५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

कानैमा फुसफुसायो मृत्यु

‘माया एंग्लो इज डेड!'
कुनै रेस्टुराँमा बसेर कफीको स्वाद लिइरहँदा साथीले पठाएको एसएमएसले एकाएक दुःखी बनायो। आँखाअघिल्तिर टाँसियो– विरलैले देख्ने युग देखेकी अग्ली, काली वर्णकी प्रतिभाशाली महिलाको तस्बिर। सँगै सम्झना आयो– विश्वसाहित्यमा अनौठो तरंग ल्याएको उनै अफ्रो–अमेरिकी हक्की लेखिकाको आत्मकथा आइ नो व्हाइ दि केज्ड बर्डस् सिङको।
अंग्रेजी साहित्यकी एक होनहार हस्तीको मृत्युको खबरले कफीको स्वाद एकाएक खल्लो बनाइदिएको थियो।उत्सुक भएर उनको ट्वीटर प्रोफाइल खोलेँ। मे २३ मा अन्तिम ट्वीट गरेकी रहिछन्– ‘आफ्नै आवाज सुन। त्यो आवाजमा तिमीले भगवान् गुनगुनाएको सुन्न सक्छौ।'
त्यसको ठिक पाँच दिनपछि ‘भगवान'को आवाज सुन्न जीवनको अन्तिम यात्रा तय गर्न हिँडिन् उनी। लाग्यो, मृत्यु उनको कानैमा आएर पहिल्यै फुसफुसाइसकेको थियो!
...
आठ वर्षकै हुँदा उनले जानिसकेकी थिइन्, आवाज कति शक्तिशाली हुँदो रहेछ। त्यो थाहा पाउनेबित्तिकै पाँच वर्षसम्म उनी मौन बसिन्। सार्वजनिक रूपमा बोल्दै बोलिनन्।
कुरा हो, सन् १९३६ को। आमाको साथीले एंग्लोलाई बलात्कार गरे। उनले परिवारका कसैलाई नभनी दाजुलाई मात्र सुनाइन्, ‘फ्रिमेनले मलाई बलात्कार गरे!' खबर चैतको आगोझैं हुरुरुरु सबैको कानसम्म पुग्यो। अदालतमा पेस गरेको दोस्रो दिन बलात्कारी फ्रिमेनलाई परिवारकै कसैले हत्या गरिदियो।
एंग्लोलाई त्यति बेला लाग्यो, उनको आवाजले फ्रिमेन मर्नुपर्‍यो। त्यस घटनाले उनको सिंगो जीवन–स्केच नै अर्कै बनायो; भावुक, एकदम कल्पनाशील र पुस्तकप्रेमी। आफ्नै आवाजको कारण कसैको हत्या भएकाले मानिसको जीवनमा आवाज कति ठूलो कुरा रहेछ भन्ने उनले बुझिन्।
...
सामान्य मान्छे आफ्नो जिन्दगीमा कतिवटा पेसामा पारंगत हुन सक्ला? एक, दुई वा तीन? माया एंग्लोचाहिँ एक दर्जनबढी प्रतिभा बोकेकी (अ)सामान्य नारी थिइन्। लेखिका, सिने–नायिका, सम्पादक, यौनकर्मी, गायिका, प्राध्यापक, नृत्यांगना, टेलिभिजन प्रोड्युसर, नागरिक अधिकार अभियन्ता, शक्तिशाली वक्ता आदिआदि। उनी सबैभन्दा बढी चिनिएकी जानिएकी लेखिकाको मुखुन्डोमार्फत् हो। त्यही पेसा गर्न उनलाई जीवनभरि सबैभन्दा गाह्रो लाग्यो रे! ‘मलाई लेखन पेसा साह्रै अप्ठ्यारो लाग्छ, तर यही मनपर्छ। मैले सबैभन्दा कठिन समय लेख्न बस्दा भोगेकी हुन्छु,' मागरेर्ट जन्सन भएर जन्मिएकी र माया एंग्लोको नामले संसारप्रसिद्ध भएकी उनले अन्तर्वार्तामा भनेकी छन्।
आँखैअगाडि गोराबाट चरम जातीय भेदभाव भोगेकी/देखेकी उनले आफ्नै युगमा एउटा कालो केटो अमेरिकी राष्ट्रपति होला भन्ने ठानेकी थिइनन्। मार्टिन लुथर किङले १९६० को एउटा भाषणमा भनेका थिए, ‘आजको ४० वर्षपछि कालो वर्णको मानिस अमेरिकी राष्ट्रपति बन्नेछ।' एंग्लोले पत्याइनन् र हिलारी क्लिन्टलाई समर्थन गरिन्। तर बाराक ओबामाले जिते। कालो वर्णका ओबामाले राष्ट्रपतिको सपथ लिएको देख्न पाइन् उनले। 
