लुम्बिनी गुरुयोजनाअन्तर्गत केन्द्रीय नहर बनेको छ, लुम्बिनी आउने पर्यटक अहिले यही नहरमा डुंगा चढेर मायादेवी मन्दिर दर्शन गर्न जान्छन्। डुंगाबाट झर्नेबित्तिकै मायादेवी मन्दिर जाने बाटो पनि अहिले चिटिक्क छ। मन्दिर वरिपरिको चिटिक्कको फुटपाथले मायादेवी मन्दिरलाई निकै सुन्दर बनाएको छ।
प्रोफेसर केञ्जो टांगेले साढे तीन दसकअघि तयार गरेको लुम्बिनी गुरुयोजना पूरा गर्न पछिल्ला वर्ष धेरै काम भएका छन्। लुम्बिनीको विकासमा भविष्य देखेका धेरैमा अहिले आशा बढेको छ। टांगेले बनाएको लुम्बिनी गुरुयोजनाको अहिलेसम्म ६० प्रतिशत हाराहारी काम पूरा भएको जानकारी कोष प्रशासनले दिए पनि पछिल्ला दिनमा लुम्बिनीमा सबैले महसुस गर्ने खाले विकास भएको पाइन्छ। कोषको क्षेत्रको वरिपरि १६ किमि क्षेत्रमा तारबार लगाउने काम आगामी एक वर्षभित्र सकिने छ। पवित्र उद्यान वरिपरि पोखरी निर्माण गर्ने काम सम्पन्न भएको छ। व्यवस्थित बसपार्क, पुराताŒिवक भवन निर्माणका काम सकिएका छन्।
लुम्बिनीको विकासका लागि सबैतिरबाट परेको चासोले सरकारलाई विकासमा ध्यान केन्द्रित गर्न दबाब परेको छ। लुम्बिनीको विकासमा सरकारको ध्यान केन्द्रित गर्न पा“च वर्षअघि संसदले संकल्प प्रस्ताव पारित गरिसकेको छ। केही वर्ष अघिसम्म एक–दुई करोड मात्रै बजेट छुट्टिदै आएकोमा पछिल्ला वर्षमा सरकारले विनियोजन गर्ने बजेट बढेको छ। यस वर्ष १९ करोड रुपैंयाँ बजेट विनियोजन भएको छ। बजेट विनियोजन बढेकाले लुम्बिनी गुरुयोजना अनुसार पूर्वाधार विकासका काम धमाधम भइरहेको लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराई बताउ“छन्।
मायादेवी मन्दिर बनेयता हरेक वर्ष लुम्बिनी आउने पर्यटक २५ प्रतिशतले बढिरहेका छन्। लुम्बिनी विकासका लागि पछिल्ला दिनमा अन्तर्राष्ट्रिय क्षेत्रले पनि चासो राख्न थालेको छ। दक्षिण कोरियाका प्रो क्वाक नेतृत्वको टोलीले प्रो टांगेको लुम्बिनी गुरुयोजनालाई असर नपर्ने गरी लुम्बिनी शान्ति शहरको योजना अघि सारेको छ। लुम्बिनीको विकासका लागि अहिले चालिएका प्रयासलाई तीब्रता दिने हो भने यस क्षेत्रको कायापलट हुने छ। 'लुम्बिनीको विकासले रुपन्देहीको मात्रै नभएर मुलककै आर्थिक समृद्धिको ढोका खुल्नेछ,' पूर्वअर्थसचिव रामेश्वर खनाल भन्छन्।
पछिल्ला केही वर्षयता पर्यटकको आगमन उत्साहजनक ढंगले बढेकाले यस क्षेत्रमा होटल खोल्ने लहर चलेको छ। लुम्बिनीमा धमाधम होटल खोल्ने सिलसिला तीन वर्षदेखि बढेकोे छ। यो क्रम अहिले सिमावर्ती सहर भैरहवा हुँदै बुटवलसम्म पुगेको छ। पर्यटकका लागि सुविधासम्पन्न होटल खोल्न लुम्बिनी आसपासमा जग्गा खरिद गर्ने व्यवसायी धेरै छन्। पोखरा र काठमाडौंका होटल व्यवसायीका लागि अब लुम्बिनी लगानीको केन्द्र बनेको छ।
भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्डको बनाउने काम सुरु भएको छ। गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय मापदण्डको हुनेबित्तिकैै लुम्बिनीको पर्यटनले फड्को मार्ने छ।
लुम्बिनी आउन चाहने संसारभरका बौद्धमार्गीका लागि हुने सिधा सम्पर्कको लाभ यस क्षेत्रको पर्यटन व्यवसायले लिनेछन्।
सन् २०१७ मा निर्माण सम्पन्न गर्ने गरी गौतम बुद्ध विमानस्थल विस्तारको काम अघि बढ्दैछ। विमानस्थल विस्तारका लागि अहिले टेन्डर प्रक्रिया अघि बढेको छ। गौतमबुद्ध विमानस्थल स्तरोन्नति परियोजना प्रमुख मुरारी भण्डारीका अनुसार असारसम्म टेन्डर प्रक्रिया सकिन्छ। त्यसपछि निर्माणको काम सुरु हुन्छ। योे विमानस्थल विस्तार परियोजना आठ अर्ब रुपैयाँको हो।
इस्लामको भ्याटिकन सिटी, मुस्लिमको मक्कामदिना, हिन्दुहरूका लागि चारधाम पवित्र स्थल भएजस्तै बौद्धमार्गीका लागि बुद्ध जन्मस्थल लुम्बिनीप्रति अगाध श्रद्धा र आस्था छ। लुम्बिनीलाई केन्द्रविन्दु मानेर बुद्धसँग सम्बन्धित नवलपरासीको रामग्राम, कपिलवस्तुको तिलौराकोट र रुपन्देहीको देवदहलाई समेटेर अघि सारिएको बृहत् लुम्बिनी विकासको अवधारणा जति छिटो कार्यान्वयन गर्योो उति यस क्षेत्रको विकासले फड्को मार्नेछ। रामग्राम, तिलौराकोट र देवदह र लुम्बिनीलाई समेटेर बौद्ध परिपथको अवधारणा अनुसार सडक विस्तारको काम भइरहेको छ।
लुम्बिनीको पर्वद्धन गर्न विभिन्न मुलुक पुगेर फोटो प्रदर्शनी गरेका पत्रकार चेतन पन्त लुम्बिनीको पूर्वाधार विकासमा नेपालले ध्यान दिनेबित्तिकै आर्थिक समृद्धिको ढोका खुल्ने बताउ“छन्। 'बौद्धमार्गीमात्रै नभएर अरुको ध्यान पनि लुम्बिनीमा तानिएको छ,' उनले भने।
लुम्बिनी बौद्ध पर्यटनका दृष्टिले जति सम्भावनायुक्त छ, यो क्षेत्रलाई प्राकृतिले पनि त्यत्तिकै साथ दिएको छ। संसारकै दुर्लभ पंक्षी सारसको बासस्थान लुम्बिनी हो। चराविद् डा. हेमसागर बरालका भनाईमा नेपालमा चराको मुख्य बासस्थान भएका २७ केन्द्रमध्ये २० वटा संरक्षित क्षेत्रमा छन्। संरक्षित क्षेत्रभन्दा बाहिर रहेका सात केन्द्रमध्ये लुम्बिनीको कृषिक्षेत्र निकै महत्वपूर्ण छ। रुपन्देही र कपिलवस्तुमा ४ सय प्रजातिका चरा पाइन्छन्। तीमध्ये १२ प्रजातिका दुर्लभ चराको बासस्थान यहीँ छ।
लुम्बिनीमा चरा पर्यटनको पनि उत्तिकै सम्भावना छ। लुम्बिनी बसेर चराबारे अध्ययन गरिरहेका चराविद् दिनेश गिरीका अनुसार लुम्बिनीको कृषि क्षेत्रमा पाइने चरा अध्ययन गर्न आउने विदेशी बर्षेनी बढिरहेका छन्। अत्यधिक र मनपरी विषादीको प्रयोग कृषि क्षेत्रको चराका लागि जोखिम बनेकाले नियन्त्रण आवश्यक रहेको उनको भनाइ छ।
शैक्षिक केन्द्र बन्दै
