किशोरवयको खुड्किला टेक्दै गरेकी मलाई वैशाखको पहिलो साता मुस्तफाले सोधेको थियो।
‘उन्तालिस्।'
‘अरे बाप रे! कत्ति बेसी! अम्ता बचनको कति'टा छ, काली?'
‘ग्यारह। हेर् मुस्तफा, मलाई ‘काली' नभन् है! बचपनको कुरा छाड्दे, अब ठूली भैसकेँ, बुझिस्?'‘ओहो! काली छेस् त काली नभनेर के भन्नु? भैगो नरिसा, अबदेखि मैंयासाप भन्छु। खि खि खि...' मुस्तफा मलाई उल्याउँदै हाँस्यो।
जन्मँदाको मेरो गहुँगोरो छाला तराईको घामपानीमा दिनरात उफ्रीपाफ्री गर्दै खेलिहिँडेकाले घुर्मैलोघुर्मैलो कालोमा फेरिएको थियो। तर पनि ‘काली' भन्दा मेरो पारो चढ्थ्यो, किनकि म आफूलाई पोस्टकार्डका हिन्दी फिल्मका हिरोइनकै हाराहारीमा पाउँथेँ।
मेरो बालसखा मुस्तफा आलमसँगका यी संवाद धेरैपहिलेका हुन्, एकादेशमा... भनेर कुरा थाले पनि खासै फरक नपर्ने! त्यो जमानामा साथीसाथीबीच शुभकामनाका पोस्टकार्ड आदानप्रदान गर्ने प्रचलन उत्कर्षमा थियो। कसको बेसी पोस्टकार्ड भनेर उछिनपाछिन् गर्थ्यौं। चल्तीमा रहेका हिन्दी फिल्मका हिरोहिरोइनका कार्डमध्ये मन परेको किनेर साथीभाइलाई बाँड्थ्यौं। शुभकामना लेनदेन दोहोरो चल्थ्यो, अझ भनौं हाताहाती। दिनेलाई दिनैपर्ने पोस्टकार्ड–संस्कृतिको अघोषित नियम थियो। हात परेको केही दिन त कार्डका सन्देश र सायरी पढ्नमै व्यस्त। पढ्दापढ्दा अघाएपछि ठूलो पानी कागजमा भएभरका पोस्टकार्ड गुँदले टाँसेर कोठाको भित्तामा बडो शानले झुन्ड्याइन्थ्यो। त्यो पोस्टकार्डवाला तस्बिर हाम्रा लागि ‘मोनालिसा' अथवा ‘द फ्लावर'भन्दा कमका हुँदैनथे।
‘मार्दिन्छु,' मुस्तफालाई मुड्क्याउन रिसले हात उज्याएँ।
जर्याकजुरुक उठेर भाग्दै उसले भन्यो, ‘काली! इनरुवाबाट फर्केपछि तँ अर्कै भएकी छस्। टाइपिस्नी कहीँकी!'
मुस्तफाका अब्बाजान ऐजुप मास्टरले बजारमा ठड्याएको ‘ऐजुप टेलर्स' नाउँको गुमटीमा सिलाइकटाइको काम हुन्थ्यो। दस कक्षाको टेस्टमा गुल्टिएपछि ‘ऐजुप ब्रास बेन्ड'मा तनमनले समर्पित भयो मुस्तफा। सुरुसुरुमा ब्यान्ड टोलीमा काँधमा मइन्टोल बोकिहिँड्ने ऊ, केही महिनामै ‘आयमे डिस्को डान्सर'को धुन बजाउन पोख्त भो। गाउँको बिहेबटुलमा मुस्तफाको गानाबजाना, अनि अमित भुजेलको डिस्को डान्स गाउँलेबीच धेरैपछिसम्म चर्चाको विषय बन्थ्यो।
मुस्तफाको टोल बजारको सिरानमा थियो। एक बिघा बलौटे जग्गामा उनीहरू मौसमी फलफूल र तरकारी उब्जाउँथे र हटियामा बेच्थे। बारीको मध्यमा इनार थियो, जसलाई बाँसको भाटाले बुनेको टाटीले भित्रबाट निकै तलसम्म घेरिएको थियो। हामी मुस्तफाका साथी पनि गर्मीका दिन उसको बारीमा पानी पटाउन जान्थ्यौं।
त्यो दिन पनि उसको बारीमा मुस्तफाकी बहिनी बरकत, लक्ष्मी, अम्मरे र मैले पानी पटायौं। अनि ठूलो, मज्जाले पाकेको तरबुज फुटाएर पेटभरि खायौं।
कँकडी चबाउँदै मुस्तफाले मलाई लक्ष्य गर्दै फेरि भन्यो, ‘इनरुवाबाट फर्केपछि यो काली अर्कै भएकी छे, है अम्मरे? सहरिया सहरियाजस्ती! खि खि खि...।'
‘हा हा हा... हो कि क्या हो,' सबै हाँसे।
तर मलाई मुस्तफाको वचन च्वास्स बिझ्यो। अनायास कल्पनाका आँखामा एउटा हँसिलो चेहरा उदायो– शैल थापाको। इनरुवाबाट घर फर्केपछि सदाजस्तो साथीभाइसँग रनवन चहार्नुभन्दा सुदूर टाढा इनरुवाको ठिटो शैललाई एकान्तमा सम्झनु मलाई रमाइलो लाग्न थालेको थियो र ममा आएको यही फरकलाई मुस्तफाले महसुस गरेको थियो सायद।
...
