मोबाइलको टेलिघनत्व मात्र होइन, इन्टरनेट सेवाको घनत्व पनि बढ्दै गएको छ। इन्टरनेट प्रयोगकर्ता बढेकै कारण विश्व बजारमा देखिने प्रविधि तुरुन्तै नेपाली बजारमा भित्रिने गरेका छन्। घरेलुदेखि कार्यालयका कामसमेत प्रविधिको भरमा हुन थालेको छ।
कुनै समय यस्तो थियो, अफिस छिर्दा हाजिरी पुस्तिकामा कलमले चिनो लगाएर हाजिरी भएको जनाऊ दिनुपर्थ्यो। अहिले अधिकांश अफिसमा इलेक्ट्रोनिक माध्यमबाट हातको औंला छुवाएर हाजिर गर्ने चलन छ। यसले कति बजे आएको र कति बजे गएकोसमेत रेकर्ड राख्छ। दशकअघि प्रविधिमा अभ्यस्त नभएकाहरू पनि अचेल प्रविधिविना बाँच्नै नसक्ने भइसकेका छन्। किनमेलदेखि रेस्टुरेन्टमा खाएको बिलसमेत कार्डबाट तिर्न सकिन्छ। बिजुली, टेलिफोन या अन्य कुनै सरकारी कार्यालयमा कर तिर्न जाँदा धुलाम्मे फाइल पल्टाइरहनुपर्दैन। कर्मचारीले कम्प्युटरको किबोर्डमा औंला चलाएर करदाताको हिसाबकिताब निकाल्छ। बैंकको काउन्टर मोबाइलमा खुम्चिएको छ। घरैबाट इन्टरनेट बैकिङ सेवा लिन सकिन्छ। दैनिकी बन्दै गएको प्राविधिक विकासबाट नेपाली समाज अभ्यस्त हुँदै गएका उदाहरण हुन् यी।
यतिमात्र होइन, ल्यापटप, ट्याब, नोटबुक लगायत पछिल्ला इलेक्ट्रोनिक उपकरणको प्रयोग बढ्दो छ। प्रविधिमा अभ्यस्त पुस्ताले आफ्नो ग्याजेटबाटै मनोरञ्जन लिन्छन् र त्यसैलाई 'भर्चुअल टिचर' मान्छन्। ग्याजेटमा विभिन्न एप्स र सफ्टवेयरमार्फत आफूलाई चाहिएका सामग्री खोज्ने क्रम बढ्दै गएको छ।
सरकार उदारीकरण र निजीकरण नीतिमा गएपछि दूरसञ्चार सेवामा निजी क्षेत्रको प्रवेशसँगै प्रविधि प्रयोगले फड्को मारेको हो। दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार नेपालमा टेलिघनत्व ८६.८२ प्रतिशत पुगेको छ। इन्टरनेट सेवाको घनत्व ३०.७ प्रतिशत छ। इन्टरनेट सेवाप्रदायक ४३ पुगेका छन् भने मोबाइल सेवाप्रदायक ६ पुगिसकेका छन्। ग्रामीण दूरसञ्चार सेवाप्रदायकबाट स्थापना गरिएको पिसिओको संख्या २ हजार ६ सय ४८ पुगेको छ। ग्रामीण Ôेत्रमा दूरसञ्चार सेवाको विकास विस्तारका लागि स्थापना गरिएको कोÈमा ८ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको छ। टेलिकम सेवाप्रदायकको वार्षिक नाफाको २ प्रतिशत जम्मा हुने उक्त कोष ८ अर्ब पुग्नुले पनि दूरसञ्चार क्षेत्रले मारेको फड्को सहजै अनुमान गर्न सकिन्छ।
प्रविधिले सेवा मात्र दिएको छैन, व्यवसायीलाई व्यापार पनि दिएको छ। मोबाइलका लागि एप्सदेखि विभिन्न कम्पनीका ठूला सफ्टवेयर निर्माण नेपालमै हुन थालेको छ। मौसम, विभिन्न खेल, समाचारमूलक, ज्ञानबर्द्धक सामग्री, नेपाली गीत, शब्दभण्डार, रेडियो, यात्रा, स्थानलगायत विभिन्न एप्स निर्माण भएका छन्। एन्ड्रोइडका लागि लोडसेडिङ, नेपाली पात्रो, हाम्रो पात्रो, रेडियो नेपाली, बुद्ध कोट्स, थि्रडी नेपाली फ्लाग, माई नेपाल, बुद्ध लाइभ वालपेपर, नेपाली सङ लिरिक्स, अंग्रेजी–नेपाली शब्दकोष, नेपाली अनुवाद, नेपालीको आज, नेपाली रेसिपी, बाघचाल, नेपाली क्विज लगायत एप्स धेरै डाउनलोड हुनेमा पर्छन्। आइफोनका लागि बत्ती गयो, नेपाली क्यालेन्डर, नेपाली न्युज, नेपाली एफएम, टाइप नेपालीलगायत एप्स चर्चित छन्।
सफ्टवेयर निर्माणको क्रम पनि बढ्दो छ। नेपाली डेभलपरले निर्माण गरेका सफ्टवेयर देशभित्र मात्र होइन, बाहिर पनि प्रयोग हुन थालेका छन्। विदेशी कम्पनीले सफ्टवेयर निर्माणका लागि नेपाली कम्पनीलाई प्रस्ताव गर्ने समय आएको छ। यस्ता आउटसोर्सिङमार्फत सफ्टवेयर निर्माणको काम बढ्दै गएको छ। मोबाइल एप्लिकेसनदेखि स्वास्थ्य, शिक्षा, वित्तीय लगायत विभिन्न व्यापारिक प्रयोजन, सरकारी कामका सफ्टवेयर निर्माण बढेका छन्।
सामान्तया नेपाली कम्पनीले निर्माण गरेका सफ्टवेयर १० हजारदेखि ५० हजार रुपैयाँसम्म पर्छ। अहिले नेपालमा २ सय ५० भन्दा बढी सफ्टवेयर कम्पनी छन्। विदेशबाट काम ल्याएर गर्ने आउटसोर्सिङ कम्पनी ५० हाराहारी छन्। यी कम्पनीले वार्षिक ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने व्यवसायी बताउँछन्। दुई अर्ब रुपैयाँ त आउटसोर्सिङको मात्र कारोबार हुने व्यवसायीको अनुमान छ। डिरवाल्क सर्भिस, एफवानसफ्ट, ब्रेनडिजिट, स्प्राउट टेक्नोलोजी, वेभसर्च प्रोफेसनल, योमोरी, क्याउड नेपाल, जानकी टेक्नोलोजी, कारखाना, विरुवाजस्ता आइटी कम्पनीले सूचना प्रविधि क्षेत्रमा योगदान पुर्या इरहेका छन्।
कम्प्युटर एसोसिएसन अफ नेपालका अध्यक्ष विनोद ढकाल नेपालमा चौतर्फी सूचना प्रविधिको विकास भइरहेको बताउँछन्। 'सूचना प्रविधिको विकासमा मोबाइल र इन्टरनेटकै बढी योगदान छ, हातहातमा मोबाइल पुग्नु नै यस क्षेत्रको विकासको रूप हो,' उनले भने।
प्रकाशित: ११ वैशाख २०७१ ०१:०१ बिहीबार





