उम्मेदवारी दर्ताका लागि झापा आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा जलाइएका सरकारी र व्यक्तिगत संरचना निरीक्षण गरेर आफ्नो चुनावी अभियान थाल्ने भएका छन्।
पार्टी क्षेत्रीय समन्वय कमिटी झापा ५ का संयोजक नारायणप्रसाद गौतमका अनुसार भदौ २४ गते विध्वंसकारी समूहले तोडफोड र आगजनी गरेका यस क्षेत्रका सम्पूर्ण संरचनाहरू अध्यक्ष ओलीले निरीक्षण गर्ने र पीडितहरूलाई भेट्ने कार्यक्रम रहेको छ। आज दमकस्थित इलाका प्रहरी कार्यलयको भवनको निरीक्षण गरेर सुरु गरिने गौतमले जानकारी दिए।
एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेलका अनुसार बिहान १० देखि १२ बजेसम्म अध्यक्ष ओलीले क्षतिग्रस्त संरचनाको निरीक्षण गर्ने र पीडितहरूलाई भेट्ने कार्यक्रम तय गरिएको छ। आज इलाका प्रहरी कार्यलय दमक, दमक नगरपालिका, दमकका मेयर राम थापाको निवास, नेपाली कांग्रेसको पार्टी कार्यलय, पूर्व मेयर रोमनाथ ओलीको निवास, अध्यक्ष ओलीको आफ्नो निवास, नेपाली कांग्रेस दमक नगरको कार्यलय, एमाले दमक कार्यालय र एमालेका युवा नेता बुद्धि थापाको निवास आदिको निरीक्षण गर्ने योजना बनाइएको छ। आजै १ बजेअध्यक्ष ओलीले फागुन २१ गते हुने निर्वाचनका लागि झापा ५ बाट उम्मेदवारी दर्ता गर्ने र अन्य राजनीतिक बैठकहरू भएकाले जलाइएका अन्य संरचनाहरू अर्को दिन निरीक्षण गर्ने कार्यक्रम बनाइने पौडेलले जानकारी दिए।
जेनजी आन्दोलनका क्रममा झापा क्षेत्र नं ५ मा सरकारी र व्यक्तिगत गरी करिब २५ वटा संरचना ध्वस्त पारिएका थिए।
गौतमका अनुसार यस क्षेत्रका अन्य पालिकाहरू कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा जलाइएका संरचना पनि अध्यक्ष ओलीले समय व्यवस्थापन गरेर निरीक्षण गर्न हुनेछ।
प्रकाशित: ६ माघ २०८२ ०७:१७ मंगलबार