एसएलसी दिएर म इनरुवा हान्निएकी थिएँ, छ महिने टाइपिङ कोर्स गर्न। इनरुवाको मगरटोल मेरो मावल। त्यहाँका भुतपूर्व प्रधानपञ्च कर्णबहादुर थापाकी एक्ली चेली मेरी माइली काकी। काकाकाकीको घर चकरघट्टी राजाबासमा। मामाका पाँच सन्तान थिए– जेठा हिमाल दाइ स्थानीय स्कुलमा पढाउनुहुन्थ्यो, माइला आलोक दाइ पनि जागिरे, अनि कलेज पढ्दै गरेकी गंगा दिदी, त्यसपछिको मेरै समवयी मनोजले स्कुल सकेको थियो र कान्छी दस वर्षजत्तिकी परी थिई।
इनरुवा बसाइको सुरुसुरुमा लौरोले ठुङेको चिप्लेकीराझैं आफ्नै खपटाको खोलभित्र डल्लो परेर बस्थेँ। बसको मुखसम्म देख्न पाएको कस्बाई म, मगरटोलको आधुनिकतासँग रत्तिएकी थिइनँ।
बाहिरियासँग हतपती बोली नहाल्ने मेरो अन्तर्मुखी प्रकृति, त्यसमाथि सप्तरीमा रहेकी आमाको अदृश्य चोरऔंलो जतिखेर पनि मेरो नाकैअगाडि ठडिन्थ्यो, ‘त्यहाँ, सुबानी भएर बस्नू, खितिती दाँत देखाएर नहाँस्नू, कपाल नछोड्नू, ठूलाबडाका अघिल्तिर ठिंग नउभिनू, उत्ताउलिएर उफ्री नहिँड्नू, घरायसी कामकाजमा सघाउनू, हात टेकेर भात नखानू, खाँदा हात झट्कार्ने–जिउ मर्काउने–हाई गर्ने नगर्नू...।' आमाका यी कठोर आदेशले मलाई आफ्नै चौघेरामा खुम्चिन बाध्य पार्थे।
मनै त हो! उर्वर माटो र सुहाउँदो जलवायु भेट्यो कि त मनका तरुलता झ्यांगिन कत्ति बेर! मामाघरको पारिवारिक परिवेश र सिंगो मगरटोलको स्नेहले बिस्तारै वशमा पार्न थालेपछि म सहजै खुल्न थालेँ। गम्भीर स्वभावका खपटा फुटाएर सुस्तरी मावलको हँसिलो दैनन्दिनको हिस्सा बनेँ।
मगरटोलको एउटा साझा दैनिकी थियो। बिहानको चियानास्ता खान खाजा दोकानमै जाने। बिहान मुखसुख धोएर टोलका बाल, वृद्ध, बनिता हुल बाँधेर अलि टाढाको खाजा दोकानमा पुग्थे। चियानास्ता खाँदै केही बेर समसामयिक विषयमा सहभागी वक्ताको कर्तव्य पूरा गरेपछि बल्ल आ–आफ्ना काममा लाग्थे।
मामाघरको ठूलो आँगनछेउ बडेमानको पारिजातको रूख थियो। त्यसकै मुन्तिर सियाँलमा टोलका युवा मिलेर टेबलटेनिस खेल्ने टेबल ठड्याएका थिए। बिहानबेलुका त्यहाँ खेलाडीहरूको सानोतिनो भीडै जम्मा हुन्थ्यो। मगरटोलका केटाहरूले पूर्वाञ्चलमा फुटबल, भलिबल र तेक्वान्दोमा नाउँ चम्काएका थिए।