समयको एउटा युग अर्को युगमा रूपान्तरित भयो। मार्टिन लुथर किङ जुनियरदेखि बाराक ओबामा उनले बाँचेको समयका सारथि भए।
...
उनको जीवन खोतल्दा आइ नो व्ह्ाइ दि केज्ड बर्डस् सिङको अधिक कुरा गर्नैपर्छ। किनकि, पिँजडामा थुनिएको चराको गीत जीवनभर गाउने स्रष्टा थिइन् उनी। त्यो बेला कालाहरू ‘पिँजडा'मा थुनिएका थिए। बन्धनमै मिठो गीत गुनगुनाउँथे, दुःख र पीडाको। हो त्यही गीतलाई एंग्लोले आफ्नो ओठमा राखिन्, आफैंले भोगेको समयको चोरऔंला समाउँदै त्यसमा डोरिएर हिँडिन्। सबैलाई सुनाइन्, पिँजडामा थुनिएको चरीको सुन्दर गीत र गीत गाउनुपर्ने कारण। संसार मन्त्रमुग्ध बन्ने उक्त गीतमा एंग्लोले मात्र सास भरेकी थिइनन्, गोराबाट जीवनभर चरम दुःख भोग्ने सम्पूर्ण कालाजाति पनि कोरसको रूपमा पर्दापछाडि गुनगुनाइरहेका थिए।
नेसनल बुक अवार्ड १९७० र न्यु योर्क टाइम्सको बेस्टसेलर लिस्टमा दुई वर्षसम्म परेको आइ नो व्ह्ाइ दि केज्ड बर्डस् सिङले आत्मकथा लेखनमा तरंग ल्याएको थियो। सातवटा आत्मकथा शृंखलामध्येको पहिलो यस किताबले बाल्यकालमा उनले भोगेको रेसिजम् र ट्रमाको मन छुने विश्लेषण गरेको छ। जातीयतावाद र आफैंप्रतिको हीन भावनादेखि स्वनिर्भरताको कथा समेट्ने यो आत्मकथा उपन्यासझैं लाग्छ, किनकि यसमा उपन्यासमा हुनुपर्ने अधिक गुण छन्। कालो वर्णकी बच्चीले भोगेको बलात्कारलाई सशक्त रूपकको रूपमा चित्रण गरेकी छन् उनले। साथै गोराले कालालाई चरम यातना र दुःख दिँदाको समय उठेका पहिचान र शिक्षाको सवाल पनि बुलन्द बनाएर पस्किएकी छन्।
सानै उमेरमा एंग्लोले भोगेका कथाचक्रलाई किताबको रूपमा ढाल्न जेम्स वाल्डविनलगायतका हस्ती लेखकले चुनौती दिए, ‘आख्यानजस्तै बनाएर आत्मकथा लेख्नु त लगभग असम्भवै छ!' त्यसपछि उनलाई चुनौती स्वीकार्ने हुटहुटी बढ्यो। अनि सुरु गरिन्, किताब लेख्न। किताब लेख्नुअघि उनले जीवनमा धेरै नियति भोगीसकेकी थिइन्। सन् १९५० को अन्तिम समयतिर उनले काला लेखकहरूको लेखकीय सञ्जाल ‘हार्लेम राइटर्स गुइल्ड'मा आबद्धता जनाइन्। त्यसपछि उनको लेखकीय क्षमता प्रस्फुटन हुन थाल्यो।
प्रायः मानिसले जीवनमा एउटा वा दुइटा आत्मकथा लेख्छ, जसमा उसको जीवनको सम्पूर्ण स्केच कोरिएको हुन्छ। तर एंग्लोको जीवनमा यति धेरै कहानी भए, सबैलाई समेट्न एक वा दुई पुस्तकमा सम्भव भएन। उनले लेख्नुपर्‍यो, आत्मकथाका सात थान किताब! समीक्षकहरू बताउँछन्– यी सबै किताब फरक छन्; वाचन शैली र प्रस्तुतिका हिसाबले। एउटै छन्; सारांशको हिसाबले। सर्ट–स्टोरीझैं चट्ट परेका खण्डमा प्रस्तुत उनको आत्मकथामा समयको वर्णानुक्रित वर्णन छैनन्।
