५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

बागलुङमा एक टुक्रा मन

साहित्यमा बागलुङले यस अर्थमा पनि महत्व राख्छ, जहाँको माटोमा आदिकवि भानुभक्त आचार्यले शिक्षा ग्रहण गरेका छन्। ढिकीचौरस्थित पण्डित बद्रीप्रसाद पन्तको आश्रममा बसेर उनले शिक्षा लिएको प्रमाण बागलुङका पुराना साहित्यकार प्राज्ञ प्रेम छोटासँग सुरक्षित छ। ‘केशवप्रसाद पन्तले १९६७ साउन ४ गते लेखेको पत्रमा यसबारे उल्लेख छ,' उनी भन्छन्, ‘गुरुदक्षिणा स्वरूप आचार्यले तनहुँको १६ मुरी जग्गा बुझाएका रहेछन्।'धवलागिरिका पहिलो साहित्यकार मानिएका कवि वीरशाली पन्तपछि अर्को स्रष्टा जन्मिन झन्डै एक सय २० वर्ष कुर्नुपर्योए। पन्त १८४९ सालमा बागलुङको मुलपानीमा जन्मिए। साहित्यको बीउ छरे। गए। १९६८ मा पर्वतमा जन्मिएका मोहनबहादुर मल्लले उनकै गोरेटो पछ्याए। मुस्ताङको हिउँमा जन्मिएका भूपि शेरचन त नेपाली कविताको ब्रान्ड नै बने। 
२००३ सालमा स्थापित विद्यामन्दिर पुस्तकालयले पनि बागलुङे साहित्यको उत्थानका लागि ठूलो योगदान पुर्या एको छ। ओमप्रसाद गौचन र मेघकुमार वैद्यको अगुवाईमा स्थापित पुस्तकालयलाई साहित्यकार काजी रोशन र छोटासमेतले विस्तार गरेको महेशचन्द्र प्रधान बताउँछन्। ‘यहाँ भइरहने साहित्यिक कार्यक्रमले नयाँ र पुराना पुस्ताका लेखकबीचको सम्बन्धलाई प्रगाढ बनाएको छ,' उनी भन्छन्, ‘तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले सम्पर्क कार्यालय स्थापना गरेपछि २०२३ सालदेखि साहित्यिक गतिविधिले विस्तारित हुने मौका पायो।'
राजधानीबाहिर पहिलोपटक साहित्य पुरस्कार गुठी स्थापना गर्ने जिल्ला बागलुङ नै हो। २०३४ सालमा स्थापित रत्न–श्रेष्ठ पुरस्कार गुठीले सुरुमा तीन सय नगद पुरस्कार दिँदै आएकोमा राशी वृद्धि गरी ५० हजार पुर्यााएको छ। पश्चिमाञ्चलस्तरीय यो पुरस्कार कृतिगत रूपमा आख्यान र कविताका लागि दिइन्छ। यसअघि ३९ जना यसबाट पुरस्कृत भइसकेका छन्।
रत्न–श्रेष्ठ साहित्य सम्मानले चाहिँ राष्ट्रियस्तरमै सम्मान गर्छ। ‘साहित्यको विकासमा योगदान पुर्यााउने सर्जक र संस्थालाई अभिनन्दन गर्छौं,' छोटा भन्छन्। विद्यामन्दिर पुस्तकालय, कमलमणि दीक्षित, गोपाल वैद्य, मोदनाथ प्रश्रित, तुलसी भट्टराई, वैकुण्ठप्रसाद बिजुक्छे सम्मानित भइसकेका छन्।
रत्न–श्रेष्ठ पुरस्कार गुठीअन्तर्गत सञ्चालित अर्को संस्था छ, जगतचन्द्र स्मृति सम्मान कोष। २०५८ सालमा जन्मिएको कोषले हरेक दुई वर्षमा साहित्यिक योगदानको मूल्यांकन गर्दै अनुसन्धातालाई नगद ३२ हजार दिन्छ। ‘छानिएका पाण्डुलिपिहरूको छनोट गरेर पुरस्कार दिन्छौं,' कोषकी संरक्षक सन्तु श्रेष्ठ भन्छिन्। 

...