मामाघरका अतिरिक्त सदस्यमा म लगायत माइजूका भदा महिपाल दाइ र भूपाल दाइ पनि थिए। उनीहरू कलेज पढ्थे, मामाका खेतमा हलो पनि जोत्थे र फुटबल–तेक्वान्दोको नियमित अभ्यास गर्थे। खेतको बीचबीचमा ठूल्ठुला इमलीका केही रूख थिए, भूपाल दाइ इमली टिपेर खसाइदिन्थे। गंगा दिदी र उनकी मिल्ने साथी मीना दिदी, परी र म मिलेर नुनखोर्सानीको धुलोमा इमली मोलेर पेट पोलुन्जेल खान्थ्यौं। कहिले टन्टलापुर घाममा खोलाछेउका उखुबारी पसेर चोरेको उखु चुसिरहन्थ्यौं। फिल्म हेर्नमा पनि उस्ताद थिए दिदीहरू, मलाई साथै लान्थे। छ महिना बसुन्जेल इनरुवा सिनेमा हलमा लागेका कुनै फिल्म हेर्न बाँकी राखिएन।
खान बस्दा भान्छामा अटाइनअटाई हुन्थ्यौं भतखौरेहरू। पीरामा बसेर भातको थाल पर्खीबस्दा एक चरण अन्ताक्षरी खेल्न भ्याउँथ्यौं। खाने मुख धेरै थिए, कमाउने हात थोरै। मामाको परिवार, हिमाल दाइको पत्नी र दुई ससाना छोरासहितको परिवार, अनि लामै समयसम्म ती परिवारलाई साथ दिन लागिपरेका पाहुना भेला हुँदा सानो काँटको पारिवारिक भोजकै वातावरण बन्थ्यो भान्छामा हरेक साँझबिहान। धन्य! खेतीको धानले भात खान पुग्थ्यो, अनि कोठेबारीमा जाँगरिली माइजूले उब्जाउनुभएको सागसब्जीले तरकारीको गर्जो टर्थ्यो। माइजूले पकाउनुभएको आलु र बन्दाकोबीको झोलसँग सगोलमा खाएको भात खूब मिठो लाग्थ्यो। बन्दाकोबीको तरकारी आजपर्यन्त मेरा लागि मामाघरको आत्मीयताको स्वाद बनेको छ।
तिनताका सप्तरीमा सँगै स्कुल पढेकी साथीले इनरुवा बजारमा स्वेटर बुनाई तालिम केन्द्र खोलेकी थिइन्। उनका दिदीभिनाजूको घर इनरुवामै थियो। टाइपिङ कक्षापछिका धेरैजसो समय साथीको तालिम केन्द्रमा बिताउँथेँ। दुइटी धराने युवतीले केटीहरूलाई मेसिनमा स्वेटर बुन्न सिकाउँथे। तीमध्येकी एउटीको शारीरिक सौन्दर्य देख्न लायकको थियो। यसै पनि देहातमा हुर्केकी मलाई, धरानका केटी कता हो कता सुन्दर र आधुनिक लाग्थे। सर्लक्क परेको जिउडाल र मिलेको नाक नक्सासहितकी उनलाई आफू राम्री देखिन्छु भन्ने गर्वबोध थियो। आफूलाई चिटिक्क पार्ने कला पनि जान्दथिइन्। पेन्सिल हिलसँग ताल मिलाउँदै कम्मर र नितम्बलाई मादक गतिमा झट्कार्दै सडकमा हिँड्थिन्। सारीको सप्को हलुकासँग हातमा अल्झाएर लचकलचक उनी लस्कँदा हामी केटीहरू नै उनको अदामा भुतुक्क हुन्थ्यौं र आँखाले भ्याएसम्म उनको चालढाल लोभिएर हेरिबस्थ्यौं।
...