युवाकालमा विभिन्न हन्डर खाँदै, कहिले घरबाट भाग्दै, कहिले हजुरआमासँग बस्दै त कहिले सहरमा एक्लै जीवनयापन गर्दै उनी हिँडिरहिन्। छोरा पाइन् तर बाबुको नाम उल्लेख गर्न चाहिनन्। त्यति बेला उनले लिएको यो ठूलो जोखिम थियो। सन् १९६१ मा उनी कायरो गइन् र अरब अब्जरर्भरका लागि सम्पादक बनिन्। पछि, घाना गएर त्यहाँको एक विश्वविद्यालयमा पढाउन थालिन्। १९६५ मा अमेरिका फर्केपछि मार्टिन लुथर किङ जुनियरकै नजिक रहेर काम थालिन्। मार्टिनको हत्या भएपछि विक्षिप्त बनेकी उनलाई बाल्डविनजस्ता साथीहरूले लेख्न हौस्याए। सुरुमा नकारे तापनि पछि लेखिन्। आखिर उनलाईे पहिलो कृतिले नै जीवनभर लेख्ने ऊर्जा दियो। त्यसपछि उनले लेख्न कहिल्यै छाडिनन्। लेखिरहिन्।
कतिपय महिलाका लागि एंग्लो ऊर्जावान शक्ति हुन्। उनीहरूलाई एंग्लोले बाँचेको जीवन पढ्दा जीवनमा आइपर्ने जस्तोसुकै अप्ठ्यारो र अवसरलाई सही तरिकासँग जुझ्ने जाँगर मिल्छ। लेखिका अर्चना थापालाई यस्तै लाग्छ। फेनोमेनल उमन, स्टिल आइ राइज नामका उनका कविता पढिसकेपछि अर्चनालाई एंग्लोका सबै रचना पढ्ने हुटहुटी जाग्यो। व्यक्तिगत जीवनदेखि सम्पूर्ण साहित्यिक कृति पढिसिध्याइन् उनले। आइ नो व्ह्ाइ दि केज्ड बर्डस् सिङजस्तो शक्तिशाली कृति पढेपछि अझ अगाडि बढ्ने साहस मिल्यो। 
साढे चार दशकभन्दा बढी समय अध्यापनमा बिताएका अभि सर (अभि सुवेदी) र विश्वविद्यालयका अर्का अध्यापक शिव रिजालका लागि एंग्लो प्रिय लेखिका थिइन्। मानवीय संवेदनालाई अत्यन्त सामान्य तर शक्तिशाली कवितात्मक भावमा प्रस्तुत गर्ने एंग्लोका फर अस, हु डेयर नट डेयर र स्टिल आइ राइज कविताका फ्यान हुन् अभि सर।
...
दशकौंसम्म करोडौं काला जातिहरूको मस्तिष्कमा ‘आइकोनिक फिगर' रहिरहन सफल यी हस्तीले जीवनमा धेरैपटक फरक–फरक अवतारमा पुनर्जीवन पाइन्। कहिले मार्टिन लुथर किङको आन्दोलनलाई साथ दिँदै सिभिल राइट्स एक्टिभिस्ट भइन्, कहिले सन्तानलाई हुर्काउन यौनकर्मी बनिन्, कहिले डान्स बारमा नाचिन्, कहिले सान फ्रान्सिस्कोको सडकमा गुड्ने बसको कन्डक्टर भएर काम गरिन्, कहिले थिएटरमा नाटक खेलिन्, कहिले पत्रिकाको सम्पादक भइन् त कहिले फिल्म निर्देशन गर्दै नायिका पनि बनिन्। उनले स्त्रि्कप्ट लेखेको सिनेमा पुलिट्जर पुरस्कारमा मनोनीत भयो, जुन पहिलोपटक अफ्रिकी–अमेरिकी महिलाले लेखेकी थिइन्। आफ्नो व्यक्तिगत जीवनलाई पुस्तकमा उतार्न आँट गर्ने पहिलो अफ्रो–अमेरिकी लेखिका उनै भइन्। उनैको लेखनशैली पाठकले अत्यधिक रुचाएपछि ब्ल्याक फेमिनिस्ट लेखनको बाढी आएको थियो, ७० को दशकतिर।
उनी विवादरहित पनि भइनन्। उनका किताबमा आउने हिंसा, विवाहपूर्वको यौनसम्पर्क, समलैंगिकता, र उच्छृंखलताका सवाललाई देखाउँदै थुप्रै बाआमाले उनका किताब पुस्तकालयका दराज र छोराछोरीका झोलाबाट मिल्काउनुपर्ने बताए। शक्ति, जातीयता, लैंगिकता र वर्गलाई सशक्त रूपमा एउटै धागोमा उन्न सक्ने एंग्लोको लेखनी नपढिने/नपढाइने विश्वविद्यालय कमै भए, भलै विवादित भएका होउन्।
‘जिन्दगीमा हारसँग हाम्रो धेरै जम्काभेट भइरहन्छ तर हामी हारिहाल्नु चाहिँ हुँदैन।' आफैंले यस्तो भने पनि अन्ततः उनी हारिन्। गत बुधबार जित्यो उनलाई मृत्युले। जीवनको अन्तिम हार सायद मृत्यु नै हो!

