५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

अवार्डमा पारसको इतिहास

काठमाडौं- लगातार दोस्रोपल्ट वर्षको उत्कृष्ट पुरुष खेलाडी चुनिँदै राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का पल्सर स्पोर्टस अवार्डकै सबैभन्दा सफल खेलाडी बनेका छन्। नेपाली क्रिकेटको विश्वकप खेल्ने सपना साकार पारेका पारसले क्रिकेटकै वसन्त रेग्मी र सुवास खकुरेल तथा एथलेटिक्सका यामसाजन सुनार र गल्फका शिवराम श्रेष्ठलाई उछिन्दै वर्ष खेलाडीको पुरस्कार हत्याएका हुन्।

नेपाल प्रज्ञा भवनमा सोमबार आयोजित अवार्ड समारोहमा पारसले यसको श्रेय आफ्नो टोलीका सबैलाई सदस्यलाई दिँदै भने, 'हामीजस्ता खेलाडीका लागि यस अवार्डले ठूलो अर्थ राख्छ। हामी यो अवार्ड कहिले आउँछ भनेर पर्खिरहेका हुन्छौं।'
तीनपटक वर्षको उत्कृष्ट खेलाडी हुने पारस एक्लो खेलाडी हुन्। उनले यसअघि २०६६ र गत वर्ष यो अवार्ड जितेका थिए। नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस अवार्ड एथलेटिक्सका राजेन्द्र भण्डारी र दीपक विष्ट दुईपटक पुरुष वर्ष खेलाडीमा चुनिएका थिए। २०६४ को युवा वर्ष खेलाडी पारस स्पोर्टस अवार्डमा ४ पटक विजेता बन्ने पनि पहिलो हुन्। 
महिलातर्फ सुनीता बोहोराले जुडोको इतिहास नै रचिन्। उनी प्रतिस्पर्धातर्फ वर्षको उत्कृष्टमा चुनिने जुडोकी पहिलो खेलाडी हुन्। सातौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा नेपालबाट एकमात्र स्वर्ण जितेकी सुनीताले एथलेटिक्सकी दिलमाया कार्की, पौडीकी सोफिया शाह, क्रिकेटकी सीता रानामगर र भारोत्तोलनकी तारादेवी पुनको चुनौतीलाई पन्छाएकी थिइन्।
पारस, यामसाजन र सोफियासँगै युवा फुटबलर विमल घर्तीमगरलाई चकित पार्दै भलिबलकी सरस्वती चौधरी लोकप्रिय खेलाडी बनिन्। एसएमएस मत र फेसबुक लाइकका आधारमा विजेता चयन हुँदा सरस्वतीले ६९ प्रतिशतभन्दा बढी मत ल्याएको मञ्चले जनाएको छ। भलिबलले लगातार चौथोपल्ट लोकप्रिय खेलाडीको अवार्ड जितेको हो। यसअघि मञ्जु गुरुङ, सिपोरा गुरुङ र रमिला तण्डुकारले लोकप्रियको अवार्ड जितेका थिए। 
वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र लोकप्रिय खेलाडी विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाएका थिए। सबै विजेतालाई डिसहोमबाट सेटअप बक्स, न्यु होराइजनबाट नेपाली कार्पेट र आरजे बुटिकबाट ट्रयाकसुट तथा अन्य विजेताले जनही ५० हजार र सामसुङ क्यामरा पाए। मनोनयनमा पर्नेले टाइमेक्स घडी पाएका थिए। 
उत्कृष्ट युवा खेलाडीको पुरस्कार फुटबलका विमल घर्तीमगरले जितेका छन््। पाकिस्तानविरुद्ध साफ च्याम्पियनसिपमा राष्ट्रिय टोलीबाट गोल गरी सनसनी मचाएका १६ वर्षे किशारेल साफ यु–१६ च्याम्पियनसिपमा नेपाललाई फाइनलमा पुर्यारउँदा ६ गोल र एएफसी यु–१६ च्याम्पियनसिपमा नेपाललाई फाइनल चरण पुर्याुउँदा तुर्कमेनिस्तानविरुद्ध ह्याटि्रक गरेका थिए। युवाको दाबेदारमा क्रिकेटका सोमपाल कामी र अविनाश कर्ण, उसुका विशाल थापा सिंजाली र पौडीका शिरीष गुरुङ थिए। शिरीषको कार्यक्रममा पियानो बजाएका थिए।
क्रिकेटको दबादबा रहँदा पुबुदु दासानायके उत्कृष्ट प्रशिक्षक बने। नेपाललाई डिभिजन ३ को विजेता बनाउनुका साथै विश्वकपमा छनोट गराएर विश्वकपमा उत्कृष्ट प्रदर्शन गराएका दासानायके लगातार दोस्रोवर्ष उत्कृष्ट प्रशिक्षक बनेका हुन्। दासानायकेले भलिबलका कपिलकिशोर श्रेष्ठ, फुटबलका बालगोपाल महर्जन, उसुका युवराज गुरुङ र जुडोका ऋषिराम प्रधानलाई पछाडि पारेका थिए।
घरमा पकाएको खानाको दम
राष्ट्रिय क्रिकेट टोलीलाई 'टिम अफ द इयर' को उपाधि प्रदान गरिएको थियो। क्रिकेटकै शरद भेषावकरले विशेष पुरस्कार पाए। युएईमा भएको विश्व ट्वान्टी–२० छनोटमा ठूला सटहरू खेल्दै सानदार फिनिसिङ गरेका शरदलाई सोही कारण विशेष पुरस्कार प्रदान गरिएको थियो। उनले अवार्ड हेर्न आएका आफ्नो आमा देखाउँदै भने, 'सबैले सोध्थे कसरी त्यत्रो सट हानिस् भनेर। घरमा पकाएको खाना खाएकाले यो सबै भएको हो।'
लाइफटाइम एचिभमेन्ट अवार्डले सम्मानित कीर्तिमानी धावक वैकुण्ठ मानन्धरले ४५ वर्षअगाडि खेल्न सुरु गर्दा आफूले कहिल्यै यस्तो अवार्ड पाउँला भनेर नसोचेको बताए। 'मैले यत्रो अवार्ड पाइसकें, तर यस्तो अवार्ड कहिल्यै पाएको छैन। लाइफटाइम एचिभमेन्ट अवार्ड भनेको जीवनमा एकचोटि पाइन्छ। त्यो आज पाएको छु।' 
पहिलो तीन साफमा म्याराथनमा स्वर्ण पदक जितेका मानन्धरले १९८७ मा कोलकातामा बनाएको २ घन्टा १५ मिनेट ३ सेकेन्डको दक्षिण एसियाली कीर्तिमान अझै कायम छ। 
तेक्वान्दोका यादव कुँवरले पारा एथलिट वर्ष खेलाडी भए। उनले चौथो डब्लुटिएफ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जित्नुका साथै फाइटिङ स्पिरिट पुरस्कार पनि पाएका थिए। कार्यक्रममा करातेका मन्डेकाजी श्रेष्ठ र उसुका राज महर्जनले आ–आफ्नो विधाबाट विशेष प्रस्तुति दिएका थिए।

प्रकाशित: १९ जेष्ठ २०७१ २१:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App