काठमाडौं– लेखक कुमार नगरकोटीको कथा संग्रह ‘फोसिल' लाई २०१३ को ‘वर्ष पुस्तक' पुरस्कार प्रदान गरिएको छ । २५ हजार रुपैयाँ राशीको पुरस्कार नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघले प्रदान गरेको हो। विश्व पुस्तक दिवसको अवसर पारेर बुधबार अभि सुवेदीले पुरस्कार प्रदान गरे।लाजिम्पाटस्थित डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालयमा आयोजित समारोहमा पुस्तक प्रकाशक ‘नेपालय' लाई पनि सम्मानित गरिएको थियो। संघले गत वर्ष विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका बेला पुरस्कारको घोषणा गरेको थियो। सिर्जनात्मक कृतिलाई प्रोत्साहन गर्न पुरस्कार व्यवस्था गरिएको अध्यक्ष वसन्त थापाले बताए।
‘संघका सदस्यमध्येबाट वर्षभरि छापिएका पुस्तकमध्ये उत्कृष्ट आख्यानलाई पुरस्कारको व्यवस्था गरिएको हो,' महासचिव लिखत पाण्डेले भने, ‘प्राप्त कृतिमध्ये अन्तिम दसवटा पुस्तक निर्णायक मण्डललाई उपलब्ध गराएका थियौं।'
पुरस्कारको निर्णय गर्नका निम्ति तीन सदस्यीय निर्णायक मण्डल बनाइएको र उनीहरुले बेग्लाबेग्लै भरेर पठाएको मूल्यांकनकै आधारमा अन्तिम निर्णय लिइएको पाण्डेले जानकारी दिए।
‘यो पुरस्कार पाउने म निमित्त मात्र हुँ,' पुरस्कृत भएपछि नगरकोटीले भने, ‘मेरो पुस्तक हिरो हो भने म साइड हिरो मात्र।'
प्रकाशित: १० वैशाख २०७१ २१:३७ बुधबार