पाँचथरमा जन्मेहुर्केका संग्रौलाले ‘बाल्यकालका पदचापहरु'मा शीर्षकजस्तै बाल्यकालका रोचक घटनाहरुलाई समेटेका छन्। यसका धेरैजसो संस्मरण ‘नवयुवा' मासिक पत्रिकामा प्रकाशित भइसकेका छन्। प्रकाशक फाइनप्रिन्टको आग्रहमा यो पुस्तक तयार पार्न आफू तयार भएको उनले बताए।
पाठकलाई कल्पना गर्नका लागि प्रशस्त ठाउँ उपलब्ध गराउनसक्नु संग्रौलाको लेखनको विशेषता भएको लेखक सिके लालले औंल्याए। उनले भने, ‘उहाँको लेखनमा सरलता, सजीवता छ। लयात्मकता र गीतिभाव भएकोले गर्दा पढ्दा आनन्द लाग्छ।'
किताबमा समावेश रमाइला घटनाहरुप्रति ‘ईर्ष्या' नै प्रकट गर्न कवि उपेन्द्र सुब्बा पछि परेनन्। ‘ठूलाबडाको जीवनमा मात्र सुन्दर घटनाहरु हुन्छन् कि के हो,' सुब्बाले व्यंग्य गरे, ‘कि ठूला मान्छेहरु घटनालाई सुन्दर बनाउन सिपालु हुन्छन्?' संग्रौलाझैं पाँचथरमै जन्मिएका सुब्बाले लिम्बुवानका नयाँ पुराना घटनाहरु सुनाएर कार्यक्रमलाई रमाइलो बनाए।
प्रकाशक फाइनप्रिन्टका अजित बरालले संग्रौलाको लेखन पहिलेदेखि नै सटिक रहेको प्रमाणका रुपमा यस किताबमा समावेश संस्मरणहरुलाई दिए। संग्रौलाको किताब छाप्न आफूहरु सधैं लालयित रहने बरालको भनाइ थियो।
तारिफ गर्नेहरुलाई धन्यवाद दिँदै लेखक संग्रौलाले तारिफको १० प्रतिशत मात्रै पनि सही भइदिए त्यो आफ्नो लागि अर्थपूर्ण हुने बताए। ३१६ पृष्ठको किताबको मूल्य ३९८ रुपैयाँ राखिएको छ।
प्रकाशित: १५ जेष्ठ २०७१ ००:१६ बिहीबार





