६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्य

जीवित सहिदको संघर्ष यात्रा

विश्वेश्वरप्रसाद कोइराला गृहमन्त्री थिए। विसं २००७ सालको क्रान्ति सकिएर भर्खरै प्रजातन्त्र उदाएको थियो। भारतमा भएको त्रिपक्षीय सन्धिअनुसार मोहनशमशेर राणा नै प्रधानमन्त्री थिए। सरकारमा जनसहभागिता सुरु भएको थियो।असन्तुष्ट पक्षले बेला–बेला नारा, जुलुस निकालेकाले सहर अशान्त थियो। गृहमन्त्री बिपी कोइरालाले त्यसबखत सुरक्षा कानुन लगाएर भाषण, जुलुसमा बन्देज लगाउँदा पनि युवा विद्यार्थीको जोश थामिएन। कात्तिक २०, २००८ का दिन सईदुदिन र उनका साथीहरूले हनुमानढोकाको कालभैरव मन्दिरअगाडिबाट जुलुस निकाले। महेन्द्रनारायण निधि सुरक्षा हेर्न खटिएका थिए। उनले मुक्तिसेनालाई जुलुसमा फायर गर्न निर्देशन दिए। अचानक गोली चल्यो। दुई विद्यार्थीलाई गोली लाग्यो। एकजना तत्कालै बिते, अर्काको खुट्टामा मात्रै लागेकाले बचे।
मारिने विद्यार्थी थिए, चिनियाँ काजी। उनको मृत्युले राजनीतिक तनाव झन् बढ्यो। बिपीले कात्तिक २४ गते मोहनशमशेर सरकारबाटै राजीनामा दिए। गोली लाग्ने विद्यार्थी थिए सईदुदिन।
‘संयोगले मलाई खुट्टामा मात्र गोली लागेको रहेछ। चिनियाँ काजीको कोखमा गोली लागेको थियो। उनी अस्पतालमा बिते। पछि उनको रगतको टाटो लागेको लुगा बोकेर पनि साथीहरूले जुलुस निकाले रे। त्यस दिन उनीहरूले जुद्धशमशेरको सालिकनिर निधिलाई समेत कुटेर भगाए भन्थे। तर मलाई भने सरकारले औषधि गर्न हवाइजहाजमा पटना पठाइदियो,' डल्लुचोक, स्वयम्भूस्थित निवासमा ८८ वर्षीय सईदुदिनले ००८ सालको सम्झना बाँडे, नलीखुट्टाको छेउमा लागेको गोलीको गहिरो खत देखाउँदै।
सईदुदिनको कथा एक नेपाली मुसलमानको कथा हो। सात सालमा युवाकाल गुजारेका एक काठमाडौंवासीको संघर्षगाथा हो, गरिबीमा पिल्सिएको र सानैमा बाबु गुमाएको युवकको व्यथा हो। एक हिन्दु महिलासँग विवाह गरेर सफल दाम्पत्य जीवनयापन गर्ने मुसलमानको प्रेमकथा हो। अनि नेपालमा जन्म–मुत्यु दर्ता कार्यालय (रजिस्ट्रार अफिस) स्थापना गरेर बनेका पहिलो पञ्जिकाधिकारी) रजिस्ट्रार) को गौरवपूर्ण सफलताको कथा हो। यो एक जिउँदा इतिहास–पुरुषको आरोह–अवरोहको कथा हो। 
चिनियाँ काजी कुन पक्षमा थिए, उनले कुन उद्देश्यले ज्यान दिए, खासै हेक्का छैन सईदुदिनलाई। उनका विचारमा त्यस घटनापश्चात बिपीले राजीनामा दिएका होइनन्, उनलाई मोहनशमशेरले बर्खास्त गरेका हुन्। जे होस्, त्यही घटनाले नेपालको इतिहासमा राणा प्रधानमन्त्रीको अन्तिम अध्याय पल्टियो। बिपीले सरकार छाडेको दुई दिनमै कात्तिक २६ गते मोहनशमशेरले पनि राजीनामा दिए। त्यसपछि प्रधानमन्त्री बनेका थिए, मातृकाप्रसाद कोइराला।
पटनामा चार महिना उपचारपछि खुट्टामा प्लास्टर लगाएर सईदुदिन नेपाल फर्के। त्यसबेला टुँडिखेलको खरिबोटमा बनाइएको मञ्चमा नेपाली कांग्रेसको कुनै कार्यक्रम हुँदै थियो। उनलाई देख्नेबित्तिकै केही विद्यार्थीले उनलाई बोल्न जबर्जस्ती मञ्चमा उकाले।
‘त्यसबेला मञ्चमा बिपी कोइराला पनि थिए। मैले कसरी त्यसबेलाको सरकारले हामीमाथि गोली चलायो भनेर बताएँ। अनि मैले त्यस्तो सरकार त रानीपोखरीमा डुबेर मरे पनि हुन्थ्यो भनेको मात्र के थिएँ, सबै विद्यार्थी मञ्चमा चढेर सभा तितरवितर बनाइदिए। बिपी पनि समारोह छाडेर हिँड्नुपर्‍यो,' सईदुदिन पुराना घटना राम्ररी सम्झन्छन्।
