एमआरपीमा सरकारी छाप नहुँदा, हस्ताक्षर र औठाछाप नहुँदा, नाम र थरमा हिज्जे नमिल्दा दैनिक रूपमा कामदार विदेश जान रोकिएका छन्। कामदारमात्र होइन अध्ययन र घुम्नका लागि जाने एमआरपीवाहक पनि सरकारी कर्मचारीको लापर्बाहीका कारण झन्झटमा पर्ने गरेका छन्।
वैदेशिक रोजगार विभागले गत फागुन ८ गते, जेठ १ गतेदेखि एमआरपीमा मात्र श्रम स्वीकृति दिने निर्णय गर्दा एमआरपी बनाउने कामदारको भीड ह्वात्तै बढ्यो। भीड बढ्दा कर्मचारीले एमआरपीमा गल्ती गर्दा कामदार विदेश जान रोकिएका छन्। साथै कतिपय कामदार पासपोर्टमा गल्ती उल्लेख हुँदा विदेशमा पुगी डिपोर्टसमेत भएका छन्।
विभागले २०७२ मंसिर ७ देखि हस्तलिखित राहदानी काम नलाग्ने भन्दै जेठ १ गतेदेखि हस्तलिखित राहदानीमा श्रम स्वीकृति नदिने निर्णय गरेको थियो।
वैदेशिक रोजगार व्यवसायी संघका कुमुद खनालले परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागका कर्मचारीको लापर्बाहीका कारण दैनिक रूपमा २० जना कर्मचारी विदेश जानबाट रोकिएको बताए। 'एमआरपीमा धेरै नै गल्ती हुन थालेको छ। कसैकोमा छाप छैन, कसैकोमा हस्ताक्षर नगरी पठाइएको छ, राहदानी जस्तो संवेदनशील डकुमेन्टमा लापर्बाही हुँदा धेरै कामदारले दुःख पाएका छन्,' उनले भने।
फ्युजन ओभरसिजका सञ्चालकसमेत रहेका खनालले आफ्नो कम्पनीबाट मलेसिया गएका कामदार हस्ताक्षरको ठाउँमा गर्नुपर्ने औठाछापसमेत नहुँदा मलेसियाबाट फर्किन परेको बताए। 'कतिपय कर्मचारीलाई हस्ताक्षर गर्न आउँदैन। त्यसको ठाउँमा औठाछाप गराउनुपर्छ,' खनालले भने, 'तर, कर्मचारीले औठाछाप नै नगराई पासपोर्ट दिँदा मलेसिया पुगेर अध्यागमनबाट धेरै कामदार फर्काइए।'
विभिन्न देशका नेपाली राजदूतावासबाट हस्तलिखित राहदानीको कारण समस्या झेल्नु परेको गुनासो आएपछि गत फागुनमा एमआरपीमा मात्र श्रम स्वीकृति दिने निर्णय गरेको थियो। विभागले चा"डोभन्दा चा"डो एमआरपी बनाउन सर्वसाधारणलाई सार्वजनिक आह्वानसमेत गरेको थियो।
मदिना इन्टरनेसनल म्यानपावर कम्पनीकी सञ्चालक सुवर्ण श्रेष्ठले राहदानीमा कर्मचारीले नाम र थरको हिज्जे गलत पारिदिँदा भिसा आएका कामदार पनि उड्न नपाएको बताइन्। 'हाम्रो कम्पनीबाट जान लागेका १० जना कामदारको नाम र थरको हिज्जे नै फरक छ। भिसा लागे पनि उनीहरूले उड्न पाएनन्,' उनले भनिन्। क्षेत्री लेख्दा हस्तलिखितअनुसार 'केएसएचइटीआरआई' हुनुपर्ने भए पनि नयाँमा 'सिएचएचइटिआरआई' लेख्दा सामान्य गल्तीले पनि कामदार जान नपाएको उनले बताइन्। 'कामदारले फर्म भर्दा सही भरे पनि कर्मचारीले गलत उल्लेख गर्ने र पछि सच्चाउन पनि नमान्ने हुँदा हैरानी बेहोर्नु परेको छ,' उनले भनिन्, 'कर्मचारीले आफैँ गल्ती गर्दाविना जरिवाना बनाइ दिनुपर्ने हो तर कामदारलाई जरिवाना लिएर बनाउन लगाउँछन्।'
राहदानी विभागका महानिर्देशक रमेश खनालले एमआरपी बनाउँदा कहिलेकाहीँ प्राविधिक गल्ती हुन सक्ने बताउँछन्। 'कतिपय अवस्थामा डाटा इन्ट्री गर्दा र कतिपय अवस्थामा कामदारले फर्म भर्दा पनि गल्ती हुन सक्छ। तर, त्यसलाई विभागले सच्चाउने गरेको छ,' उनले भने, 'हाम्रो गल्ती हो भने हामीले जरिवाना नलिई सच्चाएका छौँ।' राहदानीवाहकको गल्ती भएमा ५ हजार रुपैयाँ जरिवाना लिएर सच्चाउने व्यवस्था रहेको पनि खनालले बताए। राहदानीमा गल्ती भएर कामदार फर्केको र विदेश जान नपाएको गुनासो अहिलेसम्म नआएको खनालको भनाइ छ।
तर, व्यवसायी श्रेष्ठ कामदारको पहुँच विभागमा नहुने, लामो लाइनमा बस्नुपर्ने र कर्मचारीलाई गुनासो गर्दा पनि सुनुवाइ नहुने गरेको बताउँछिन्।
प्रकाशित: ९ जेष्ठ २०७१ ०९:३६ शुक्रबार