रुपन्देही पश्चिम नेपालकै प्रमुख शैक्षिक केन्द्रको रूपमा स्थापित हुँदैछ। बुटवल पछिल्ला दिनमा काठमाडौंपछि प्रमुख शैक्षिक हब बनिरहेको छ। गुणस्तरीय शिक्षा दिने स्कुल र प्लस टु खुलेपछि पठनपाठनका लागि भारत र राजधानी जानै पर्ने बाध्यता हटेको छ। काठमाडौंभन्दा धेरै सस्तोमा गुणस्तरीय शिक्षाका लागि बुटवलले पहिचान बनाइसकेको छ। रुपन्देहीलाई मुलुककै शैक्षिक केन्द्र बनाउन सकिने सम्भावना रहको प्याब्सनका केन्द्रीय उपाध्यक्ष एवं न्यु होराइजन उच्चमाविका संस्थापक प्राचार्य लोकनाथ उपाध्यायको भनाइ छ।
लुम्बिनीमा स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालयमा यो वर्षदेखि पठनपाठन सुरु भएको छ। विश्व शान्ति केन्द्र लुम्बिनीमा बसेर बौद्ध दर्शन अध्ययन गर्न चाहने विद्यार्थीका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय उपयुक्त हुनसक्छ। लुम्बिनी विश्वविद्यालय केन्द्रीय क्याम्पस, लुम्बिनीका क्याम्पस प्रमुख इन्द्र काफ्लेका भनाइमा राज्यले विश्वविद्यालयको पूर्वाधार विकास र शैक्षिक विकासमा ध्यान दिने हो भने विश्वविद्यालय अन्तर्राष्ट्रिय क्षेत्रका विद्यार्थीको आकर्षण केन्द्र बन्न सक्छ।
औद्योगिक विकासको सम्भावना उस्तै
बुटवल औद्योगिक क्षेत्र विस्तारका लागि यहाका उद्योगी व्यवसायीले निरन्तर लबिङ गरिरहेका छन्। बुटवल औद्योगिक क्षेत्रमा अहिले ६२ वटा उद्योग छन्। औद्योगिक क्षेत्रको दक्षिणपट्टिको २ सय ४० रोपनी र उत्तरपट्टिको ३ सय रोपनी वन क्षेत्रलाई औद्योगिक क्षेत्र बनाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले चार वर्षअघि गरेको प्रस्तावलाई कार्यान्वयन गर्न बुटवल उद्योग बाणिज्य संघ र रुपन्देही उद्योग संघलगायतका संघसंस्थाले निरन्तर दबाब दिँदै आएका छन्। बुटवल औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न ३ सयभन्दा बढी निवेदन परेको बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ। बुटवल उद्योग वाणिज्य संघले तिनाउ नदीको किनार मोतीपुरमा औद्योगि क्षेत्रको प्रस्ताव गरेको छ। रुपन्देही उद्योग संघले औद्योगिक सहकारी स्थापना गरेरर सिक्टहनमा २८ बिघा जग्गा खरिद गरेको छ। 'सरकारले औद्योगिक क्षेत्र स्थापना गर्न चासो नदेखाएपछि व्यवसायी आफैं अग्रसर भएका हुन्,' रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष एंव नेपाल उद्योग परिसंघका सदस्य एजाज आलमले भने।
निर्यातजन्य उद्योग स्थापना गर्ने उदेश्यले भैरहवामा ५२ बिघा क्षेत्रफलमा फैलिएको विशेष आर्थिक क्षेत्र छिट्टै सञ्चालन गर्ने तयारी गरिएको छ। पूर्वाधार निर्माणका करिब सबै काम सकिएकाले अब सञ्चालनका लागि कार्यविधि र संसदबाट विशेष आर्थिक क्षेत्र सञ्चालन विधेयक पारित भएपछि बाटो खुल्ने छ। 'विशेष आर्थिक क्षेत्र सञ्चालनका लागि निरन्तर दबाब दिइरहेका छौं,' सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु शर्माले भने, 'विशेष आर्थिक क्षेत्र सञ्चालन भए यस क्षेत्रको औद्योगिक विकासले फड्को मार्ने छ।'
प्रकाशित: ११ वैशाख २०७१ ०१:२२ बिहीबार





