४ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्य

एकादेशका ढुंगेधारा

भक्तपुरका सूर्य खरबुजालाई २०३५ सालसम्म नगरमा रहेका ८८ वटै मल्लकालीन ढुंगेधाराबाट कलकल पानी बगेको याद छ। भक्तपुर पूर्वोत्तरका जलाधारक्षेत्र नगरकोट, बाँसवारी, खरीपाटीलगायत क्षेत्रका राजकुलोमार्फत आउने पानीले त्यतिबेला सिंगो सहरको प्यास मेट्दै खेतबारी सिञ्चित गर्ने गरेको उनी सुनाउँछन्।भक्तपुर नगरपालिकाअन्तर्गत सम्पदा शाखाका इन्जिनियर खरबुजा अहिले परिस्थिति फेरिएको सुनाउँछन्। ढुंगेधाराका जलाधार क्षेत्रमा खानेपानी संस्थानले रिजर्भवायर निर्माण गर्नुको साथै ती क्षेत्रमा मानवबस्ती विस्तार हुँदा ढंंुगेधारामा पानी आउन छाडेको उनको अनुभव छ। ‘खेतबारीसमेत सिञ्चित हुने धाराले अब नगरवासीको आँत भिजाउन सकेन,' ५१ वर्षीय खरबुजाले भने, ‘नयाँ स्रोेत नखोज्ने र भएका पुराना स्रोत मासिँदै जाँदा ढुंगेधारा एकादेशको कथा बन्न थालेको छ।'
भक्तपुर नगरपालिका धारा संरक्षणमा जुटे पनि प्रभावकारी बन्न नसकेको उनी सुनाउँछन् । ८८ धारामध्ये अधिकांशको पानी सुकिसकेका छन्। नगरपालिकाले खानेपानीको पाइप फिट गरेर केही धारालाई भने जीवित गर्ने प्रयास गरेको छ। ‘पाइपबाट पानी लगेर २२ वटा ढुंगेधाराबाट खसालेका छौं,' उनले भने, ‘अहिले यसको अस्तित्व यसैगरी बचेको छ।' अझै पनि एकाध धारा भने आफ्नै स्रोतबाट चलिरहेका छन्। ‘भवन र सडक निर्माणको क्रममा पानीको मुहान नकाटिएका केही धारा पनि छन्,' उनले भने।
ललितपुरको ढुंगेधाराको अवस्था पनि उस्तै छ। नगरमा रहेका ६१ ढुंगेधारामध्ये अधिकांश सुकेका छन्। वातावरणविद् केशव श्रेष्ठ चार वर्षअगाडिसम्म ४७ धारामा पानी आउने गरेकोमा अहिले त्यो संख्या एकदमै न्यून हुँदै गएको बताउँछन्। ‘पाटनको सबैभन्दा गहिरो क्षेत्रमा रहेको कुम्भेश्वरस्थित ढुंगेधारासमेत सुक्न थालेको छ,' उनले भने, ‘नगरका अन्य धारामा पानीको सतह कसरी घटिरहेका छन् भन्ने यसले नै जनाउँछ।' 
हरेक ढुंगेधारामा पानीको प्रतीकको रूपमा गोही, भ्यागुता, सर्प, कछुवा आदिको कलात्मक आकृति कुँदिएका छन्। पानी र संरक्षणको अभावमा तिनको अनुहार पनि फुंग उडेझैं लाग्छ। 
नगरमा रहेका अधिकांश धाराका स्रोत लेले तथा गोदावरी क्षेत्रका जलाधार क्षेत्र थिए। राजकुलो र नगरभित्र रहेका अनगिन्ती पोखरीले पनि पानीको अभाव महसुस गराउँदैन थियो। ‘एकातिर राजकुलो मासिए, अर्कोतिर पोखरी पुरिए,' उनले भने, ‘यसको असर पानीको सतह घट्यो अनि ढुंगेधारा सुके।'
जमिनमा पानी ‘रिचार्ज' गरेर ढुंगेधारा ब्युँताउन सकिने भए पनि सरकारले त्यसतर्फ चासो नदेखाएको उनको भनाइ छ। ‘मुख्य कुरा नगरमा रहेका पोखरी पुनर्जीवित गर्न नगरपालिका लाग्नुपर्ने हो,' उनले भने, ‘त्यही नगरपालिका आफैं प्राचीन पोखरी मासेर निर्माण भएको छ।' अन्य ठूल्ठुला पोखरी भएका क्षेत्रमा व्यक्तिगत तथा सरकारी घर बनिसके पनि कसैले चासो नदेखाएको उनको चिन्ता छ। ‘अब ढुंगेधारा ‘शो–पिस'को रूपमा मात्र रहने भए,' उनी भन्छन्, ‘नगरवासी ढुंगेधारा हेर्दै तिर्खाएर हिँड्नुपर्ने अवस्था छ।' 
ललितपुर लेले क्षेत्रको पुरानो राजकुलोबाट आएको पानी पहिले पाटनका धारामा कलकल बग्थे। नौ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको पुरानो पाटन सहरमा रहेका ढुंगेधारामध्ये अधिकांश सुख्खायाममा सुख्खा हुन्छन्। ‘सहरका सीमामा रहेका पोखरीमा पानी जम्मा भएर सबै धारामा बाँडिन्थ्यो,' उनले पुराना दिन सम्भि्कए, ‘अहिले ती सबैको संरचना बिग्रेको छ।'

