– प्रिन्सा श्रेष्ठ, मिस नेपाल अर्थ २०१४
ताज पहिरिएपछिको अनुभव र दैनिकी कस्तो छ?
हाम्रो दैनिकी आयोजक हिडेन ट्रेजरले निर्धारण गरिरहेको छ। आयोजक अभिभावक भएको छ भने हामी ज्ञानी छोरी भएर आज्ञापालन गरिरहेका छौँ।
नेपाल सुन्दरी बन्ने रहर कहिलेदेखिको हो?
सानैदेखि सुन्दरी बन्ने रहर थिएन। किनकि, म टमब्वाई पाराकी थिएँ। मेकअप नगर्ने, लुगा पनि त्यस्तै लगाउने, बाइक चलाएर हिँड्ने खालकी थिएँ। त्यस्तो हुँदाहुँदै पनि सन् २००८ मा मिस टिन कलेज जितेँ। त्यसपछि भने ब्युटी पेजेन्टमा बाहिरी सुन्दरतामात्रै होइन, भित्री क्षमता पनि हेरिँदो रहेछ भन्ने लाग्यो। कुनै दिन मिस नेपालमा सहभागी हुन्छु भन्ने त्यतिबेलादेखि सोच्न थालेकी हुँ।
टमब्वाईबाट सुन्दरी बन्न के–के गर्नुभयो?
बाहिरबाट झट्ट देखिनेगरी केही गरिनँ। तर, मैले हिँड्न सिक्नका लागि मोडलिङ ज्वाइन गरेँ, मेकअप क्लासहरू लिएँ। यो सुन्दरी हुन होइन। सबै कुरामा सुन्दरता प्रस्तुत गर्न थियो।
ताज जितेपछि सोच र सपनामा कत्तिको परिवर्तन आयो?
परिवर्तन आएको छैन। फराकिलो हुँदै गएको छ।
अब मोडलिङलाई निरन्तरता दिने कि छोडिदिने?
लक्ष्य बिजनेस गर्ने छ। मोडलिङमा पनि एउटा केटीका हिसाबले रमाइलो गरिरहेकी थिएँ। तर, मलाई मोडलमात्रै पनि हुनु छैन। मोडलिङमा अरूको विचार हाबी हुन्छ। म आफ्नै विचारले अघि बढ्नुपर्छ भन्ने धारणा बोकेर मिस नेपालमा सहभागी भएकी हुँ। त्यसैले यो प्लेटफर्मबाट अरू केही गर्न चाहन्छु, मोडलिङ होइन।
नेपाली युवालाई एउटा सुझाव दिनुपर्यो भने?
आफूलाई गलत लागेका कुरामा नियर एन्ड डियरले भनिहाल्यो भनेर नपन्छिनुहोस्। विशेष गरी केटीहरूलाई भन्छु– सही कुराका लागि आवाज उठाउनुहोस्।
प्रतियोगितामा कुनै न कुनै टाइटल जित्छु जस्तो लागेको थियो?
परीक्षा दिन जाँदा अर्काे टेबलकोले कस्तो लेख्यो भन्दा पनि आफूले कसरी राम्रो लेख्ने भन्ने हुन्छ। त्यस्तै भएको थियो, आफ्नो तर्फबाट राम्रो गर्न कोसिस गरेकी थिएँ।
प्रकाशित: २५ वैशाख २०७१ १३:२५ बिहीबार