‘काठमाडौंले मोफसलको साहित्य–सर्जकलाई चिन्दैन,' धवलागिरि अञ्चलस्तरीय साहित्यिक कार्यक्रममा आइतबार बागलुङ पुगेका पर्वतका साहित्यकार राजेन्द्र पहाडी राँक्किए, ‘राजधानीमात्रै सबथोक होइन। सिर्जना र भोगाइ मोफसलका गाउँ, बस्ती र झुपडीमा बढी हुन्छन्।'
नेपाली साहित्यको पोखरीमा केन्द्र र मोफसलबीचको घेरा बेलाबेला घटबढ भइरहन्छ। यो तरंग अझै मत्थर भइसकेको छैन भन्न पहाडीकै गुनासो काफी छ। उनीमात्रै होइन राजधानीबाहिरका प्रायः स्रष्टाको चिन्ता यसमै देखिन्छ। 
युवा पुस्तामा बढेको पठन संस्कृति, पुस्तक प्रकाशनको होडबाजी र चलायमान साहित्यिक गतिविधिले पहिलेजस्तो मोफसल–राजधानीबीच गहिरो खाडलै छ भन्न सकिन्न। काठमाडौंबाहिर समेत हुने साहित्यिक मेला–महोत्सव या अन्तरक्रिया र गोष्ठीले बिस्तारै यसलाई पुरिरहेको छ। छोटा भने यो सवालमा अलि उदार छन्। ‘सानो ठाउँबाट विस्तारित हुँदै ठूलो ठाउँमा जानु नराम्रो होइन,' उनको बुझाइ हो, ‘काठमाडौंमै बसेर लेखे पनि आफ्नो माटोको सुगन्ध आउनुपर्छ।'
केन्द्रमा बस्नेले मात्रै राम्रो लेख्छन् भन्ने भ्रमबाट उनी मुक्त छन्। ‘यो भ्रम तोडिनुपर्छ,' उनको दाबी छ, ‘राजधानीमा बसेर लेख्नेले भन्दा राम्रो लेख्न सक्ने स्रष्टा कुनाकाप्चामा पनि छन्।' 
मोफसलबाट बेलाबेला आइरहने गुनासोलाई सूचना प्रविधिले बिस्तारै निस्तेज गर्दै लगेको ठम्याइ छ, साहित्यिक मासिक मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठको। ‘कृतिको संख्या थपिनुलाई मात्रै राम्रो मान्न सकिन्न,' उनले भने, ‘लेखनमा चुनौती थपिएको छ। वर्णमालाका ‘क'देखि ‘ज्ञ'सम्मका अक्षर लेखेरमात्रै साहित्य बन्दैन।' 
छोटाले त भूपि शेरचन जन्मिएको अञ्चल भएकाले पनि धवलागिरिको साहित्य गरिब नभएको बताए। 
मैले छोटालाई सोधेको थिएँ, ‘बागलुङको समृद्ध सहरजस्तै यहाँको साहित्य पनि समृद्ध छ त?'
‘डल्ला फोरेर मिहिन बनाएको माटोमा मकै छरेजस्तो तत्कालै साहित्यको विकास देख्न सकिन्न,' उनको जवाफ थियो, ‘साहित्य अमूर्त हुन्छ। कृति जन्माउन लामो साधना चाहिन्छ।' 
उनकै अनुसन्धानलाई आधार मान्ने हो भने धवलागिरिका चारवटा जिल्लामा करिब चार सय साहित्यकार छन्, दुई सय २५ भन्दा बढी तिनका कृति। 

...

