२८ पुस २०८२ सोमबार
image/svg+xml
अन्य

दिवंगत सर्जकको सम्झनामा पलेँटी

काठमाडौं– सांगीतिक कार्यक्रम ‘पलेँटी'ले दशौं वर्षको शृंखला थाल्दा शुक्रबार आफूलाई ‘सम्झना पलेँटी'का रुपमा प्रस्तुत गरेको छ। पहिलो गीतै भिम ‘विराग'को थियो, ‘तिमीले पनि मजस्तै माया दिएर हेर।' नारायण गोपालले गाएको यस गीतलाई पलेँटीमा कुनै समय गीतकार एवं संगीतकार ‘विराग' स्वयंले प्रस्तुत गरेका थिए भने अहिले उनैको सम्झनामा गायिका मीनाले गाइन्।

संयोजक आभास र मीनाले पालैपालो गाएको साँझमा अर्को सम्झना थियो गत वर्ष निधन भएका अर्का गायक फत्तेमानको। ‘हिजोआज सधैं, टुक्रा टुक्रा निन्द्रा सुत्छु।' बानिरा गिरिले लेखेको र आभासकै संगीतको यो गीत ‘फत्तेमान ७० मा' अल्बममा अटाएको थियो।
अर्का दिवंगत स्रष्टा राममान तृषितलाई पनि कार्यक्रममा सम्भि्कयो। उनकै रचनाको ‘मैले पुण्य मन पराएँ' लाई मीनाले सुनाइन्। त्यसपछि आभासले भीम ‘विराग'का दुई गीत लगातार गाए, ‘गलत मोडमा जब मोडिन्छ जिन्दगी' र ‘नबोलाऊ कसैलाई तिमी राती राती'। गायक प्रेमध्वज पनि कार्यक्रममा उपस्थित थिए। 
नेपाली गीतका श्रोताहरुले हरिभक्त कटुवाललाई सदैव गीतकारका रुपमा चिन्दै आएका छन्। तर, कटुवालले कोही अरुको रचनामा संगीत भर्ने काम पनि गरेका छन् भन्ने कसैलाई थाहा थिएन। केही वर्षअघि पलेँटीका निम्ति आसामको डिग्बोइदेखि आएकी गायिका मिरा थापाले यो गीत काठमाडौंका श्रोतालाई सुनाउँदा सबै चकित परेका थिए। पलेँटीले उनै गायिका मिरालाई पनि सम्झायो। युद्धवीर रानाको शब्द र हरिभक्त कटुवालको संगीतमा बनेको त्यही गीत ‘मलाई कसैले' मीनाले सुनाइन्। 
भारतीय गायक एवं संगीतकार भूपेन हजारिकाले नेपाली गीतमा पनि संगीत भरेका छन् भन्ने जानकारी धेरै कमलाई छ। भविलाल लामिछानेको शब्द र हजारिकाको संगीतमा उतिबेला बनेको ‘यो सिसाको जिन्दगी'लाई सुनाइन् मीनाले।
मञ्जुलको रचना ‘मर्छु र म डुंगा बन्छु, आउँदा नदी तार्न सकूँ' बाट कार्यक्रमको अन्त्य फत्तेमानलाई सम्झेर गरिएको थियो। आगामी महिनाको पलेँटी शृंखलामा गायकगायिका बाबुछोरी प्रकाश गुरुङ र रिमा गुरुङ होडा प्रस्तुत हुनेछन्।

प्रकाशित: १७ जेष्ठ २०७१ २२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App