जवानीमा म न लज्जालु थिएँ, न फ्य्रांक थिएँ। अलि गम्किलो खाले बुझक्कडजस्ती थिएँ। धेरैसँग बोलचाल गरिहाल्न नखोज्ने। मेरो अनुहार हेर्दा धेरै बोल्न डराउँथे। बोलचाल भइसकेपछि भने उनीहरू 'हेर्दा मात्र कडा' भन्दै नजिकिन खोज्थे।
सानैदेखि कलाकारिता क्षेत्रमा आबद्ध भएँ। त्यतिबेला नाच्ने, गाउने मान्छेलाई नराम्रो सोचिन्थ्यो। हुन त अहिले पनि पूरै राम्रो सोच्ने अवस्था छैन। तर, उतिबेला छोरीमान्छेलाई घरबाहिर निस्कनै मुस्किल पर्ने स्थिति थियो। तर, मेरो बुवालगायत सबै परिवार बुझ्ने भएकाले समाजले जेसुकै ठानोस् भनेर आँट गर्न सकेँ। बुवा कलाकार भैरबबहादुर थापाकै कारण मलाई धेरैले सहयोग गरे। सजिलै धेरैको प्यारो बन्न सक्थेँ। मैले चार वर्षकै उमेरमा बालकृष्ण समले निर्देशन गरेको नाटकमा खेल्ने मौका पाएँ।
त्यतिबेला समाज निकै सभ्य थियो। अहिलेको जस्तो शरीर देखाएर चर्चामा आउन कोही चाहन्थेन। अहिलेको जस्तो पछ्याउने केटाहरू पनि हुन्थेनन्। दर्शक, कलाकार सबै सभ्य थिए। सानैदेखि थालिएको अभिनय पेसा किशोरावस्था हुँदै युवा अवस्थामा झन् तिखारियो। मलाई सधँै समयको अभाव भइरहने। अभिनयसँगै गीत पनि गाउँथेँ। २०१८ सालमा १२ वर्षकै उमेरदेखि राष्ट्रिय नाचघरमा जागिरे भएँ। यसरी मेरो जवानी व्यस्ततामै बित्यो।
प्रकाशित: २० वैशाख २०७१ ११:४९ शनिबार