सन्दर्भ हो– धवलागिरि अञ्चलस्तरीय साहित्यिक अन्तरक्रिया। अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन र शमी सम प्रकाशन गृहले धवलागिरिबाट सुरु गरेको अभियानका लागि काठमाडौंबाट एक टोली बागलुङ पुगेको थियो। टोलीका ‘डफ्फेदार' थिए, आयोजक संस्थाका निर्देशक डोलिन्द्र शर्मा। 
‘नेपाली कला, साहित्यको वस्तुस्थिति बुझ्नुका साथै मिहिन रूपमा यसको अध्ययन पनि गर्नेछौं,' आफ्नो जन्मथलोबाटै कार्यक्रम थालिएको उनले उद्घोष गरे, ‘यो अभियान १४ अञ्चलमै अघि बढ्नेछ।'
अभियान उद्घाटनमा निम्त्याइएका पूर्व शिक्षा मन्त्रीद्वय प्रदीप नेपाल र दीनानाथ शर्माले राजनीतिज्ञभन्दा बढी साहित्यकार भएर बोले। 
साहित्यलाई लामो साधनाको प्रतिफल मान्ने शर्माले भने, ‘म साहित्यमा प्रतिस्पर्धा गर्न आएको होइन। प्रदीप कामरेडसँग त सक्दै सक्दिनँ।' दुई हप्ताअघि मात्रै ‘अक्षरको खेती' निबन्ध कृति निकालेका उनले यसो भनिरहँदा मुसुमुसु हाँस्दै नेपालले चस्माको फ्रेम उचालेर उनीतिर पुलुक्क हेरे। 
‘पहिले राजनीतिक दस्तावेज बोक्ने झोला अब साहित्यिक किताबले टम्म भरिन थालेका छन्,' सशस्त्र युद्धको १० वर्षे समयबारे आफ्नै धारणा होला शर्माको तर बन्दुकको शक्तिलाई उनले उति महत्व दिएनन्, ‘मलाई बन्दुकसँग होइन कलम चलाउनेहरूसँग डर लाग्न थालेको छ।' साहित्यका कैयौं ठेली लेखिसकेका कुनै बेलाका सञ्जय थापा उर्फ प्रदीप नेपालप्रति संकेत गर्र्दै उनले यो पनि भन्न भ्याए, ‘कतै म उहाँकै बाटोतिर त लाग्दै छैन?'
साहित्य लेखेर राजनीतिमा आएका नेता कमै छन्, जति राजनीतिपछि साहित्यमा लागेका। यी दुवैलाई सँगसँगै अघि बढाएका नेपालले राजनीतिको बिँडो थाम्न आउनेको लाइन लागे पनि साहित्यको उत्तराधिकारी पाउन गाह्रो हुने बताए। 
प्रयोगवादिताको नाममा हाडे ओखरजस्ता साहित्य लेख्नेप्रति नेपाल व्यंग्य ठोकिहाले, ‘क्लिष्ट लेखेर प्रयोगवादी हुँ भन्नेहरूचाहिँ ठूला कवि, सजिलो लेख्नेचाहिँ सानो?' 
दुई दशकपछि बागलुङ पुगेका नेपालले भूपि शेरचन सम्भि्कँदै केही सिर्जना सुनेपछि हौसला बाँडे, ‘धवलागिरिका स्रष्टामा भूपिको झैं व्यंग्यचेत रहेछ। यसलाई अझै तिखार्नूस्।' 
...
संयोग भनूँ, सोही दिन परेछ प्रेम छोटाको ७०औं जन्मदिन। साहित्यिक भाषण गर्ने गरिरहेछन्। कविता सुनाउने सुनाइरहेछन्। सँगै– छोटालाई अबिर–खादा ओढाउँदै सगुन र उपहार दिने दिइरहेछन्। 
खीर बन्नुपर्ने कार्यक्रम व्यवस्थापन कमजोरीले बिस्तारै खिचडी बन्न थाल्यो। टाढा–टाढाबाट आएका धेरै सहभागीले आफ्ना सिर्जना सुनाउन पाएनन्। कवि कृष्ण प्रसाईं, बाबा बस्नेत, छविरमण सिलवाल, शंकर भारती, टंक भट्टराईले भने अतिथि–कविता सुनाउन भ्याए। सोमबार काठमाडौं फर्कने क्रममा टोलीको गुनासो थियो– धीत मर्ने गरी धवलागिरिका सिर्जना सुन्नै पाइएन। 
फेवातालमा क्यामेरा थमाउँदै बाबा दिदीले भन्नुभयो, ‘भाइ, एक क्लिक।' अपसोस! उहाँले क्यामेराको ब्याट्री चार्जरसँगै उतै छोड्नुभएछ। 
मैले सहानुभूति दिएँ, ‘ब्याट्री छुटेकोमा चिन्ता नलिनूस्। मैले त मनको एउटा टुक्रा बागलुङमै कतै छोडिसकेको छु।'

प्रकाशित: २० वैशाख २०७१ ००:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App