३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

श्रवणका गीत र सौरभका बालकथा

काठमाडौं– कविताका लागि चर्चित श्रवण मुकारुङले यसपालि कविता होइन गीतिपुस्तकलाई बजारमा ल्याएका हुन्। ‘सुन रे सियाराम' शीर्षकको पुस्तक भृकुटीमण्डपमा जारी अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा शनिबार वैरागी काइँलाले विमोचन गरे। पुस्तक विमोचन गर्दै प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति काइँलाले नेपाली साहित्यको बजार सही बाटोमा हिँडेकोले सबै खाले पुस्तक निकाल्ने वातावरण बनेको बताए।‘हिजोका दिनमा लेखन आत्मसन्तुष्टिमा सीमित थियो। आज व्यावसायिक बन्दै गइरहेको छ। त्यसै कारणले पनि होला गीतका किताब पनि निस्कन थालेका छन्, जुन साहित्यमा जीवन समर्पण गर्न चाहनेका लागि खुसीको कुरा हो,' काइँलाले भने।
पुस्तकमाथि टिप्प्णी गर्दै संगीतकार आभाषले गीतले प्राज्ञिक ठाउँमा स्थान नपाइरहेका सन्दर्भमा श्रवणजस्ता स्रष्टाका गीतले यस्तो अभाव पूर्ति गर्ने विचार व्यक्त गरे। ‘छिमेकका देशमा गीत लेखेर नै साहित्यकारले नोबेल पुरस्कार पाएका छन् र बारम्बार यसका लागि मनोनयनमा पनि परेका छन्,' उनले भने, ‘तर हाम्रो देशमा हामीले यसलाई सम्मानजनक स्थानमा पुर्‍याउन सकेका छैनौं। तर श्रवणजस्ताको उपस्थितिले गीत लेखनले निश्चय नै एउटा उचाइ प्राप्त गर्छ।'
आभाषले पुस्तकभित्र निजात्मक र सामाजिक सम्बन्धका गीतहरु समेटिएको चर्चा गरे।
तीन दशकदेखि गीत लेखनमा सक्रिय श्रवणको पहिलो रेकर्डेड गीत ‘म क्षितिज हुँ' हो, जुन २०४५ सालमा रेकर्ड भएको थियो। ‘सुन रे सियाराम'मा श्रवणले विविध कालखण्डमा रेकर्ड भएका गीतहरु संग्रह गरेका छन्। विमोचन कार्यक्रममा विप्लव ढकाल र विष्णुविभु घिमिरेले पनि मन्तव्य राखेका थिए। पुस्तकलाई याम्बुरी बुक प्वाइन्टले बजारमा ल्याएको हो।
पुस्तक प्रदर्शनीमा शनिबार नै कथालय प्रकाशनले एकसाथ तीन बालकृति सार्वजनिक गर्‍यो। ‘हाम्रो गिफ्ट राम्रो गिफ्ट', ‘सबैलाई प्यारो अतेलाई गाह्रो' र ‘जीराजस्तो मीरा दिमागमा किरा' शीर्षकका पुस्तक सौरभकृष्ण श्रेष्ठले लेखेका हुन्। पुस्तकमा सुमन महर्जनका चित्र समेटिएका छन्। चट्याङ मास्टरले एकसाथ तीनवटै कृतिको विमोचन गरे।
चट्याङ मास्टरले जनसंख्याको तुलनामा बाल साहित्यका कृतिहरु संसारभर नै कमी हुने गरेको तथ्यांक औँल्याउँदै पढाउनुपर्ने पुस्तालाई पढाउन नसकिरहेको विवशता पोखे। 
‘बालबालिकाको संख्या धेरै छ, तर उनीहरुले पढ्ने पुस्तक एकदमै कम छ। अझ नेपालमा त छँदै छैन भने पनि हुन्छ। कथालयको यो प्रयासले ठूलो जनसंख्याको ज्ञान वृद्धिका लागि सहायक भूमिका खेल्नेमा विश्वस्त छु,' चट्याङ मास्टरले भने।
लेखक सौरभकृष्ण श्रेष्ठले करिब ४ वर्षको मेहनत पछि पुस्तक निकालेको भन्दै सबै शीर्षकका पुस्तकहरुको सिरिज निकाल्ने योजना रहेको जानकारी गराए। उनले पुस्तकमा अंग्रेजी भाषाको ज्यादा प्रयोग गरिएको टिप्पणीलाई प्रतिकार गर्दै लेखाइमा बोलीचालीको लवज मिसाउन अंग्रेजी प्रयोग गरिएको बताए।
कथालय प्रकाशनका कार्यकारी प्रमुख राजीवधर जोशीले सौरभका तीनै किताबले बालबालिकालाई हँसाउने बताए। यसअघि बजारमा उपलब्ध भइसके पनि तीनै किताबलाई पहिलोपल्ट लोकापर्ण गरिएको हो। त्यसमध्येको एक पुस्तक ‘हाम्रो गिफ्ट राम्रो गिफ्ट'ले २०६६ सालमा परिजात बालसाहित्य पाण्डुलिपी उत्कृष्ट पुरस्कार पाइसकेको छ। कार्यक्रममा ध्रुवकुमार घिमिरेले पनि टिप्पणी गरेका थिए।

प्रकाशित: १७ जेष्ठ २०७१ २२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App