तुरतुरेमा भीड
अधिकांश ढुंगेधारा सुके पनि कतिपयमा भने पानी तुरतुराउन छाडेको छैन। त्यही तुरतुरेमा घन्टौ लाइन लागेर प्यास मेट्ने थुप्रै छन्। नजिकका कुवा–इनार सुकेपछि एउटै विकल्प रहेको पाटन दरबार क्षेत्रको प्राचीन ‘मनिधारा'मा पानी थाप्नेको भीड देख्न सकिन्छ। 
‘दिउँसो काममा जानेहरू पानी थाप्नकै लागि मध्यरातसम्म नसुती बस्ने गरेका छन्,' पाटन संग्रहालयका अधिकृत सुरेश लाखे भन्छन्, ‘यिनै लिच्छविकालीन धाराले पाटनवासीको धेरथोर प्यास मेटाएको छ।' हिउँदमा सहरका अन्य धारा सुकेपछि यहीँ भीड बढ्छ। मनिधाराको पानीको सतह अन्य धाराको भन्दा गहिरो भएकाले यसको पानी अझै नसुकेको उनको अनुमान छ। 
राजाधानी काठमाडौं चर्चित सुुन्धाराको पानी सुकेको वर्षौं भइसकेको छ। बालाजुको चर्चित २२ धारामा मेला मनाउनका लागि जेनेटरमार्फत पानी खसाउनुपरेको छ। अन्य धारा त नाममात्रका बनेका छन्। धारामुनिका देवतासमेत तिर्खाउने अवस्थामा पुगेका छन्। सर्वसाधारणसँगै धारामा पानी खान आउने चराचुरुंगीसमेत तिर्खाएका छन्।
राजधानीका पुराना पोखरी नासिँदै जाँदा धारा पनि सुक्दै जान थाले। ‘खिचापोखरी सुक्दा सुन्धारामा पानी आउनै छोड्यो, माछापोखरी सुक्दा बालाजुका २२ धारामा पानी आएन,' काठमाडौं महानगरपालिकाअन्तर्गत सम्पदा शाखाका इन्जिनियर रोशनमान शाक्य भन्छन्, ‘परम्परागत पोखरीसँग धाराको सम्बन्ध टुटेकाले पानी सुकेको हो।' पोखरीमा मिनरल वाटरका रित्ता बोतल र अन्य फोहोर फाल्ने गरिएकाले पनि पोखरीका पानी सुक्न थालेका छन्। 

