेलेर रिफ्रेस हुने गर्छौ। त्यसैले अहिले बन्द प्रशिक्षण शिविरमा रहे पनि अभ्यासलाई असर नगर्ने गरी केही खेल प्रत्यक्ष हेर्नेछौँ। राति ढिलोगरी हुने खेलको भने भोलिपल्ट दिउँसो रिटेलिकास्ट हेरेर भए पनि फुटबल नशा मार्नेछौँ,' दीपकले भने।
बाल्यकालमा फुटबल खेल्ने गरे पनि एउटा चोटका कारण करिअरले करातेको मोड लिएको दीपक बताउँछन्। सानै छँदा चापागाउँमा फुटबल खेल्ने क्रममा घाइते भएपछि परिवारको दबाबमा उनले फुटबल छोड्नुपरेको थियो। त्यसपछि परिवारलाई ढाँटेर उनले कराते खेल्न सुरु गरेका थिए। 'मलाई अहिले पनि फुटबल खेल्न नपाउँदाको पीडा भइरहन्छ। त्यसैले हामी नियमित रूपमा मैत्रीपूर्ण फुटबल भए पनि खेलिरहन्छौँ,' विश्व फुटबलमा अर्जेन्टिनाका समर्थक उनी भन्छन्, 'मलाई जहिले पनि अर्जेन्टिनाले जितोस् जस्तो लाग्छ। तर, आफूले समर्थन गरेयता कहिल्यै अर्जेन्टिनाले जित्न सकेको छैन। यसपालि पनि ब्राजिलको सम्भावना बलियो देख्छु। अर्जेन्टिनाले नै जितोस् भनेर यसपालि पहिलाजस्तो धेरै खुलेर समर्थन गर्दिनँ। मैले त्यसो गरे उनीहरूले जित्लान् कि?'

नयाँ बानेश्वरमा खेलकुद सामग्रीको पसल 'स्पोर्टस युनिभर्स' खोलेका तेक्वान्दोका कीर्तिमानी खेलाडी दीपक विष्ट पनि विश्व फुटबलमा अर्जेन्टिनाकै फ्यान हुन्। दीपकलाई पहिल्यैदेखि अर्जेन्टिना मन पर्थ्यो। तर, सन् २००८ को बेइजिङ ओलम्पिकमा सहभागी हुन जाँदा लियोनेल मेसीलाई भेटेपछि उनको अर्जेन्टिनाप्रतिको भावना झन् मजबुत भयो। 'मैले मेसी राम्रो खेलाडी भन्ने सुनेको थिएँ। बार्सिलोनाबाट उनले खेलेका केही खेल हेरेको पनि थिएँ। उनको खेल मलाई मन पर्थ्यो। तर, खेलाडी भिलेजमा भेट्दा म मेसीबाट धेरै प्रभावित भएँ,' दीपक सम्झन्छन्, 'विश्वको सबैभन्दा ठूलो स्टार खेलाडी भएर पनि उनमा कुनै घमण्ड थिएन। मैले मेसीलाई जति राम्रो खेलाडी त्यतिकै राम्रो मान्छेका रूपमा पाएँ। त्यसपछि अर्जेन्टिनालाई हेर्ने दृष्टिकोण अझै भावनात्मक भयो।'
प्रकाशित: १ असार २०७१ ०७:२१ आइतबार





