१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

सोलुखुम्बुमा नेकपाबाट असिम राई उम्मेदवार

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यका लागि युवा नेता असिम राईलाई उम्मेदवार बनाएको छ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले राईलाई उम्मेदवार चयन गरेको हो।

हाल जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष समेत रहेका राईले उम्मेदवारी दिनका लागि पदबाट राजीनामा दिने तयारी गरेका छन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पहिलो पटक अध्यक्ष बनेका राई आफ्नो छविकै कारण २०७९ को निर्वाचनमा पनि पुनः निर्वाचित भएका थिए।

स्थानीय बासिन्दा र पार्टी पङ्क्तिको विशेष आग्रहमा आफू संघीय संसदको उम्मेदवार बनेको राईले बताएका छन्।

जिल्लामा लोकप्रिय नेताको छवि बनाएका राईले आसन्न निर्वाचनमा आफ्नो जित निश्चित रहेको दाबी गरेका छन्। सोलुखुम्बुमा नेकपा एमालेले यसअघि नै कल्पना राईलाई उम्मेदवार घोषणा गरिसकेको छ भने नेपाली कांग्रेसले हालसम्म उम्मेदवारको टुङ्गो लगाएको छैन।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला सोलुखुम्बुमा मुख्यतया कांग्रेस, एमाले र नेकपाबीच नै त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा यहाँबाट नेकपा एमालेका मानवीर राई विजयी भएका थिए।

प्रकाशित: ५ माघ २०८२ १५:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App