६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

पुस्तक मेलामा पूँजीवाद बहस

काठमाडौं– नेपालका राजनीतिक पार्टी एनेकपा माओवादी र एमालेले समाजको आर्थिक चरित्र अर्धसामन्ती अवस्थाबाट पूँजीवादतिर लागेको निष्कर्ष निकालेसँगै नेपालमा पूँजीवादको चरित्रमाथि बहस सुरु भएको छ। सोही सन्दर्भमा बुधबार काठमाडौंमा जारी १८ औं नेपाल शिक्षा तथा अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा पूँजीवाद लिएर राजनीतिक पार्टीका नेता र त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरु बहसमा उत्रिए।चैतन्य मिश्रद्वारा लिखित पुस्तक ‘पूँजीवाद र नेपाल'को पुनर्संस्करणको अवसर पारेर बहसमा उत्रिएका अधिकांश सहभागीले नेपालमा पूँजीवाद विकसित हुने चरणमा रहेकाले यसको गति बुझ्न सकेमात्र समाजलाई बुझ्नसकिने धारणा राखे।
दुई दशकदेखि नेपालमा पूँजीवादको अस्तित्वका विषयमा कलम चलाउँदै आएका प्राध्यापक मिश्रले सन् १८१६ को सुगौली सन्धि यतादेखि नै नेपालमा पूँजीवादको अस्तित्व रहेको जिकिर गरे। ‘कुनै पनि ठाउँमा पूँजीवादको अस्तित्व पहिचान गर्ने तीन आधार छन्। उत्पादनको साधनको फैलावट, श्रम संगठनको चरित्र र पूँजीको पुनर्लगानी, यी तीन आधारमा पूँजीवादको उपस्थितिलाई निर्क्योल गर्न सकिन्छ,' मिश्रले भने, ‘नेपालमा उत्पादनका साधनमा एकल स्वामित्व छैन, श्रम संगठनको चरित्र पनि सामन्तवादी छैन र पुनर्लगानीको अवधारणा पनि छ। त्यसैले नेपालमा धेरै पहिलेदेखिनै पूँजीवादको उपस्थिति छ। नेपालका कम्युनिष्ट पार्टीले बल्ल यो कुरा बुझ्दैछन्।' उनले पूँजीवादले एक व्यक्तिको हितमात्र हेर्ने हुँदा राज्यले यस्तो अवस्थामा सामाजिक न्याय सहितको पूँजीवादलाई बलियो बनाउनु पर्ने धारणा।
एमाले नेता घनश्याम भुसालले भने समाजको चरित्र बुझ्न पनि पूँजीवाद बुझ्नुपर्ने धारणा राखे। ‘समाजवादलाई बलियो बनाउन पनि पूँजीवादलाई बुझ्न जरुरी छ। विगतमा यही कुरा ठम्याउन नसकेका कारण धेरै समाजवादी राष्ट्रहरु धरासायी भए। नेपालमा पनि यो कोणबाट बहस गर्न ढिला भइसकेको छ,' नेता भुसालले भने।
समाजशास्त्री सुरेश ढकालले सहजीकरण गरेको बहसमा एनेकपा माओवादी नेता राम कार्की, वाम चिन्तक श्याम श्रेष्ठले पनि आफ्नो धारणा राखेका थिए।
लगभग एक दशकअघि मूल्यांकन प्रकाशनगृहद्वारा प्रकाशित ‘पूँजीवाद र नेपाल'को यो तेस्रो संस्करण हो। तेस्रो संस्करणलाई फिनिक्स बुकले बजारमा ल्याएको हो।

प्रकाशित: २१ जेष्ठ २०७१ २२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App