– रविन शर्मा, गायक
किशोरावस्थाको सुरुवातमा म स्कुल लेभलको पढाइ सकेर भारतको खर्साङबाट काठमाडौँ आएँ। म निकै प्रतिभाशाली विद्यार्थी थिएँ। जहिले पनि क्लासमा प्रथम हुने। त्यसैले पनि म स्वाभाविक रूपमा अनुशासित र गम्भीर स्वभावको थिएँ। सबैले मलाई पढन्ते भन्थे।
साथीहरूलाई गीत सुनाउँथेँ। होहल्ला हुने ठाउँमा फिटिक्कै गाउन सक्थिनँ। सिरियस अडियन्स भेट्यो भने दिल खोलेर गाइदिन्थेँ। त्यति लाज मान्ने स्वभाव थिएन। मबाट धेरै केटीहरू प्रभावित पनि हुन्थे। गीत गाउने भएर उनीहरू प्रभावित भएका होइनन्। म कक्षामा जान्ने। मीठो बोलिदिने स्वभावले धेरैलाई प्रभावित गर्थ्यो। बोलीले धेरैलाई लट्ठ्याइन्थ्यो।
मेरी उनी (श्रीमती) पनि कलेजमै भेटिएकी हुन्। मेरो बोलीबाट प्रभावित भएको बताउँछिन्, उनी अहिले पनि। मेरो अंग्रेजी उच्चारण उनलाई धेरै मन पर्थ्यो रे। सरले प्रश्न गर्दा मैले दिने अंग्रेजी उत्तरले सबैको ध्यान तान्थ्यो।
सर्टिफिकेट लेभल पढ्दा १८ वर्षकै उमेरमा उनीसँग प्रेम बस्यो। आठ वर्षको प्रेमपछि बिहे गर्यौँ। उनी नै मेरो पहिलो र अन्तिम प्रेमिका बनिन्। तन्नेरी उमेरमा राम्रो केटी देखेपछि कसले नहेर्ला र? तर, म कसैको पछि लाग्ने आँटै गर्दिनथेँ। १९ वर्षकै उमेरमा मैले रेडियो नेपालमा गीत गाइसकेको थिएँ। त्यसपछि गीत गाउने क्रम बढ्यो।
त्यससँगै साथीसर्कल पनि बढ्न थाल्यो। मेरा लफंगा साथी पनि धेरै थिए। सबैसँग मीठो बोलिदिन्थेँ, संगत भने छानेर मात्र गर्थें। लहैलहैमा संगत गर्ने बानी पनि थिएन। त्यसैले बैँसमा उत्ताउलो काम गर्नतिर ध्यान गएन।
प्रकाशित: २५ वैशाख २०७१ १३:०१ बिहीबार





