भारतीय नेपालीका लागि नयाँ दिल्लीमात्रै होइन, भारतकै अन्य भूभाग अझै ‘आफ्ना' बन्न सकिरहेका छैनन्। कतै ‘विदेशी'को बिल्ला भिराइन्छ त कतै ‘पराई' ठानिन्छ।
नेपालीभाषीको संख्या अधिक हुँदाहुँदै पनि आफूलाई पश्चिम बंगालले ‘नहेरेको' र नयाँ दिल्लीले ‘नदेखेको' गुनासो गर्ने शहर हो, दार्जिलिङ। छुट्टै राज्य ‘गोर्खाल्यान्ड'को मागले बेला बेला तात्तिइरहने दार्जिलिङमा अहिले आन्दोलन मत्थर छ। अप्रिल १७ मा सकिएको लोकसभा चुनावको नतिजा मे १६ मा सार्वजनिक हुँदैछ। ‘गोर्खाल्यान्ड'पक्षले जित्ला या विपक्षले बाजी मार्ला, सबैलाई चासो छ।
‘गोर्खाल्यान्ड' राज्य कायम भए आफ्नो चौतर्फी भलो हुने ठान्छन् त्यहाँका नेपालीभाषी। आफूले गरेको मतदानको नतिजामा सबैको ध्यान तानिइरहेका बेला फरक धारमा साहित्य सिर्जना गरिरहेका पाँच दार्जिलिङे कवि काठमाडौं आएका छन्– मनोज बोगटी, निमा शेर्पा, लेखनाथ क्षेत्री, प्रदीप ल्वागुन र विनोद प्रधान।
नयाँ दिल्लीले ‘नचिने' पनि काठमाडौंले ‘बिरानो नठान्ने' विश्वासमा उनीहरु तीन दिनअघि यता आइपुगेका हुन्। आएदेखि सुरु भएको उनीहरुको साहित्यिक र साँस्कृतिक दौडधूप जारी छ। कुनै बेला रङ्गमञ्च चहार्दै नाटकतिर नजर पुर्याहइरहेका हुन्छन् त कुनैबेला आफ्ना प्रकाशोन्मुख कृतिबारे विचार विमर्शमा व्यस्त रहन्छन्। कविता सुन्दै, सुनाउ“दै उनीहरु अझै दुई दिन यतै बस्नेछन्।
एउटा कार्यक्रम सकेर अर्कोमा पुग्ने हतारोवीच पाँच दार्जिलिङे कविले शुक्रबार नागरिकसँग साझा दुखेसो गरे, ‘हामीलाई दुई प्रकारको डर छ, भारतीय र नेपालीबाट।'
बिजनबारीका कवि निमा शेर्पाले भने, ‘एक, भारतमै अरु समुदायले हामीलाई भारतीय ठान्दैनन्। दुई, नेपाल आउँदा नेपालीहरुले आफ्नै देशवासी सम्झन्छन्, जबकि हामी अर्कै देशका हौं।'
शेर्पाको दुःखेसोमा दरिलो सत्य लुकेको छ। दार्जिलिङमा नेपालीभाषीले छुट्टै राज्यनिम्ति लडिरह“दा कतिपल्ट बंगालकै मुख्यमन्त्री ममता बनर्जीले ‘बरु मर्न तयार छु, बंगाल टुक्रिन दिन्नँ' भनिसकेकी छन्। जब जब नेपालीभाषीले अधिकारका पक्षमा आवाज उठाउँछन्, तब बनर्जीजस्ता धेरै विरोधी निस्किन्छन् र भन्छन्, ‘गोर्खाहरु विदेशी हुन्, राज्य माग्ने हैसियतमा छैनन्।'
बंगालले ‘सुनको फूल पार्ने कुखुरी' भन्दै आएको दार्जिलिङ चिया, शिक्षा र पर्यटनले प्रसिद्ध छ। तर, हामीले भुल्नु नहुने अर्को कुरा दार्जिलिङ, नेपाली भाषा, साहित्य, संगीत र सभ्यताको पुनर्जागरण गराउने मूलथलोमध्ये काठमाडौंजत्तिकै चर्चित छ। सन् पचासको आसपास आएका साहित्यका धरणीधर कोइराला, पारसमणि प्रधान, सूर्यविक्रम ज्ञवाली हुन् या त्यसपछिका इन्द्रबहादुर राई, गोपाल योन्जन, अम्बर गुरुङ, ती सबैले नेपाली सभ्यतालाई समृद्ध पार्ने काम गरे। पिटर जे कार्थक, रन्जित गजमेर,अरुणा लामा, वानिरा गिरिजस्ता लेखक कलाकारले काठमाडौंलाई दोस्रो राजधानी बनाए। कोही बिते, कोही आजसम्म काठमाडौं बसिरहेछन्।
