फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि ताप्लेजुङमा राजनीतिक दलहरुले धमाधम उम्मेदवार बारे निर्णय गर्न थालेका छन् । उज्यालो नेपालले कीर्तिमान मादेनलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने भएको छ । मादेनले पार्टीले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा आफूलाई अघि सारेको जानकारी दिए ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले डिवी खुदाङलाई उम्मेदवारको रुपमा अघि सार्ने भएको छ । मञ्चका संघीय सदस्य मुक्साम लावुङले खुदाङ पार्टीकोतर्फबाट उम्मेदवार बन्न लागेको जानकारी दिए ।
श्रम संस्कृति पार्टीबाट टिकट निश्चित भएसँगै सन्तोष राईले जिल्ला समन्वय समिति सदस्यबाट राजीनामा दिने तयारी गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीले खेलप्रसाद बुढाक्षेत्रीलाई टिकटै थमाइसकेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति वीरेन्द्र श्रेष्ठले उम्मेदवारी घोषणासँगै चुनावी अभियान चलाइरहेका छन् । एमालेले ताप्लेजुङको उम्मेदवार टुङ्ग्याएको छैन ।
उपमहासचिव योगेशकुमार भट्टराई, केन्द्रीय सदस्यद्वय तिलकुमार मेन्याङ्वो र क्षितिज थेबे, निवर्तमान केन्द्रीय सदस्य टंक आङवुहाङ र एमाले जिल्ला कमिटी उपसचिव भीमादेवी ओझाको नाम सिफारिस भएपनि ताप्लेजुङका उम्मेदवारबारे एमाले सचिवालय बैठकले निर्णय गरेको छैन ।
कांग्रेस ताप्लेजुङले जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङको एकल नाम पठाए पनि कांग्रेसमा देखिएको पछिल्ला घटनाक्रमसँगै उम्मेदवारको अन्तिम निर्णय लाग्न बाँकी छ । अन्य पार्टीले उम्मेदवार बारे अहिलेसम्म आधिकारिक बताइसकेका छैनन् । तर यहाँ क्रियाशिल करिव एकदर्जन बढी राजनीतिक दलका प्रतिनिधि मुख्य निर्वाचन अधिकृत र जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेका निर्वाचन सम्वन्धी छलफलमा नियमित सहभागी भइरहेका छन् । यसले यहाँ क्रियाशिल सबै राजनीतिक दलले उम्मेदवार खडा गर्ने संकेत देखिएको छ ।
प्रकाशित: ४ माघ २०८२ १६:४५ आइतबार