म त अझै शिखरकै बाटोमा
तिक्त र वक्र झूटहरूले लेखिएको
तिम्रो छद्म इतिहासमा म निच होऊँला,
तिमी मलाई धुलोमा चित्रित गरौला,
तर धुलोजस्तै उड्छु म त, शिखरकै बाटो।

मेरो धृष्टतामा दुःखी छौ तिमी?
तिमी किन धूमिल छौ उदासीले
किनकि, मेरो हिँडाइले लाग्छ,
मसँग तेलको खानी छ, जुन बैठकमै तेल उगेल्छ।

जूनजस्तै, अनि घामजस्तै,
तरंगको निश्चिताजस्तै
ऊर्ध्वगामी आकांक्षाहरूजस्तै
म त बढिरहेकै हुन्छु, शिखरको बाटो।

के तिमी मलाई टुक्रिएको हेर्न चाहन्थ्यौ?
ललाट निहुरिएको र नयन झुकेको हेर्न चाहन्थ्यौ?
र पाखुराहरू आँसुका थोपाजस्तै
हृदयभेदी रोदनले थकित भएर लत्रिएको हेर्न चाहन्थ्यौ?

के मेरो अभिमान तिमीलाई निको लाग्दैन?
सायद तिमी यसलाई विकराल समस्या ठान्छौ
कारण, म सुनखानीकी मालिकनीजस्तै हाँस्छु,
आफ्नै करेसामा सुन खन्न लागेजस्तै।

तिमी ममाथि शब्दको बौंछार गर्न सक्छौ
र आँखाले भेदन गर्न सक्छौ
तिमी आफ्नो घृणाले मलाई मार्न पनि सक्छौ
तर पनि म त बढ्छु, शिखरकै बाटो।

के तिमी मेरो यौनिकताले आक्रान्त छौ?
के यो एउटा आश्चर्य बनेर आउँछ
कि म मेरा जाँघको दोभानमा
हीराको खानी भएझैं गरी नाच्छु?

ऐतिहासिक कलंकका कटेराहरूबाट
म उठ्छु
पीडामा भासिएको विगतबाट
म उठ्छु
म कालासागर हुँ, उम्लँदो र विशाल
बढ्दै र फैलँदै म लहरहरू सँगाल्छु
आतंक र भयका रातहरू छोडेर,
म उठ्छु,
चामत्कारिक उज्यालो बोकेको सङ्लो प्रभातमा
म उठ्छु
मेरा पूर्वजले दिएको उपहार बोकेर।
म दासहरूको सपना र आशा हुँ।
म उठ्छु
निरन्तर उठ्छु
उठिरहन्छु, माथि
शिखरको बाटो।
(एंग्लोको ‘स्टिल आइ राइज' कविता। अनुवादक : महेश पौड्याल)

एंग्लोका केही कृतिहरू : 
• आइ नो व्हाइ दि केज्ड बर्डस् सिङ
• ग्यादर टुगेदर इन माइ नेम
• सिंगिङ एन्ड स्विंगिङ एन्ड गेटिङ मेरी लाइक क्रिसमस
• दि हर्ट अफ ए उमन
• अल गड्स चिल्ड्रन निड ट्राभलिङ सुज्
• अ सङ फ्लङ अप टु हेबन,
• मम एन्ड मी एन्ड मम

प्रकाशित: १६ जेष्ठ २०७१ २२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App