आधुनिक नेपालको राजनीतिक नक्सालाई मेची–महाकाली नदीले छुट्याइदिएको छ। संगीत र साहित्यको मानचित्रबाट मेचीपारिको दार्जिलिङलाई मेटिदियो भने नेपाली सभ्यताको मानचित्र सग्लो हुँदैन।
दार्जिलिङ र आसपासका भारतीय भूभागमा नेपाली जाति गएर बसेको इतिहास अढाइ सय वर्षभन्दा पुरानो छैन। बस्ती नै बसाएर आवादी गर्न थालेको एक सय १४ वर्ष पुग्यो। यसबीचमा पटक पटक साना ठूला आन्दोलन चलेका छन्। ती आन्दोलनमार्फत् भारतीय नेपालीहरूले आफ्नो पहिचान खोजेका छन्।
सन् ८० पछि केही सुनसान देखिएको दार्जिलिङे माहोल तताउँदैछन्, दार्जिलिङे युवा लेखकहरु। तीमध्ये पाँच कविलाई ‘क्याफे कविता' शृंखलाका लागि काठमाडौंका उत्साही कविले यहाँ निम्त्याएका हुन्।
विनोद प्रधान तीमध्ये एक हुन्, जो राज्यभाषा बंगाली भएको दार्जिलिङमा बसेर नेपाली र अंग्रेजी भाषामा कविता लेख्छन्। भारतीय नेपालीले सामना गर्नुपरेको पहिचानको संकटलाई पछिल्ला कविहरुले लेखनको विषयवस्तु बनाउँदै आएको उनी बताउँछन्।
विनोदको खास घर विजनवारी हो। उनी अध्ययन सिलसिलामा दार्जिलिङ बस्छन्। त्यसअघि दुई बर्ष दिल्ली बसेका थिए। दिल्लीमा रहँदा थुप्रै दुःख कष्ट व्यहोरेको बताउने उनी भन्छन्, ‘भारतमा हामी नेपालीभाषीलाई कसैले गन्दैन, भोजन र भाषादेखि कला र संस्कृतिका कुरामा ठूलो अन्तर छ।'
तर, पहिलोपल्ट नेपाली राजधानी छिरेका उनको काठमाडौं अनुभव प्रिय बन्दैछ। त्यसैले उनी भन्दैछन्, ‘दिल्ली मेरो देशको राजधानी तर मेरो भाषा चल्दैन, नेपाल मेरो देश होइन तर भाषा चल्छ, यहाँभन्दा अनौठोलाग्दो के हुनु!'
पहिलोपल्टै काठमाडौं आएका प्रदीप ल्वागुन उस्तै भोगाई सुनाउँदैछन् ‘भारत मेरो देश हो तर त्यसको राजधानी पुग्दा मेरो मातृभाषा कामै लाग्दैन, काठमाडौंमा मेरो भाषा काम लाग्छ, तर यो मेरो देश नै होइन।'
तेस्रो आयाम, लीलालेखनजस्ता नेपाली साहित्यमा एकदमै ठूलो वैचारिक प्रभाव छाड्ने आन्दोलनहरु दार्जिलिङबाट सुरु भए। पछिल्लो छिमलका यी कविहरु भने अघिल्लो पुस्ताले काम थुप्रै गरे पनि आफ्नो पुस्ताका लागि खासै उपयोगी नभएको आक्रोश पोख्छन्। ‘उहाँहरुले सिर्जना र विचार धेरै दिनुभयो,' हस्तक्षेप नामक साहित्यिक आन्दोलन चलाइरहेका मनोज भन्छन्, ‘तर भारतमा बस्ने नेपालीवासीहरुको जीवन त्यसमा प्रतिविम्बित हुन सकेन।'
राजधानी काठमाडौंमा दैनिक हजारौं मानिस भित्रिन्छन्, बाहिरिन्छन्। त्यो भीडमा कतिको पहिचान हुन्छ, कत्तिको हुँदैन। सहरको भीडमा मात्रै नभई सिंगो भारतमै ‘पहिचान खोजिरहेका' यी स्रष्टा तीन दिनदेखि यही भीडमा दौडिरहेका छन्। तर, भारतमा जस्तो उनीहरुलाई काठमाडौंले बिरानो ठानेको छैन। उनीहरुले पनि ठानेका छैनन्।
