सिरहा -आइतबार राति अपहरणमा परेका धनगडी –१ छपराडीस्थित रोशनी स्काई पोली क्लिनिकका संचालक वीरेन्द्रकुमार महतोलाई प्रहरीले उद्धार गरेको छ। सिराहा प्रहरीले धनुषाको यदुकुवा गाउँबाट उनलाई उद्दार गरेको एसपी पूर्णचन्द्र जोशीले बताए। 'अपहरणकारी को हुन् भन्ने खुलेको छैन', उनले नागरिकन्युजसँग भने, 'अपरहणकारी पक्राउ गर्न सो क्षेत्रमा धनुषा र सिराहा प्रहरी परिचालन भएको छ।'
अपहरणमुक्त महतोलाई प्रहरीले सिराहातर्फ ल्याइरहेको उनले जानकारी दिए।
आइतबार राती विरामीको भेषमा आएका चारजनाको समूहले चिकित्सक महतो (४५) को अपहरण गरेको थियो। महतो परिवारबाट खबर पाउने बित्तिकै जिल्लाभरीका प्रहरीलाई खोजीमा परिचालन गरिएको थियो।
क्लिनिकमा १२ वर्षदेखि कार्यरत हनुमाननगर १ बनौलीका अछमीत लाल चौधरीका अनुसार चारजनाको समूहमा आएकाहरुले 'मेरो विरामी आउँदै छ भन्दै केहीबेर बस' भन्दै डाक्टरसावको अपहरण गरेको बताएका थिए।
पति अपहरणको खबर पाएदेखि पत्नी कल्याणीदेवी मुर्छा परेकी थिइन्। अपहरणको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: २८ वैशाख २०७१ २३:२० आइतबार





-600x400.jpg)