६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

हङकङमा चौधरीको काव्ययात्रा

काठमाडौं– साँझपख हङकङमा नेपालीहरु निकै व्यस्त हुन्छन्। तर आइतबार हङकङको काउलुन हलभरि नेपालीहरु भेला भएका थिए। उनीहरु नेपालका उद्योगी तथा कवि वसन्त चौधरीलाई सुन्न उत्सुक थिए। चौधरी विश्व काव्य यात्रा अन्तर्गत हङकङ पुगेका हुन्। उनले प्रेमसम्बन्धी कविता सुनाएर हलमा उपस्थित युवा दर्शकको मन जिते।

हङकङ नेपाली फेडरेसनको निम्तो स्विकार्दै कविता वाचनमा प्रस्तुत भएका चौधरी सेतो सुट लगाएर स्जेटमा झुल्किने बित्तिकै तालीको गडगडाहट भएको थियो।

म कसैको चाहनामा
बाँच्न चाहन्थें,
आफ्नो कथा अधुरो भए पनि
साँच्न चाहन्थें।
चौधरीले यस्तै प्रवृत्तिका १८–१९ वटा कविता सुनाउँदा रात परिसकेको थियो। प्रेम, मिलन, विछोड तथा राष्ट्रप्रेमले ओतप्रोत उनका रचना सुन्दै गर्दा दर्शकलाई आफ्नै मातृभूमिमा रहेको भान परेको थियो।
हङकङ नेपाली फेडरेसनका अध्यक्ष किसन राईले कवि चौधरीलाई स्वागत गर्दै भने, ‘नेपाली भाषा, साहित्य, संस्कृति र कलालाई संसारभर छरिएर रहेका नेपालीमाझ पुर्‍याउने उद्देश्य स्वरुप हामीले चौधरीलाई निम्त्याएका हौं।' 
झन्डै दुई घन्टा चलेको कार्यक्रममा गैर आवासीय नेपाली संघ, नेपाल चेम्बर अफ कमर्स हङकङ, हङकङ नेपाली महासंघ, नेपाली साहित्य प्रतिष्ठान, सिर्जनशील साहित्य समाज, हङकङ नेपाली साहित्य परिषद् र साब्लाबुङ प्रकाशनका प्रमुखहरूले कवि चौधरीलाई खादा लाएर सम्मान गरेका थिए। 
स्थानीय मिसन टु हेल्पका बबिता लामा र लक्ष्मी राईले समेत समारोहमा चौधरीको खुला हृदयले प्रशंसा गरेका थिए।

प्रकाशित: २२ वैशाख २०७१ २३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App