राजनीतिले कोरेको सीमारेखालाई दुवैतिरका स्रष्टाले पर्खाल ठानेका छैनन्। यी स्रष्टाले काठमाडौंलाई काव्यिक शहर मात्रै ठान्दैनन्, आफ्नो पुर्ख्यौली इतिहास जोडिएको मूलथलो मान्छन्। कविता सुनाउन, गीत गाउन, सिनेमा खेल्न, नाटक हेर्न दार्जिलिङबाट हूलका हूल सर्जक यता आइरहन्छन्। तर, पछिल्लोपल्ट आएका यी पाँच तन्नेरी स्रष्टा धेरै अर्थमा फरक छन्।
‘बाउको पसिना' कृति सार्वजनिक गरिसकेका लेखनाथ सापकोटा पनि टोलीमा छन्। साहित्य जगतमा हलचल मच्चाउने थुप्रै आन्दोलन दार्जिलिङबाटै सुरु भए पनि तिनले ठोस उपलव्धि नदिएको उनको ठम्याई छ। ‘त्यसैले हामी जुर्मुराउँदैछौं' किनारीकरण गरिएको आफ्नो नेपाली समुदायप्रति प्रतिवद्ध उनले सुनाए, ‘भारतको मूलधारमा हामीलाई समेटिनुपर्छ भन्ने मान्यता हो, त्यसनिम्ति हामीले आफ्ना रचनालाई आम पाठकमाझ फैलाउनेछौं।'
धेरैजसो पाठकलाई हाउगुजी लाग्ने आयामेली र लीलालेखनले दार्जिलिङे साहित्य क्लिष्ट बनेको थियो। मानिसहरुमा पठन संस्कृति घटेको थियो। तर, यी तन्नेरी कवि त्यो क्लिष्टता तोड्दै आफ्ना रचना सबै उमेर, सबै जाति र सबै वर्गका पाठकमाझ पुर्यादउन जुर्मुराएका छन्। लेखनमा छरितो र सरलपन भित्याउँदै साहित्यलाई सबैले बुझ्ने पार्न उनीहरुको प्रयास जारी छ।
दार्जिलिङमा सन् पचासको दशकदेखि अस्थिर बनेको राजनीति र नेपालीभाषीले मागिरहेको अधिकारबारे काव्यिक टोलीका अगुवा मनोज सचेत छन्। कविता वाचन गर्न दुईपल्ट नयाँ दिल्ली जाँदाको अनुभव उनलाई अझै तितो लाग्छ। त्यहाँ मनोजको लेख्य भाषा (नेपाली) चलेन, अनुवाद गर्नुपर्योक। देश आफ्नै थियो तर लाखौं नेपालीजस्तै उनी पनि नयाँ दिल्लीसँग ‘कनेक्ट' हुनै सकेनन्। त्यो घटनाले उनलाई छर्लङ्ग बुझायो– दार्जिलिङमा किन भइरहँदो रहेछ आन्दोलन र किन गुञ्जिइरहँदो रहेछ गोर्खाल्यान्ड नारा भन्ने।
‘राजनीति जति जति अस्थिर बन्छ, साहित्य सिर्जना गर्ने उर्जा त्यसैबाट मिल्छ' दोस्रोपल्ट काठमाडौं आएका उनले भने, ‘दैनिक जीवनमा आइपर्ने अप्ठ्यारा र झेल्नुपर्ने परिस्थिति नै हाम्रा कविताका स्रोत हुन्।' दार्जिलिङमा युवा कविले समसामयिक विषयमा सरल शैली अपनाएर काव्य पस्किन थालेपछि पाठक थपिँदैछन्। छलफल र बहस बढ्दैछन्। त्यसैले दार्जिलिङको चौघेरा नाघेर उनीहरु कहिले सिक्किम पुग्छन्, कहिले असम लाग्छन्। नेपाल आउन पाउँदा झनै रमाउ“छन्।
‘काँकडभिट्टा आएर काठमाडौंको बस चढ्यौं,' निमा भन्छन्, ‘मेची तरेर आउँदा कुनै असुरक्षाको अनुभूति हुँदैन, भारतकै अर्को प्रान्तमा जाँदा बरु हुन्छ। भाषा भनेको निकै बलियो कुरा रहेछ। जसले हामीलाई जोडेको छ।'
प्रकाशित: १९ वैशाख २०७१ २२:०२ शुक्रबार