बिहानबेलुका टोलका केटाकेटी आएर टेबलटेनिस खेल्थे, कोही खेल्ने पालो कुर्दै देशविदेशका गफ झिक्थे। प्रायः टोलवासी थोरबहुत पढेलेखेका– राजनीतिक, सामाजिक र सांस्कृतिक सचेतनाका हिसाबले समयसापेक्ष थिए। आर्थिक अवस्थाचाहिँ धेरैको पुगेस्पुगेस् नै थियो, जागिर र व्यक्तिगत इलम नै मुख्य आयस्रोत थियो। मुखमा पित्तलको धरि चम्चा नबोकी जन्मेकाले काम नगरी माम पाइने भाग्यमानीमा पर्दैनथे कोही पनि। तर उनीहरूको सन्तोष त्यो भाग्यभन्दा धेरै ठूलो थियो।
बच्चादेखि वृद्धसम्मले मगर भाषा बोल्थे। टोलेहरूको एकता यस्तो कि, मर्दापर्दा कोही कसैले निजात्मक सुखदुःखबोध गर्नुबाहेक आफूलाई एक्लो, असहाय र बेसहारा ठान्नै पाउँदैनथ्यो। जे जति छ, त्यसैमा सन्तोक मानेर प्रकृतिको नैसर्गिकतालाई बचाउँदै लोपोन्मुख आदिम सभ्यता र संस्कृतिबाट एक इन्च पनि नछुट्टिई विकासका अवधारणासँग सहअस्तित्व कायम गर्ने उनीहरूको प्रयास देख्दा दंग पर्थें।
तिनै उत्साही जमघटमा बारम्बार शैललाई देख्थेँ। उसलाई पहिलोपटक देख्दै मेरो हृदयमा भायोलिनका तार झंकृत नभएको चाहिँ होइन। रहँदाबस्दा, उसका बानीव्यहोरा र रुचिबारे जान्दै गएँ। कलेजपछिको समय हिमाल दाइ र आलोक दाइसँग बसेर ऊ देशदुनियाँबारे चर्चा गर्थ्यो। आफ्ना भनाइ राख्दा सधैं विनम्र हुन्थ्यो, नजानेका कुराप्रति सिधै अनभिज्ञता दर्शाउँथ्यो। सुनेका भरमा सतही कुरा गरेर ऊ कहिल्यै बाठो देखिन चाहन्नथ्यो। सोझो, सरल र स्पष्टवक्ता थियो। आफ्नो विचार बुझाउने अद्भूत क्षमता थियो ऊसँग। म उसको दक्षतादेखि कायल बन्दै गइरहेकी थिएँ। दाइहरूको छेउमा बसेर उसलाई एक चित्तले सुन्नु मेरो प्रिय कर्म बनेको थियो।
दिन बित्दै जाँदा उसका अन्य विशेषता मेरो मनपराइको दोस्रो आयाम बनेर देखा पर्न थाले। उसलाई देख्दा लाग्थ्यो– के केटाहरू पनि यति राम्रा हुन्छन्? उसको सग्लो व्यक्तित्वमा मोहक हिस्सी टाँसिएको थियो। बाँयापट्टिको माथ्लो दन्तलहरमा अन्तिम कुकुरदाँत अलिकति बाहिर उछिट्टिएको थियो उसको, हाँस्दा बेपत्तै सुहाउने! दन्तेमुहुनी लाग्लाजस्तो हँसाइ! उसको बोलीव्यवहार, रूपरङ र बौद्धिकता समग्रले मेरो सादा कागजजस्तो मनमा गाढा छाप पार्दै थियो।
कहिलेकाहीँ ऊ मलाई जिस्काउँथ्यो, ‘के छ त खबर सप्तरीवाली?'