नेपाली कांग्रेसको विरोध गरेपछि त उनी आफसे आफ वामपन्थी भइहाले। वामपन्थी विद्यार्थी संघ खुलेको थियो, भोटाहिटीमा, त्यहीँ जान थाले उनी। तर त्यतिबेलाका संघका अध्यक्ष नेपाली कांग्रेस प्रवेश गरेकाले उनीहरूलेअध्यक्षलाई अफिस आउन बन्द गरिदिए। पछि सीताराम भण्डारी भन्ने विद्यार्थी नेतालाई पनि कार्यालय आउन बन्द गरिदिए, किनभने उनी पनि कांग्रेस निकट विद्यार्थी नेता थिए। त्यसपछि संस्कृत छात्रावासका एक देवकोटा थरका व्यक्ति उनीहरुका नेता बने। अनि बिस्तारै उनीहरुले पुष्पलालको नेपाल कम्युनिस्ट पार्टीको भ्रातृत्व स्विकारे। त्यसबेला फेडेरेसनको कार्यालय मक्खन शिवमन्दिर पछाडि थियो। उनले पुष्पलालसँग तालिम पनि लिए। 
सईदुदिन अहिले पनि आफूलाई वामपन्थी भन्न रुचाउँछन्। माओवादीसँग भने उनको कुनै सम्पर्क छैन, मतलब पनि राख्दैनन्। ‘म माओवादीलाई मन पराउँदिनँ। जहिलेदेखि माओवादी आए, देश र जनताले निकै दुःख पाए। अन्तिमसम्म पनि सडक चौडा गर्ने नाममा जनताका घर भत्काए। मलाई लाग्दैन, जनताले तिनलाई मन पराउँछन् भनेर,' उनी स्पष्ट ढंगले आफ्नो विचार व्यक्त गर्छन्। तर राजनीति उनको भाग्यमा लेखिएको थिएन। २००७ सालमा गोली खाएका सईदुदिनलाई घरको आर्थिक स्थितिले राजनीतिमा अघि बढ्न दिएन। 
सानै छँदा बाबु बितेकाले मामाघरमै हुर्के, ओटुटोलको डा. मोहम्मद मोहसिनको घरमा। मोहसिनका पिता उनका मामा थिए, बाल्यकाल त्यहीँ बित्यो। दरबार हाइस्कुलबाट स्कुले पढाइ सिध्याएर त्रि–चन्द्र कलेज भर्ना भए। त्यहीबेला घरको आर्थिक अवस्था धान्न जागिरका लागि लोकसेवा दिए। नाम निस्कियो, सहायक अञ्चलाधीश भएर चितवन गए। त्यहाँ स्थानीय मुसलमान समुदायसँग उनले राम्रो सम्बन्ध बनाएका थिए। तर त्यो सम्बन्धका कारण तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापासँग भने सम्बन्ध बिग्रियो। पञ्चायती चुनावमा त्यहाँबाट थापाका उम्मेदवार हारे र त्यसका लागि मुसलमान समुदायले भोट नदिएको आरोप लगाइयो। हुन पनि उनले सूर्यबहादुरको मान्छेलाई भोट नदिनू भनेका थिए। 
उनी फेरि पढ्न पटना पुगे। त्रि–चन्द्र कलेजमा पढाउने एक भारतीय प्राध्यापकको सिफारिस र भारतीय दूतावासको आर्थिक सहयोगमा लखनउबाट स्नातकोत्तर गरे। फर्केर पुनः सरकारी सेवामा लागे। ‘त्यसबेला संयुक्त राष्ट्र संघको एक प्रतिनिधिसँग भेट भयो। उनले जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेदका विषयमा सम्झाए। यसरी जन्म, मृत्यु दर्ता नगराएकोलाई अमेरिकामा त बाबु, आमाको टुंगो नभएको सन्तान भन्ने चलन रहेछ,' उनी अहिले पनि त्यो दिन सम्झन्छन्।
उनी त्यहीबेला अमेरिका गए भाइटर रजिस्ट्रेसन अर्थात् जन्म–मृत्यु दर्तासम्बन्धी विषय पढेर आए। त्यसबारे सबैभन्दा पहिले ऐन, कानुन तयार गरे। ‘त्यतिबेलाको मन्त्रिपरिषदबाट कानुन पास भई लागू भयो। अनि राजधानीबाट सो कानुन बिस्तारै जिल्लाहरुमा पनि लागू गरियो,' उनी आफ्नो सफलताका कथा सुनाउँदा प्रफुल्ल देखिन्छन्। जिल्ला जिल्लामा गएर गाविस सचिवलाई त उनले कति तालिम दिए कति, हिसाबै छैन। ‘म तालिम दिन हरबखत घुम्थेँ। निर्देशन पुस्तिका छपाएर बाँडेको थिएँ। कति उद्घाटन, कति तालिम दिइयो, कुरै नगर्नुस्। सरकारले दिएको मोटर थियो, त्यो मोटरमा धेरै जिल्ला घुमियो,' उनले बयान गरे।
