२९ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

गोरखाका २५ मतदान केन्द्र अझै सडक सञ्जाल बाहिर

फाइल तस्बिर

गोरखाका २५ मतदान स्थल अझै सडक सञ्जालसँग जोडिएका छैनन्। जिल्लाका जम्मा २२५ मतदान स्थलमध्ये २०० भने सडक सञ्जालसँग जोडिएको छ।

अधिकांश हिमालपारिका गाउँपालिका चुमनुब्री र केही धार्चेका मतदान स्थल सडक सञ्जालदेखि तीन दिन दूरी टाढा सम्मका रहेका निर्वाचन कार्यालय गोरखाले जनाएको छ। चुमनुब्री गाउँपालिकाका २४ र धार्चेका एक मतदान स्थल सडक सञ्जालसँग जोडिएका छैनन्। निर्वाचनका कर्मचारी तथा सुरक्षाकर्मीहरू चुमनुब्री गाउँपालिकाका मतदान स्थल पुग्न कम्तीमा तीनदिन पैदल हिँड्नुपर्ने बाध्यता छ।

सबैभन्दा टाढा चुमनुब्री–१ को साम्दो आधारभूत विद्यालय केन्द्र रहेको छ। त्यहाँसम्म पुग्न सडक पुगेको चुमनुब्री–३ पाङसिङबाट कम्तीमा तीन देखि चार दिनसम्म पैदल हिँड्नुपर्छ। सोही वडाको गौरीशङ्कर आधारभूत विद्यालय मतदानकेन्द्र पुग्न पनि कम्तीमा तीन दिन पैदल हिँड्नुपर्छ। वडा नं ७ को छुलेनिले आधारभूत विद्यालय केन्द्र पुग्न तीन दिन हिँड्नुपर्छ।

जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराएको विवरणअनुसार चुमनुब्री–२ को गाविस भवन स्यो केन्द्र, सामुदायिक भवन ल्हो केन्द्र, वडा नं ७ कै बुद्ध आधारभूत विद्यालय केन्द्र र छेकम आधारभूत विद्यालय केन्द्र पुग्न पनि निर्वाचनका कर्मचारीहरू सडकदेखि दुई दिनसम्म पैदल हिँड्नुपर्छ। वडा नं ४ को प्रोक आधारभूत विद्यालय प्रोक, हिमचुली आधारभूत विद्यालय छाक, नाम्रुङ स्वास्थ्यचौकी केन्द्र, क्वाक आधारभूत विद्यालय क्वाक पुग्न पनि दुई दिन पैदल हिँड्नुपर्छ।

कार्यालयबाट प्राप्त विवरणअनुसार क्राक आधारभूत विद्यालय केन्द्र, गुम्बा हिमाली आधारभूत विद्यालय केन्द्रसम्म पुग्न एक दिन पैदल हिँड्नुपर्छ। वडा नं ६ को सिप्चेत आधारभूत विद्यालय केन्द्र, चुम्लिङ आधारभूत विद्यालय केन्द्र, सिद्धगणेश आधारभूत विद्यालय केन्द्र र खार सामुदायिक खोप केन्द्र पुग्न पनि सडकदेखि एक दिन पूरै पैदल हिँड्नुपर्ने बाध्यता छ।

वडा नं ३ को वुद्ध मावि केन्द्र, बुद्ध हिमाली आधारभूत विद्यालय न्याक केन्द्र, सिदुङ आधारभूत विद्यालय सस्रयू केन्द्र, फिलिम आधारभूत विद्यालय पाती केन्द्र पनि सडक सञ्जालसँग जोडिएको छैन। ती केन्द्रहरू एक घण्टादेखि चार घण्टासम्म पैदल हिँड्नुपर्ने दूरीमा छन्।

धार्चे गाउँपालिका–१ हुलचुक मतदान केन्द्रसम्म सडक निर्माण गरिए पनि मोटर चल्ने अवस्थाको नभएको वडाध्यक्ष रामसिङ गुरुङले बताए। त्यहाँ पुग्न करिब दुई घण्टा पैदल हिँड्नुपर्छ।  

ती मतदान केन्द्रहरूबाट मतपेटिका ओसार्न विगतमा हेलिकप्टरको प्रयोग गरिएकाले यसपटक पनि हेलिकप्टर माग गरिएको प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले बताए।

प्रकाशित: २९ पुस २०८२ ०६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App