‘ठिकै।'
ऊसँग लामो सवालजवाफ गर्न सक्दिनथेँ। संकोचले मेरो मुखको जिपर ट्याप्पै बन्द गरिदिन्थ्यो। ऊसँग धेरै बोलेँ भने मनको रहस्य खुल्ला भनेर त्राहिमाम् हुन्थेँ।
जीवनका वर्षभन्दा दोब्बर, तेब्बर उपन्यास र किताब पढिसकेकी थिएँ। उपन्यासकी नायिकाको ठाउँमा आफूलाई कल्पेर प्रेम, मिलन र विछोडका बेदनाको रोमान्च सांगोपांग अनुभव गरेकी थिएँ। तर यथार्थमा उपन्यासका काल्पनिक चरित्र र घटना सक्कलबमोजिम नक्कल बन्न नसक्दा रैछन्।
म शैललाई मन पराउँछु भन्ने पक्कापक्की हुनासाथ उत्निखेरै अर्को नमिठो सत्यलाई पनि आत्मसात् गरेँ– शैलले कहिल्यै थाहा पाउने छैन म कसरी मरेर उसलाई मन पराइरहेकी छु। ममा आफ्ना भावना व्यक्त गर्ने आँट फिटिक्कै थिएन, उसमाथि कडा अनुशासन र बन्देजयुक्त मेरो लालनपालनले एकदमै काँतर र कमजोर बनाएको थियो मलाई।
बस्। म उसलाई मनमनै मन पराउँदै बसिरहेँ।
जसै ऊ सुसेल्दै मामाघर आउँथ्यो, त्यो पल यति प्यारो लाग्थ्यो कि समयको पांग्रा जहीँको त्यहीँ टक्क अडिदिए हुन्थ्यो जस्तो लाग्थ्यो। हरदम, हरघडी उसलाई देख्ने मिठो औडाहाले सताउँथ्यो। तर जब ऊ सामुन्ने हुन्थ्यो, मेरो जिउभरि भयको तातो तरल सलबलाउँथ्यो। त्यसैत्यसै डर लाग्थ्यो उसलाई नजिक पाउँदा, एकान्तमा उसको उपस्थितिले असहज बनाउँथ्यो। अनि म बहाना बनाएर भाग्थेँ ऊदेखि। मेरो मनोदशासँग अञ्जान ऊ आलोक दाइको कोठामा कुनै म्यागजिन पल्टाउँदै दाइलाई कुरिबस्थ्यो।
इनरुवा बसाइले चार महिना पूरा गरेको थियो। मेरो टाइपिङ इन्स्टिच्युट र साथीको स्वेटर तालिम केन्द्रका सदस्य मिलेर एक शनिबार बिहान माइखोलामा पिकनिक खान गयौं। साँझ फर्कियौं।
भोलिपल्ट एघार बजेतिर आँगनछेउको कलमा बसेर म जुठा भाँडाकुँडा माझिरहेकी थिएँ। अचानक ममाथि कसैको छायाँ पर्यो, लगत्तै शैलको बोली सुनियो, ‘सप्तरीवाली! हिजो एक्लैएक्लै पिकनिक गएको? एक वचन हाम्लाई सोध्या भए हामी पनि जान्थेम् नि! कति निठूरी बाबै!'
किशोरवय कठै! उसको छायाँ आफूमा पर्दा पनि लल्याकलुलुक भएँ। माझ्दै गरेका भाँडा त्यतिकै छाडेर सुत्ने कोठामा पसेँ र दैलोको छेस्किनी लाएँ। अत्यासले लामोलामो सास फेर्दै सोचेँ– किन शैलले त्यसो भन्यो? म जहाँसुकै जाऊँ उसलाई के चासो? मसँग पिकनिक जान किन उसलाई त्यतिसारो मन? के ऊ पनि मलाई मन पराउँछ? हे दैव!
उसको भनाइलाई आफूखुसी अर्थ्याएर फुरुंग परेँ। जीवनमा कहिल्यै महसुस नगरेको प्रीतिकर सुखमा डुबेँ। आह! पहिलो प्रेमको त्यो रोमान्चले मलाई अकल्पनीय आनन्द दियो। आमाको खबरदारी भुलेँ र हर्षले उचालिएर कोठामा दुई हातमाथि उफ्रिएँ– याहु˜˜!
...
