५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

कैदी भगाएको आरोपमा दुईलाई मुद्दा

रौतहट– कैदी भगाएको आरोपमा गौर कारागार प्रशासनले दुई प्रहरीविरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ। गौर कारागारबाट उपचार गराउने बहानामा लागुऔषध कारोबारी मोहम्मद जावेद र चौकीदार नवीनकुमार यादवलाई भगाउन सहयोग पुर्‍याएको भन्दै प्रहरी हवल्दार गणेश श्रेष्ठ र प्रहरी जवान गौरीशंकर साहविरुद्ध कारागार प्रशासनले कारागार ऐनअन्तर्गत मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
प्रहरीको आन्तरिक छानबिनमा गौर कारागारमा तत्कालीन प्रहरी इर्न्चाज प्रहरी सहायक निरीक्षक शंकर श्रेष्ठको संलग्नता नदेखिएकाले हालका लागि कारबाही प्रक्रियाबाट अलग राखी हवल्दार श्रेष्ठ र जवान साहलाई कारबाही अघि बढाइएको प्रहरी उपरीक्षक उमेश रन्जितकारले बताए।
जिल्ला कारागारबाट गम्भीर प्रकृतिका अपराधमा सामेल दुई कैदी उपचारको बहानामा दिनदहाडै फरार भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले प्रहरी नायव उपरीक्षक भीम ढकालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।
यसैबीच गौर कारागारबाट कैदी भागेको विषयमा छानबिन गर्न गृह मन्त्रालय र मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले छुट्टाछुट्टै कमिटी गठन गरेका छन्। गृह मन्त्रालयले उपसचिव बाबुराम खतिवडाको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको छ। मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले नारायणी अञ्चल प्रहरी प्रमुख सर्वेन्द्र खनालको अध्यक्षतामा तीन सदस्यीय उच्चस्तरिय छानबिन टोली गठन गरेको छ। मंगलबारबाट काम सुरु गरेको टोलीमा एसपी नलप्रसाद उपाध्याय र डिएसपी कृष्णजी अधिकारी छन्। मन्त्रालयका शाखा अधिकृत गोविन्दसिंह भण्डारी र डिएसपीसहितको टोलीले बुधबार रौतहट आएर अनुसन्धान कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए।

प्रकाशित: २१ जेष्ठ २०७१ ०९:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App