नेपालमा पञ्जिकाधिकारी कार्यालय स्थापना गरी पहिलो रजिस्ट्रार भएर उनले जन्म, मृत्यु, विवाह र सम्बन्धविच्छेद विवरण संकलन गर्न थाले। हरेक १० वर्षमा तथ्यांक विभागको जनगणनाबाहेक जनसंख्यासम्बन्धी अनेक तथ्यांक सार्वजनिक हुन थाले। उनलाई गर्व छ, उनको पेन्सनपट्टामा पनि पञ्जिकाधिकारी लेखिएकोमा। राजपत्रांकित द्वितीय श्रेणीको कर्मचारीका रुपमा उनले सरकारी सेवामा पेन्सन पकाए। त्यसो त सरकारी पेन्सनको मात्र भर परेका छैनन् उनी। लुगा सिलाउने सानो निजी कारखाना चलाउँछन् जुन जीवन धान्ने स्रोत बनेको छ।
रानीपोखरीस्थित कश्मिरी मस्जिदमा ६ वर्ष अध्यक्ष रहेका उनी त्यहाँ गोलमाल देखेपछि बाहिरिए, आफ्नो समुदायसँगको सम्बन्ध नघट्ने गरी। बेला–बेला भेटघाट भने गरिरहन्छन्। एकैै धर्ममा पनि बरेल्वी र देउवन्दी दुई समूहमा विभाजित मुसलमान दाजुभाइबीचको बेमेल र तनाव सम्झँदा भने उनलाई दिक्क लाग्छ।
सईदुदिनका विचारमा नेपालका मुसलमानहरूलाई खासै समस्या छैन। ‘हामीलाई यहाँ खास गाह्रो छैन, धर्मअनुसार काम गर्न पाइएको छ, मरेपछि स्वयम्भूमा अन्तिम संस्कारका लागि ठाउँ दिइएको छ। धर्मका कुरामा कुनै हस्तक्षेप छैन,' उनको अनुभव छ।
भारतमा मोदी नेतृत्वको सरकार आएकोमा भने उनी अलि चिन्तित छन्। ‘मोदीलाई मुसलमानहरूले खासै राम्रो मान्दैनन्। नेपालको धर्मनिरपेक्षता उनलाई मन परेको छैन भने केही समस्या आउन सक्छ। नेपालले धर्मनिरपेक्षता छाड्नु हुँदैन,' उनको अनुहारमा स्पष्ट पीडा भाव झल्किन्छ। 
नेपालको सरकारले पनि मुसलमानहरूको हितका लागि ठोस कार्य गर्न नसकेकोमा उनलाई चित्त बुझेको छैन। मुसलमानहरूलाई आफ्नो धर्म र रीतिरिवाज मान्न त गाह्रो छैन, तर मुसलमानहरुको अवस्थामा सरकारलाई साह्रै चासो नभएको उनको गुनासो छ। नेपालमा मुसलमानहरूले धर्मप्रचार त गरेनन्, तर क्रिस्चियनहरूको प्रभाव बढेर गएकोमा भने उनको गुनासो छ। 
भदौ १६, २०६५ सालको घटनामा भने नेपालका मुसलमानलाई धेरै डर भएको उनी सम्झन्छन्। इराकमा नेपाली मारिएको प्रति्कक्रयामा भएको मस्जिद आगजनीका बेला स्वयं मोहम्मद मोहसिन मन्त्री थिए। त्यस्तो बेला राजीनामा नदिएकोमा आलोचना पनि भएको थियो।
सईदुदिनको विचारमा मोहसिनको देहवसानपछि भने उनको समुदायले एउटा अभिभावक गुमाएजस्तो रित्तो–रित्तो अनुभव भएको उनी सुनाउँछन्। 
हिन्दु धर्मावलम्बी नेवारकी छोरीलाई धर्मपत्नी बनाउन पाएकोमा भने उनी निकै खुसी छन्। उनको विवाह हुँदा राणाशासन नै थियो। सरकार र समाजले भने उनी दुईको विवाहमा भाँजो हाल्न खोजेनन्, ससुरालीमा पनि सधँै राम्रो सम्बन्ध रह्यो। वैवाहिक जीवन सुखमय बितिरहेको छ। 
सन्तानका रुपमा एउटी छोरी छिन् जो बाबुआमाको रेखदेखमैै व्यस्त देखिन्छिन्। जमानामा शारीरिक सुगठनमा लागेकाले उनी अहिले पनि हठ्ठाकट्ठा र तन्दुरुस्त छन्।
कसैसँग कुनै गुनासो छैन, सईदुदिनको। सर्वसाधारण नेपालीप्रति त निकै सकारात्मक छन् उनी, राजनीतिक दलका भूमिकाप्रति भने केही चित्तदुखाइ छ, उनको। ‘केही राजनीतिक दलसँगमात्र चित्त नबुझेको हो, जनता ठिक छन्,' उनी यसरी जीवन–सन्तोषको सुस्केरा हाल्छन्।

प्रकाशित: ३० जेष्ठ २०७१ २३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App