६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

'एउटै गल्तीले करिअर डुब्न सक्छ'

नेपाली टेलिभिजनका नियमित दर्शकले पार्वती राईको अनुहार एकैदिन धेरैपल्ट दोहोर्‍याएर हेर्नुपर्छ। किनभने, लोकगीतसम्बन्धी कार्यक्रममा उनले अभिनय गरेका भिडियोहरू हतपत छुट्दैनन्। चार वर्षयता लोकदोहोरी गीतमा नृत्य गरिरहेकी उनले हालसम्म तीन सय गीतमा नृत्य प्रस्तुत गरिसकेकी छिन्। लोकदोहोरीका अधिकांश हिट गीतमा नाचेकी उनले अघिल्लो तीजमा मात्रै २८ वटा तीजे गीतमा नृत्य गरिन्। नेपाल टेलिभिजनबाट प्रसारण हुने 'छमछमी'मा टप फाइभमा पुगेपछि चर्चामा आएकी उनको नृत्य करिअर निरन्तर उकालो चढिरहेको छ। नृत्यांगना पार्वतीसँग धनबहादुर खड्काको अन्तरंग कुराकानीः

सधैँ उही वान, टू, थ्री, फोर... दिक्क लाग्दैन?
बानी परिसक्यो। बरु नाच्न पाइएन भने चाहिँ छटपटी हुन्छ।
 
यस्तो दैनिकीमा अभ्यस्त हुनुभएको पनि निकै भइसक्यो क्यारे। दोहोरी गीतको फास्ट ट्र्याकमा तपाईंको विकल्प छैन कि क्या हो?
चार वर्षदेखि म दोहोरीको म्युजिक भिडियोमा नाचिरहेकी छु। कम्पिटिसन त असाध्यै छ। तर, अहिलेसम्म धेरैले मलाई विश्वास गरिरहेका छन्। सायद मैले पनि उनीहरूको विश्वास टुट्न दिएको छैन।
 
तपाईंको क्षेत्र असाध्यै मौसमी हुन्छ। तर, तपाईंलाई सदा समान रहनका लागि आफ्नो कुन क्षमताले सहयोग गरेको छ जस्तो लाग्छ?
 
मेरो डान्स दर्शकलाई मन परिरहेको छ। तर, यसले मात्रै हाम्रो क्षेत्रमा टिकिरहन दिँदैन। न्यूनतम बजेटमा काम हुने भएकाले कलाकारले कम टेक खाएर चाँडै काम सक्दिनुपर्छ। ममा चाँडै स्टेप टिप्ने र वान टेकमै सट ओके गर्ने क्षमता छ। त्यसैले एकचोटि काम गरेका निर्देशकले मलाई पत्याएका छन्।
 
एक महिनामा कति वटासम्म म्युजिक भिडियोमा नाच्नुभएको छ?
अघिल्लो तीजको सिजनमा २८ वटा म्युजिक भिडियोमा नाचेकी थिएँ। अरू बेला चाहिँ महिनामा सात/आठ वटा जस्तो हुन्छ।
 
आजको दिनको आशा कहिलेदेखि गर्नुभएको थियो?
कहिल्यै थिएन। मलाई यो क्षेत्र निकै परको हो जस्तो लाग्थ्यो। सानोमा हामीलाई डान्स सिकाउने सर फिल्मको कोरसमा देखिँदा हामी धाक दिन्थ्यौँ। गाउँभरि भन्थ्यौँ, 'हाम्रो सर त टीभीमा देखिने मान्छे पो हो त।'
 
नृत्य क्षेत्रलाई करिअर बनाउने सपना थिएन?
करिअरभन्दा बढी नृत्य मेरा लागि रहर थियो। विशेषगरी बुवाले मलाई नृत्यका लागि प्रेरणा दिनुभयो। फिल्मका गीत बजाएर राम्रो नाच्दा पुरस्कारमा पैसा दिनुहुन्थ्यो। त्यसैले मेरो बालमस्तिष्कमा नाच्न जान्नु राम्रो हो भन्ने परेको थियो। टीभी हेरेर राम्रो नाच्ने प्रयास सधैँ गरिरहेँ। टीभीमा देखिने सपना देख्न सक्ने हैसियत त थिएन, कहाँ करिअरको सपना देख्नु?
 