स्वेटर तालिम केन्द्रकी साथी र दुई धराने प्रशिक्षक केटी कहिलेकाहीँ मलाई भेट्न मगरटोल आउँथे। आउनेजाने क्रममा उनीहरूको शैलसँग पनि परिचय र बोलचाल सुरु भयो। सौन्दर्यले नछोएको कसलाई छ र! शैल ती राम्री धराने युवतीबारे मसँग बढी नै सोधखोज गर्थ्यो। लाग्थ्यो शैल उनलाई मन पराउँथ्यो। र, शैलले पनि मलाई मन पराउँछ भन्ने मेरो अड्कल नमज्जासँग धुलिसात् भएको थियो। सुन्दरताको कसीमा फेल भएँ भन्ने दुःखले मनमा चट्याङ पारिरह्यो। तर मैले व्यथित मनलाई सम्झाएँ– हामी परिवर्तनशील छौं र परिवर्तन–परिवर्तनशीलतामाथि प्रश्न गर्न हुन्न।
छ महिनाको समाप्तिमा शैलप्रतिको एकतर्फी लगाव छातीमा लुकाएर म चुपचाप घर फर्कें।
मलाई पछ्याउँदै नयाँ वर्षको शुभकामना लिएर शैलको पोस्टकार्ड पनि आयो। मुस्तफाले मलाई शैलका अक्षर टोलाएर हेरिरहँदा भेटेको थियो।
मुस्तफाले घरिघरि इनरुवाको नाम लिएर जिस्काईरहँदा शैलप्रतिको मेरो सुषुप्त सम्मोहन जागेको थियो। इनरुवा बसुन्जेल थुम्थुम्याएर सुताएको मन शैलको शुभकामना कार्ड पाएर उत्ताउलिएको थियो र हर समय उक्साइरहन्थ्यो– शैललाई प्रत्युत्तर पठा। केही गर्, केही भन् उसलाई। यही हो मौका, उसले तँलाई सम्झँदो त रैछ नि!
‘मिल्स एन बून' ज्यास्ती पढिन्थ्यो त्यो उमेरमा। तिनमा समाविष्ट प्रेमपत्रका अन्तमा लेखिएका ‘योर्स'ले मलाई मोहित तुल्याउँथे।
मनको कुराले हौसिएर शैललाई शुभकामनाको पोस्टकार्डसहित छोटो पत्र पठाएँ। पत्रमा मनपराइबारे कुनै छनक नदिईकन, अन्तमा ‘योर्स...'चाहिँ हाल्दिएकी थिएँ।
...
उःबेला थोरै साहस गरेकी भए अहिले म शैलको घरको भित्ता टालिरहेकी हुन्थेँ। छोराछोरीका बिहे–व्रतबन्ध र उनीहरूको कर्म चलाइदिनुपर्ने चिन्ताले पिरोलिइरहेकी हुन्थेँ होला। तर नियतिलाई त्यो मञ्जुर थिएन सायद।
शैलको जवाफ दुईचार दिनमै मेरो हात परेको थियो, ‘सप्तरीवाली! कति कोसिस गर्दा पनि तिमी यहाँ रहुन्जेल भन्न सकिनँ, वास्तवमा मलाई तिमी असाध्यै मनपर्थ्यौ। तिमीले ‘योर्स' लेखेपछि म भुइँमा न भाँडामा भएको छु। त्यो धरानकी देविका दिदीले मलाई आउँदो तिहारमा धरान बोलाउनुभाको छ। उनको पनि भाइ रैनछ, मेरी पनि दिदी छैनन्। अचेल त हामी पक्का दिदीभाइ भएका छौं। चाँडो जवाफ पठाऊ काली! योर्स...।'
शैलको चिठी पढेर मेरा आँसु बर्बर्ती खसे। अचानक नसोचेको गाड्धन हात परेको थियो। तर तत्कालै आमा सम्भि्कएँ। समाज, जातपात र आफ्नो आलोकाँचो उमेर सम्झेँ। नपाउँदा कस्तोकस्तो पाएपछि सस्तो भो शैलको प्रेम मेरा लागि।
मैले मन बाँधेर उसलाई चिठी लेखेँ– ‘शैल, माफ गर। गल्तीले तिमीलाई पठाएको पत्रमा ‘योर्स' पर्न गएछ। खासमा मैले कहिल्यै पनि तिमीलाई त्यो नजरले हेरिनँ। तिमी सधैंलाई मेरो असल साथी रहिरहनेछौ।'
प्रकाशित: १६ जेष्ठ २०७१ २२:२६ शुक्रबार





