१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

जुनी फेर्दै वसन्तपुर

बसन्तपुर, तेह्रथुम– तेह्रथुम बसन्तपुर बजारकी छिरिङ फुटिक शेर्पाले सात मिटर जग्गा किनिन्, ६० हजारमा। उत्तिखेरै रंगीन टिभी किनिन्, त्यति नै पैसामा। यो आजको होइन, २०५३ सालको कुरा हो। गुराँसको राजधानी अर्थात्, तीनजुरे–मिल्के–जलजले पुग्ने पदयात्री बास बस्ने बसन्तपुर उस्तो महँगो भइसकेको थिएन।

सुन्दा कथाजस्तै लाग्छ, बसन्तपुर– ४ का वीरबहादुर गुरुङका भनाइमा तेह्रथुम, ताप्लेजुङ, पाँचथर, धनकुटा, भोजपुर, संखुवासभा गरी छ जिल्लाका बासिन्दा हरेक पञ्चमी तिथिमा लाग्ने बसन्तपुर हाट भर्थे। गाउँबस्तीमा गाडी पुगेपछि, पहाडका बासिन्दा बसाइँ सरेपछि यो सानो सहरले अलि अलि गर्दै चहक गुमाउन थाल्यो। नमुना सहर घोषणा र मध्यपहाडी लोकमार्गको निर्माणसँगै बसन्तपुर पुनः जुर्मुराउँदैछ। 

भुल्केधाराकी छिरिङ फुटिकलाई यो सबै परिवर्तन रत्तिभर अनौठो लाग्दैन जबकि, यसबीचमा जग्गाको दामले आकाश छोएको छ। टिभीको दाम घटेको छ।

मेची र कोसी दुवै अञ्चलसँग सघन संवादमा रहने इटहरीभन्दा पहिले बसेको हो बसन्तपुर सहर। २०२४ सालमा पूर्व पश्चिम राजमार्ग निर्माण हुँदा पश्चिम तेह्रथुमको यो सिमाना सहर उत्तिखेरै सानो बजार भइसकेको थियो। धनकुटा मारेकटहरेका उदय पौडेल २०२२ सालमा इटहरी झर्दा १२ वर्षका थिए। त्यहाँ बजारको कुनै नामोनिशान थिएन। स्थानीय अगुवा डम्बर माबुहाङ, उदय पौडेललगायतको पहलमा भुल्केधाराको बाटोलाई मोडेर बसाएको यो सहर उत्तिबेलै नामी भइसकेको थियो। 

कुनै बेला ‘बिल्मटे' नामले चिनिने बसन्तपुर घोडा कुदाउनेका लागि रोज्जा जग्गा थियो। बिल्मटे शब्दको अर्थ त ‘उल्टो' वा ‘विपरीत' भन्ने लाग्छ। बिल्मटेलाई आफ्नै नाम मन परेन। बस्ती बसेपछि अलि मिलाएर राम्रो नाम राख्नेमा लागे स्थानीय। 

पूर्वका अधिकांश सहरका नाम लिम्बू भाषा र पृष्ठभूमिबाट राखिन्छ। माझ किरात छिरेपछि राईहरूको सांस्कृतिक पृष्ठभूमि सहरको नाम राख्ने आधार बन्छ। तीभन्दा पृथक् रह्यो बसन्तपुरको न्वारान। कसरी यसको नाम रह्यो भन्नेमा बुढापाकाका धारणा समान छैनन्। यत्ति हो, स्थानीय रामबहादुर खत्रीका भनाइमा उल्टो नामलाई सुल्टाउने आकांक्षाले बिल्मटेलाई बसन्तपुरमा अनुवाद गर्योा।

तर यौवन सधैं एकैनास रहिरहँदैन। मानिसजस्तै हो सहर। 

साना बजारहरूको विकास र मधेस झर्नेहरूको संख्या बिस्तारले बसन्तपुरको ओज घट्यो। बाटोघाटोको बिस्तार भएपछि छिमेकी जिल्लामा टुक्रे पसल थाप्न थाले मानिसहरू। घोडा र खच्चडमा सामान किन्न आउनेको संख्या घट्यो। नुनतेल खेप्न आउनेहरू बजारमा देखिन छाडे।

बसन्तपुर एउटा उदाहरणमात्रै हो। देशैभरि यस्ता थुप्रै पहाडी सहर छन्, जहाँका कथा उस्तैउस्तै छन्। सके काठमाडौं छिर्ने, नसके तराईमा घरजग्गा किन्ने, खेती गरेर बस्नेहरूले उजाड बनाएका बस्ती पहाडपिच्छे छन्।

सुख, सुविधा र समृद्धिको चाहना कसलाई पो हुँदैन! राजमार्ग, बिजुली, स्कुल, अस्पतालजस्ता विकासका पूर्वाधार पूर्वपश्चिम राजमार्ग केन्द्रित थिए। पहाडको विकटता र गरिबीलाई सम्बोधन गर्ने कार्यक्रम पञ्चायती सरकारसँग थिएन। ऊ त हतार हतार एसियाली मापदण्डमा पुग्न कस्सिएको थियो।

