रौतहट— सदरमुकाम गौर कारागारबाट दुई जना कैदी फरार भएको दुइ साता नबित्दै अर्का एक कैदीले आफ्नै घाँटी रेटेर आत्महत्या प्रयास गरेका छन्।
भारत सितामढी जिल्लाका बैरगनिया गाउ २ मुसाचौकटोल घर भएका २८ बर्षिय गौरि शंकर रामले दाह्री काटने ब्लेडले मंगलवार साझ आत्महत्या प्रयास गरेका हुन्। विभिन्न ३ वटा मुद्दा खेपिरहेका उनले घाँटीमा काट्दा गहिरो चोट लागेको छ। कडा सुरक्षबीच जिल्ला अस्पताल गौरमा प्राथमिक उपचार पछि थप उपचारको लागी नारायणी अस्पताल वीरगञ्ज पठाइएको स्रोतले जनाएको छ ।लागू औषध, अपहरण र हातहतियार मुद्दाका मुख्य आरोपी रामलाई २०६७ माघ ५ गते प्रहरीले पक्राउ गरेको थियो। ३ वटै मुद्दाको सुनुवाइ जिल्ला अदालत गौरमा चलिरहेका बेला उनले आत्महत्या प्रयास गरेका हुन्।
जिल्ला कारागारकै अर्का एक कैदीले उनलाई अन्यत्र सरुवा गरिदिने बताएपछि रामले आत्महत्या प्रयास गरेको प्रहरी निरिक्षक विजय राज पंडितले जानकारी दिए।
प्रकाशित: २८ जेष्ठ २०७१ ०५:१० बुधबार