कसरी पुगियो यहाँसम्म?
एकैचोटि 'लटरी' परेको होइन। धेरै संघर्ष गरेकी छु। छोटकरीमा भन्नुपर्दा क्यासिनोमा डान्स गर्ने क्रममा श्रीहरि दाइले कृष्ण फिल्म्सका उज्ज्वल सर चिनाइदिनुभयो। संयोगले शंकर बीसी सर पनि त्यहीँ भेटिनुभयो। उहाँले एउटा भिडियोमा मौका दिनुभयो। काम मन पराएरै होला, त्यसपछि अरू भिडियोमा पनि मौका पाएँ।
 
तपाईं त 'छमछमी'बाट 'नोटिस्ड' हुनुभएको होइन?
हो। छमछमी नृत्य प्रतियोगिता मेरो जीवनको एउटा महत्त्वपूर्ण खुड्किलो थियो। तर, डान्स कम्पिटिसनमा सानै उमेरदेखि सहभागी हुने लत लागेको थियो। स्कुलस्तरीय प्रतियोगिता जितेपछि कान्तिपुर टीभीबाट प्रसारण हुने 'भोलिको नेपाल'मा सहभागी भएकी थिएँ। त्यहाँ पनि प्रथम भएँ। बुवाले नेपाल टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो 'छमछमी'का लागि फर्म खुलेको थाहा पाउनुभएछ। मलाई 'सिंहदरबारमा फर्म पाइन्छ, भरेर आऊ' भन्नुभयो। अन्तिम समयमा थाहा पाएकी थिएँ, त्यही दिन नेपाल बन्द परेछ। कपनबाट हिँड्दै सिंहदरबार आएकी थिएँ। तर, भित्र पस्न नपाएर त्यत्तिकै फर्कें। भोलिपल्ट अन्तिम प्रतियोगीका रूपमा मैले फर्म भरेकी थिएँ। त्यही दुःखले पनि 'छमछमी'मा मैले राम्रो गर्ने कोसिस गरेँ। त्यो प्रतियोगिता मेरा लागि ठूलो नृत्य स्कुल साबित भइदियो। त्यतिबेला सिकेका सीप अहिले पनि प्रयोग गरिरहेकी छु।
 
त्यो कार्यक्रममा त धेरै डान्स डाइरेक्टर पनि अतिथि वा जजका रूपमा सहभागी थिए। तपाईंको डान्स हेर्नेले चान्स दिएनन्?
धेरैले मनमनै सोचेका रहेछन् क्यारे! शंकर सरले भेट्नेबित्तिकै 'एक चान्स दिन्छु, सोचेको थिएँ, भेट भयो राम्रै भयो' भन्नुभएको थियो। 'छमछमी'मा एलिमिनेट भएपछि म जीवन निर्वाहको बाटो पहिल्याउँदै क्यासिनोमा नाच्न थालेँ। त्यहीँ भेटिएका श्रीहरि दाइले मलाई 'तिमीजस्तो मान्छे यहाँ सडेर बस्ने होइन' भन्दै कृष्ण फिल्म्सका उज्ज्वल सरलाई भेटाउनुभएको थियो।
 
पहिलोपल्ट भिडियोमा काम गर्दा कस्तो अनुभूति भयो?
शंकर सरले मलाई भिडियोमा खेल्न बोलाउँदा आत्तिएर ठूलो स्वरले भनेकी थिएँ, 'हो र सर!' निकै डर लागेको थियो। तर, एकदमै सही मान्छेको संगतमा पुगेछु। हाँस्दै, ठट्टा गर्दै सिकाउनुभएकाले काम गर्न सजिलो भयो। पहिलो भिडियोमै कन्फिडेन्स बढेकाले त्यसपछि अझ राम्रो गर्न सकेँ।
 