‘हामीलाई यो सहरको प्लानिङ गर्न भौगोलिक असुविधा पनि भएकै हो,' पौडेल सकार्छन्, ‘पहाडको ठाउँमा बाटो बनाउन सजिलो हुँदैन, समथर इटहरीले त्यसको फाइदा उठायो।' 

बसन्तपुरले हिम्मत हार्योद। अब यहाँ सहर बस्दैन कि भन्ने परेको थियो स्थानीयलाई। केही स्थानीय व्यापारी काठमाडौं सरे। कोही विराटनगर, इटहरीतिर व्यापार थाले। त्यसो गर्नेमा मारवाडी समुदायका बढी थिए। उदय पौडेलका भाषामा यो सहरले कमाएको करोडौं पैसा बाहिर गयो।

समय र सरकारी प्राथमिकताका कुरा न हो। पूर्वपश्चिम राजमार्गले जोडेकै कारण इटहरीले आफूभन्दा पुरानो सहर बसन्तपुरलाई कता हो कता पछाडि छाड्यो, कक्षा ‘जम्प' गर्दै उक्लेको विद्यार्थीझैं।

इटहरीलाई अहिले उपमहानगरपालिका बनाउनुपर्छ भन्ने गाइँगुइँ सुनिन्छ। प्रतिस्पर्धी सहरको महŒवाकांक्षा सुन्दा बसन्तपुरलाई नराम्रो लाग्छ। यो सहर अतीतको आफ्नो समृद्धितिर फर्केर गम खान्छ, आफैंमा हराउँछ। 

सरकारले पूर्वाधार निर्माणमा जोड दिने हो भने ‘पहाडको इटहरी बनाएर देखाइदिने' घिड्घिडो उदय पौडेलको मनमा छ। एउटा सहर र अर्को सहरबीचको मनोविज्ञान यस्तो हुन्छ, जस्तो कि एउटा व्यक्ति र अर्को व्यक्तिबीचको हुन्छ। कुनै बेला बसन्तपुरभन्दा पछाडि रहेको इटहरीले विकास र समृद्धिमा छलाङ हानिसक्दा बसन्तपुर भने दर्शकदीर्घा रुँघिरहेको बूढो खेलाडीजस्तो हुन पुगेको छ। वरपरका सहरभन्दा अघि गए पनि इटहरीलाई उछिन्न नसकेकामा बसन्तपुर दिक्क छ।

‘ठाउँ पछाडि पर्योइ, पछि पर्नमा हाम्रो पनि हात छ,' पौडेल स्वीकार्छन्, ‘हामीले पनि गर्नुपर्ने जति गर्न सकेनौं।'

तर अकस्मात्!

सरकारले पहाडको बढ्दो बसाइँसराइ रोक्न विकास, सुखसुविधा बढाउने रणनीतिअनुसार १० ‘नमुना सहर' निर्माण गर्ने घोषणा गर्योस। मध्यपहाडी लोकमार्गले छुनेमध्ये एउटा सहर बन्न पुग्यो बसन्तपुर, जहाँ सरकारले तोकेका पूर्वाधार तयार हुन सक्थे।

‘नमुना सहर' प्रस्तावपछि पहाडबाट बसन्तपुर झर्ने क्रम अकस्मात् बढ्यो। मुर्झाउँदै गएको यो सहरले अक्सिजन पायो। बसन्तपुरसँग के छैन, नाम छ, इतिहास छ। वर्तमानमा भने बैंसको उत्तरकालमा रहेकी युवतीको लेटर बक्समा खसेको आकर्षक प्रेमपत्रजस्तो हुन पुगेको छ, नमुना सहरको प्रस्ताव। 

त्यसो त यो सहरको ‘फ्रेन्डलिस्ट' मा थुप्रै सहर छन्। तीमध्ये म्युचुअल फ्रेन्डको संख्या पनि अरु सहरभन्दा धेरै छ। जोगवनीदेखि किमाथांकासम्म जोड्ने बाटो, धरान–बसन्तपुर हुँदै ताप्लेजुङ जोड्ने सडक, बसन्तपुरबाट सिंहपुर हुँदै फिदिम जोड्ने सडक, ८० किमी परको आठराई, सय किमी पर संखुवासभा सदरमुकाम खाँदबारी, ६५ किमी पर फुङलिङ, ८८ किमी तल धरान। कोसी राजमार्ग यही सहर हुँदै उकालो लाग्छ। त्यही बाटोमा हिले र सिधुवा पर्छन्। यी सबै सम्भावना पहिल्याउँदै सरकारले १० नमुना सहर प्रस्ताव गर्दा बसन्तपुरलाई पनि रोज्यो। 

बसन्त बहुमुखी क्याम्पसका अध्यापक खगेन्द्र सुवेदीका अनुसार खानेपानी, जमिनजस्ता पूर्वाधारसाथै सबै क्षेत्र जोड्न सक्ने सम्भाव्यता भएकै कारण बसन्तपुरलाई नमुना सहर छानिएको हो। ‘आवास तथा भौतिक योजना मन्त्रालयले २०६७ सालमा आवास कम्पनीमार्फत जग्गा नापेर सुपथ मूल्यमा जनतालाई बेच्ने कुरो चलेको थियो,' उनी भन्छन्, ‘त्यो चर्चा अहिले कता हरायो! नमुना सहर घोषणा गरेरमात्रै पुग्दैन। पूर्वाधारमा पनि चासो दिनुपर्योी।'