सुन्धारामा पानी छैन 
उपत्यकामा तीनवटा सुन्धारा छन्। काठमाडौंको धरहरानजिकको सुन्धारा, भक्तपुरको तलेजुमन्दिर परिसरको सुन्धारा र पाटनको सुन्धारा। पाटनमा बर्खामा मात्रै पानी आउँछ भने अन्य सुन्धारामा पानी सुकेको वर्षों भइसक्यो। 
‘उपत्यकाको शान मानिने प्राचीन सुन्धारामै सुख्खा लागेको छ,' पुरातत्त्व विभागकी अधिकृत सौभाग्य प्रधानांगले भनिन्। औद्योगिक क्षेत्रमा भएका डिपबोरिङले ललितपुरको सन्धारा सुकेको उनी बताउँछिन्। ‘सञ्चयकोषको भवन निर्माण र नजिकैको खिचापोखरीको स्रोत मासिएकाले काठमाडौंको सुन्धारा सुकेको हो,' उनले भनिन्, ‘भक्तपुरमा पनि राजकुलो र परम्परागत पोखरी सुकेपछि तलेजु भवानी मन्दिरछेउको धारामा पानी आउनै छोड्यो।'

तस्बिरमा मात्रै 
ढुंगेधाराको महत्त्व नै कलात्मक धाराको टुटीबाट कलकल पानी खस्नु हो। पानीको छिटामात्रै अनुहारमा पर्दा छुट्टै आनन्द आउने नयाँ बानेश्वरका ५५ वर्षीय बालकृष्ण सुवेदी बताउँछन्। तर अहिले धाराको अवस्था बिजोग छ। कतै झार उम्रेका छन्। कतै कमिला हिँडेका छन्। कतै भत्केका छन्। कतै फोहोर थुप्रेका छन्। 
‘अब तस्बिरमा देखिएका पुराना धारामात्र राम्रा देखिन्छन्,' सुवेदीले भने, ‘धारा भएकै ठाउँमा जाँदा पहिलेको सम्झेर मन कुँडिन्छ।' ०३९ सालतिर केशर पुस्तकालयमा काम गर्दा पानी खानकै लागि सुन्धारासम्म पुग्ने गरेको उनले सुनाए। ‘पानीले नै पेट भरिएजस्तो हुन्थ्यो,' ढुंगेधाराको महिमाबारे उनको भनाइ छ, ‘त्यहाँको कलात्मक धारा हेर्दै पानी पिउँद मन नै चंगा हुन्थ्यो।' 


न पानी न निकास 
प्राचीन ढुंगेधारासँगै निकासको पनि व्यवस्था हुन्थ्यो। अहिले न पानी न निकास! धाराका मुहान सुकेसँगै त्यहाँका निकास पनि पुरिएका छन्। ‘अब त ढुंगेधारामा खस्ने बर्सातको पानीका लागि पनि निकास छैन,' काठमाडांै महानगरपालिका सम्पदा शाखाका इन्जिनियर रोशनमान शाक्य भन्छन्, ‘पानी निस्कने निकास फोहोरले जाम भइसकेका छन्।'

स्थान प्राकृतिक रूपमा चल्ने खानेपानीको पाइपबाट पानी खसालेर चल्ने पानी नखस्ने धारा लोप भएका जम्मा 
भक्तपुर ३३ ३५ १८ १ ८७
मध्यपुर थिमि ४७ ६ ९ ३ ६५
कीर्तिपुर १० ० ० १ ११
ललितपुर ४७ ० ७ ७ ६१
काठमाडौ‌‌ ९६ २ ३४ ३३ १६५
जम्मा २३३ ४३ ६८ ४५ ३८९
— सन् २००९ मा एनजिओ फोरम फर उर्बान वाटर एन्ड सेनिटेसनले गरेको अध्यन प्रतिवेदनको तथ्यांक।