आजसम्म आइपुग्दा यो क्षेत्र कस्तो लाग्दै छ?
मौसमको खेती हो। जसले उपयुक्त मौसमअनुसार आफूलाई प्रस्तुत गर्न सक्छ, त्यसैले फसल प्राप्त गर्न सक्छ। अर्काे कुरा खुकुरीको धार पनि हो, एउटा मात्रै मिस्टेकले करिअर नै डुब्न सक्छ।
 
यो क्षेत्रमा हुने नानाथरी तिकडम, मान्छेका विविध नियत र अफरले कत्तिको विचलित बनाउँछन्?
राईकी छोरी भए पनि बाठी नै छु। मान्छेका व्यहोरा हेरेर नियत बुझ्छु। त्यसकारण धेरैले त्यस्ता व्यवहार र नियत प्रस्तुत गर्छन्, म हाँसेर वा ठट्टामा उडाइदिन्छु। उसले गरेको त्यो व्यवहार धेरै जना भएका ठाउँ जोक बनाएर प्रस्तुत गरेपछि उल्टै लाजले पानी–पानी बनाएर पठाएकी छु।
 
करिअरमा त शंकरको साथले सफलता हात लागेछ। पार्वतीको जीवनका लागि 'शंकर' भेटियो कि नाइँ?
अहिलेसम्म छैन। मेरो कामका कारण नजिकिने धेरै छन्, त्यस्ता मलाई मन पर्दैनन्। मैले गरिरहेको काम त अनुहारमा चमक हुन्जेलसम्म हो। यसकारण नृत्यांगना होइन, सरल पार्वती राई मन पराउने मात्रै यो कलियुगकी पार्वतीको 'शंकर' बन्न सक्छ।
 
'शंकर' बन्ने चाहना राख्नेहरू त प्रशस्तै छन्?
छन् नि । मलाई फकाउन उनीहरूले मोबाइल र फेसबुकमा गरेका म्यासेज हेरेर एक्लै खुब हाँस्छु। तीमध्ये धेरै फ्यानका रूपमा नजिकिएकाहरू हुन्छन्। मलाई कहिलेकाहीँ उदेक लाग्छ, फ्यानले महिला सेलिब्रिटीलाई किन सधैँ सम्मानका दृष्टिले हेर्न सक्दैनन्? अलिकति मीठो के बोलिदियो, प्रेम प्रस्तावै गरिहाल्नुपर्ने मनोबल कसरी सिर्जना हुन्छ?
 
मोडलिङपछि धेरैको गन्तव्य फिल्म अभिनय हुन्छ। तपाईं फिल्म नखेल्ने?
मंगोलियन अनुहारलाई नेपाली फिल्मकर्मीले त्यति महत्त्व दिँदैनथे। त्यसैले त्यतातिर सोचिएन। अहिले केही फिल्मकर्मीले अनुहारभन्दा पनि चरित्रलाई ध्यान दिन थालेका छन् र मंगोलियन अनुहार हिरो/हिरोइनका रूपमा पर्दामा देखिन थालेका छन्। तत्काल फिल्ममा काम गर्ने सोच छैन। राम्रो फिल्मको अफर आएपछि सोच्नुपर्ला। कल्चरल फिल्ममा काम गर्ने रुचि भने पुरानै हो।
 
फेरि तीजको सिजन सुरु भयो। तपाईंलाई अग्रिम बुकिङ गरिसके कि?
गीत रेकर्ड हुन थालेका छन्। भिडियो बन्न थालेपछि अफर आउला।

प्रकाशित: १५ जेष्ठ २०७१ ०९:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App