बसन्तपुरले २०६४ सालमा लालीगुराँस महोत्सव गर्यो्। पर्यटन बोर्डले देशका पाँच मुख्य गन्तव्यमध्ये पूर्वमा दुई ठाउँ रोज्यो– एक, इलाम। दुई, बसन्तपुर। माउन्ट मकालु डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी तथा पर्यटनकर्मी कुमार खड्का भन्छन्, ‘अरू सहरभन्दा यहाँ सरकारी जग्गा धेरै छ, त्यसैकारण नमुना सहरको दौडमा अरु सहरलाई उछिन्ने सम्भाव्यता बसन्तपुरसँग बढी छ।'


यही सरकारी निर्णयसँगै बसन्तपुरको हिम्मत फेरि बौरिएको छ। अन्य भूभाग जान उही इटहरीको भर पर्नुपर्ने बसन्तपुरवासीको ईखमा मध्यपहाडी लोकमार्गले मलमपट्टी गरिदिएको छ।

मध्यपहाडी लोकमार्गअन्तर्गत तमोरमा पुल बनिसकेपछि पाँचथर सदरमुकाम फिदिमसँग जोडिएको छ बसन्तपुर। त्यसो त सुधारको काम पनि जारी छ। तेह्रथुमको आठराईसम्म बस जान थालिसक्यो। वसन्तपुरबाट म्याङलुङ, म्याङलुङबाट आठराई, आठराईबाट ताप्लेजुङको सिमाना छुन्छ बाटोले। झापा इलाम हुँदै छुने ताप्लेजुङसँग बसन्तपुर जोडिएमा ७६ किलोमिटर दूरी घट्ने बताउँछन् स्थानीय अर्जुन माबुहाङ।

कोशी राजमार्ग बसन्तपुर भएरै जान्छ। संखुवासभाको चैनपुर, सिधुवा हुँदै धनकुटा, भोजपुर जाने सबै बाटा बसन्तपुरसँग ठोक्किन्छन्। छिमेकमा कुनै पनि सहर छैन, जो बसन्तपुरसँग नजोडिएको होओस्।

‘तराई नटेकी नै मेचीदेखि महाकाली पुग्न सकिने यो बाटो बन्नु भनेको हाम्रा लागि असाध्यै ठूलो कुरा हो,' माबुहाङ भन्छन्, ‘अब नमुना सहरले पाउने पूर्वाधार पनि देओस्, पहाडबाट तराई बसाइँ सर्ने क्रम नै रोकिन्छ।' 

नगर विकासको पहिलो प्राथमिकतामा फिदिम छ भन्ने गाइँगुइँ बसन्तपुरतिर चल्न थालेको छ। ‘बजेट काटिदियो भने यो सहरमा अझै निराशा बढ्नेछ,' उदय पौडेल भन्छन्, ‘कि पहिल्यै दिनै हुँदैनथ्यो। दिइसकेपछि यहाँमात्रै होइन, फिदिम पनि काट्न हुँदैन। अरु ठाउँ पनि काट्न हुँदैन।'

भन्छन्– बरु अरू सहरमा पनि सम्भाव्यता खोज्नुपर्छ। तराईको खेतीयोग्य जमिनलाई प्लटिङ गरेर सिध्याउने होइन, देशले फाइदा लिनुपर्छ। 

२०६८ सालको जनगणनाअनुसार ११ सय ११ घरधुरी छन् बसन्तपुरमा। जनसंख्या भने पाँच हजारमात्रै छ। बसन्तपुर ४ का निरोज खड्काका भनाइमा सहरी विकास मन्त्रालयले २० वर्षे योजना बनाएर नमुना सहरहरुका लागि काम गर्दैछ।

‘हामीले बसन्तपुरलाई चम्कायौं भने पहाडको बसाइँसराइँ रोकिन्छ, जीवनस्तर पनि सुधि्रन्छ,' पौडेल भन्छन्, ‘मध्यपहाडी लोकमार्ग पूरा भयो भने यही सहरले पहाडको काँचुली फेर्छ।'

‘पहाड बन्यो भने तराईका मान्छे पनि फर्कनेछन्,' वीरबहादुर गुरुङ थप्छन्, ‘पहाड बनेन भने तराईले मात्रै थाम्दैन।'

बसन्तपुर बसाउने अगुवामध्ये एक डम्बर माबुहाङ अघिल्लो महिना बिते। नमुना सहर बनाइछाड्ने बसन्तपुरेको सपना भने जीवितै छ। मध्यपहाडी लोकमार्ग र नमुना सहरको प्रस्तावले उनीहरूको सपनालाई बाटो देखाएका छन्।

प्रकाशित: २० वैशाख २०७१ ००:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App