आचारसंहिताअनुसार ढुंगेधाराबाट दुई मिटर टाढामात्र घर बनाउन पाइन्छ। तर यहाँ त्यही आचारसंहिताको खुलेआम उल्लंघन भइरहेको छ। ‘अव्यवस्थित बसोबास, डिपबोरिङ, तथा जमिन सिमेन्टटेड असर ढुंगेधारामा पर्छ,' पुरातत्त्व विभागकी अधिकृत सौभाग्य प्रधानांग भन्छिन्, ‘भूमिगत पानीको जथाभावी दोहनका कारण उपत्यकाका १ सय ५६ परम्परागत ढुंगेधारा सुकिसकेका छन्।' 
काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका ३ सय ८९ मध्ये २ सय ३३ ढंुगेधारामा मात्र अहिले पानी आउँछ। संरक्षणका लागि पुरातत्त्व विभागले केही काम थाले पनि प्रभावकारी छैन। ‘धारा सुक्ने क्रम दिनप्रतिदिन बढेको छ,' उनले भनिन्, ‘संरक्षणका लागि स्थानीय समुदाय नजुटेसम्म ऐतिहासिक धारालाई जोगाउन सकिन्न।' 

ढुँगेधारामा सलाइन! 
पानी आउन छाडेपछि खानेपानीका पाइपलाइन तिनै ढुँगेधाराबाट खसालिएको दृश्य बिरामीलाई सलाइन चढाएजस्तो देखिन्छ। ‘मर्न लागेको ढुंगेधारालाई सलाइन हालेजस्तो,' पाटन तगहिटी नजिकका रमेश अवालले भने, ‘ट्यांकीमा जम्मा भएको पानी समय मिलाएर ढुंगेधारामा खसाउने गरिन्छ।' 
एनजिओ फोरम फर उर्बान वाटर एन्ड सेनिटेसनले २००९ मा सार्वजनिक गरेको तथ्याकंमा उपत्यकाका ४३ ढुँगेधारामा पाइप लगाएर पानी खसाउने गरिएको उल्लेख छ। पछिल्लो तथ्यांक नभए पनि पछिल्लो समय यो संख्या बढेको वातावरणविद् केशव श्रेष्ठ बताउँछन्। 

रिचार्ज जरुरी 
बढ्दो सहरीकरणका कारण जमिनको सतह सिमेन्टेड भएकाले पानी छिर्ने प्रक्रिया घट्दो छ। भूमिगत पानीको सतह कायम राख्न दीर्घकालीन रणनीति नअपनाए भयाभव स्थिति आउन सक्ने विज्ञ बताउँछन्। ‘प्रत्येक घरले आफ्नो करेसामा पानी रिचार्ज गर्ने अभियान थाल्नुपर्छ,' केशव श्रेष्ठ भन्छन्, ‘तबमात्र इकोसिस्टमा केही सुधार हुने अपेक्षा गर्न सकिन्छ।'
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले ‘रिचार्ज काठमाडौं' भन्ने अभियान नै थालेको छ। बोर्डले निकालेको अध्ययन प्रतिवेदनमा उपत्यकामा दैनिक करिब सात करोड लिटर पानी दोहन हुने अनुमान छ। जसका कारण वार्Èिक १ देखि २ दशमलव ५ मिटरका दरले भूमिगत पानीको सतह घट्दै गएको छ।
ढंुगेधारा र इनार व्यवस्थापनका लागि नदीका दुवैतर्फको २ सय मिटर दूरीमा ‘डिपबोरिङ'लाई निरुत्साहित गर्ने र मुख्य नदीको ५० मिटर दूरीमा डिप ट्युवबेल निर्माणमा प्रतिबन्ध लगाइनुपर्ने प्रतिवेदनले सुझाएको छ।
त्यसका लागि बोर्डले सार्वजनिक निजी साझेदारीअन्तर्गत स्थानीय समुदायको सहभागितामा परम्परागत ढुंगेधारा, कुवा र सामुदायिक इनार संरक्षण र व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने नीति बनाएको छ। धेरै पानी उपयोग र प्रदूÈण गर्ने उद्योग स्थापनामा रोक तथा स्थापना भइसकेकालाई क्रमशः उपत्यकाबाहिर स्थानान्तरण गर्न आवश्यक कानुन बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: ९ जेष्ठ २०७१ २३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App