काठमाडौं– संस्कृतिविद् सत्यमोहन जोशीलाई सिद्धिचरण सम्मान प्रदान गरिएको छ। कवि सिद्धिचरण श्रेष्ठको सम्झनामा स्थापित सिद्धिचरण प्रतिष्ठानले उनलाई शुक्रबार ५० हजार रुपैयाँ र ताम्रपत्रसहित सम्मान दिइएको हो। दस हजार रुपैयाँ र ताम्रपत्रसहितको सिद्धिचरण युवा पत्रकारिता पुरस्कार भने फूलमान बललाई दिइयो। दुवै पुरस्कार प्रधानमन्त्री सुशील कोइरालाले हस्तान्तरण गरे।
मुलुककै पहिलो दैनिक पत्रिका ‘आवाज'को प्रधानसम्पादक समेत भएका सिद्धिचरणको योगदान पत्रकारितामा समेत भएकोले यस वर्षदेखि युवा पत्रकारिता पुरस्कार स्थापना गरिएको प्रतिष्ठानका संरक्षक तथा छोरा रविचरण श्रेष्ठले बताए।कवि नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘कविता' साहित्यिक पत्रिकाको सम्पादक समेत थिए। पुरस्कार हस्तान्तरण गर्दै प्रधानमन्त्री कोइरालाले सिद्धिचरणले नेपाली समाजको परिवर्तनका लागि महत्त्वपूर्ण योगदान पुर्याएको बताए। उनले युगकविको स्मृति ग्रन्थ र ‘पेन्टिङ अन पोइम' गरी दुइटा पुस्तक पनि सार्वजनिक गरे।
बबरमलस्थित नेपाल आर्ट काउन्सिलमा सम्पन्न कार्यक्रममा युगकविका विभिन्न रचनामाथि कोरिएका ५५ कलाकारका चित्र प्रदर्शनी समेत प्रधानमन्त्रीले उदघाटन गरे। प्रदर्शनीमा उत्तम खरेल, श्यामलाल श्रेष्ठ, जीवन राजोपाध्याय, एरिना ताम्राकार, शशि शाह, प्रमिला बज्राचार्य, आशा डंगोल, शशिकला तिवारी, किरण मानन्धर, केके कर्माचार्य, शान्तकुमार राई, चन्दा श्रेष्ठसहित दर्जनौं कलाकारले चित्र र मूर्तिमा सिद्धिचरणलाई उतारेका छन्।
कार्यक्रममा योगेश्वर अमात्य र रामकृष्ण दुवालले सिद्धिचरणका गीत गाएका थिए। प्रतिष्ठानका अध्यक्ष श्यामदास वैष्णव, मोहन लोहनी लगायतले सिद्धिचरणको चर्चा गरेका थिए।
प्रकाशित: १० जेष्ठ २०७१ २१:४९ शनिबार





