उनले धेरै बानीहरु सियरा मायेस्त्राबाट अनुकरण गरेकाले उनको त्यो विम्ब र किस्सामा केही सत्यता छ। आफ्ना लामा भाषणहरुले मात्रै उनी चर्चित भएका होईनन्। १५ वर्षसम्म पनि उनको न आफ्नो घर थियो, न कार्यालय। न त कुनै निश्चित दैनिकी नै। उनी जहाँ छन्, सरकारी कार्यालय त्यहीं हुन्थ्यो।
अहिले विलकुल फरक छ। आफ्नो चारित्रिक संवेग र जोशबाट अलिकति पनि पछि नहटी उनले आफ्नो जीवनमा अलिकति अनुशासन लादेका छन्। पहिले पहिले उनी जहाँ थाक्थे, त्यहीं यसो आँखाको विष मार्थे। यसरी उनको दिन रात एकै सरह बित्थ्यो। अहिले उनी नियमित कम्तीमा ६ घन्टा सुत्ने प्रयास गर्छन्। तर, उनैलाई थाहा छैन, त्यो सुत्ने बेला चाहिं कहिले आउँछ। कामको प्रकृति अनुसार उनको सुत्ने समय राती १० वजे पनि हुनसक्छ र विहान ७ वजे पनि।
दैनिक कार्यतालिकाको काममा लिन भएर उनी कार्यालयमा घन्टौं बिताउँछन्। कार्यालयमा एकदम व्यवस्थित सँग मिलाईएको फर्निचर र पुस्तक दराज छ। दराजका पुस्तकहरुले बृहत क्षेत्रलाई प्रतिबिम्बित गर्छन्। यहाँ पानी, वालि लगाउने प्रविधिदेखिका रुमानी उपन्यासम्म छन्। क्रिस्टोफ र कोलम्बसले सूर्ती पत्ता लगाएको देश क्युबामा धुमपान विरुद्ध लड्ने नैतिक धरातल बनाउन दैनिक आधा बट्टा सिगार तान्ने क्यास्ट्रोले अहिले पूर्ण रुपमा धुमपान त्यागेका छन्।
तिव्रगतिमा शरीरको ओजन बढ्दै गएपछि उनी स्थायी रुपमा नै खाना कटौती गर्न वाध्य भएका छन्। एक आइतबार विहान उनले खानामा १८ स्कुप आइसक्रिमका साथ ठूलै भाग लडाए। उनी उमालेको तरकारीसँग माछाको परिकार रुचाउँछन्। सँधैजसो पौडी खेलेर अनि केही घन्टा जिममा बिताएर शारीरिक रुपमा तन्दुरुस्त रहन्छन्। आफूलाई एक गिलास ह्विस्कीमा सीमित राख्छन्। उनले आफूले बनाउन जानेको म्याक्रोनीप्रतिको कमजोरी नियन्त्रणमा लिन सकेका छन्। पौराणिक कथाको नायक जस्तो उनको क्षणिक आवेग अतितको कुरा भइसके। अत्यन्त धैर्यताको साथ उनले आफ्नो खराब मुड सम्हाल्न सिकेका छन्।
उनले एकपटक भने – ‘अर्को जन्ममा म लेखक हुनुपर्यो।'
उनी एकदम राम्रो लेख्छन्। त्यसमा आनन्द लिन्छन्। गुडिरहेको कारमा पनि मनमा जे आउँछ त्यही नोटवुकमा लेखिरहन्छन्। कहिलेकाहिं व्यक्रिगत चिठीहरु पनि लेख्छन्। सामान्य कागजका ती नोटबुकहरु निलो प्लाष्टिकमा बेरिएका हुन्छन्। उनले लेख्ने अक्षर एकदम साना हुन्छन्। सुरुमा हेर्दा त स्कुले केटाकेटीको जस्तो देखिन्छ। पूर्ण व्यवसायिक लेखकले झैं लेख्छन् उनी। कुनै शब्दावलीलाई धेरै पटक सच्याउँछन्, केरमेट गर्छन्, कापीको मार्जिनमा फेरी लेख्छन्। कुनै सही शब्दको खोजीमा शब्दकोष पल्टाउँदै वरिपरिकालाई सोध्दै दिन बिताउँछन्।
तर एउटा कुरा निश्चित छ, उनी जहाँ भएपनि, जस्तो र जोसँग भएपनि गफमा जित्ने फिडेल क्यास्ट्रो नै हुन्। उनी भन्दा अरु कोही खराब हरुवा यो दुनियाँमा कल्पना गर्न सक्दिन। दैनिक जीवनको सामान्य घटना लगायत अन्य पराजयको सम्मुखमा उनको भाव हेरिनसक्नुको हुन्छ। उनी पराजय स्विकार्न त परै जाओस् बरु परिस्थितिका शर्तहरु नै बदलेर त्यसलाई वियमा नढालेसम् चैनको सास लिंदैनन्।
जे सुकै होस् र जहाँसुकै होस् सबैकुरो अथक गफगाफको सीमाभित्रै सकिन्छ। स्रोतको रुचिअनुसार गफको विषय जे पनि हुन्सक्छ। तर, उनी बिस्तारै आफ्नो रुचिको विषय तर्फ गफ मोड्न थाल्छन्। प्रायजसो उनलाई धेरै दिनदेखि मथिंगल खाइरहेको बिचार खोतल्ने बेलामा यस्तो हुन्छ।
उनलाई पहिलोपल्ट भेट्ने विदेशी पाहुनाले केही वर्ष पहिले मलाई भन्थे – ‘फिडेल अब बुढा भएछन्। एउटै विषयमा उनले राती ७ पटकसम्म कुरो निकाले।' मैले उनलाई सम्झाएँ। यो बहुलठ्ठीपूर्ण लाग्ने कदम उनको काम गर्ने तरिका हो। दक्षिण अमेरिकामा विदेशी ऋणबारेको गफमा उनले दुई वर्ष अगाडि पहिलोपल्ट कुरो उप्काएका थिए। त्यसपछि त्यो विषय बढ्यो, हाँगाबिंगा फैलिए। अझ मजबुत भयो र अन्तमा यसले बारम्बार दोहोरिने डरलाग्दो सपनाको रुप लियो। समान्य अंक गणितीय निश्कर्षको शैलीमा उनले पहिलो कुरो भने –’यो ऋण तिर्नु पर्दैन।'
कुनैपनि अनावश्यक शब्दले अपुरणीय क्षती हुने डरले उनी निकै तौलेर बोल्छन्। औपचारिक अन्तर्वार्ताहरुमा उनी तोकिएको समय दिन्छन्। तथापी उनको अनिश्चित लचकताले गर्दा समय प्रायः लम्बिन्छ। तर, उनको वार्ताचाहिं गफ जसरी चल्नुपर्छ। कुनै विशेष परिस्थितिमा मात्रै उनी पहिले प्रश्नहरुको फेहरिस्त माग्छन्। कहिेकाहीं पूर्वनिर्धारित समय दुईबाट बढेर चार वा लगभग ६ घन्टै पुग्छ। अझ १७ घन्टा पनि पुग्नसक्छ।
कुनै भौतिक उपलब्धी होईन बरु जीवनमा चेतना र नैतिक प्रेरणाको निर्माण नै सबैभन्दा ठूलो मानवीय उपलब्धी हो। यसैले संसार परिवर्तन गर्न सक्छ। र, इतिहासलाई अघि बढाउँछ भन्ने कुरामा उनी रहस्यमय तरिकाले दृढ छन्। उनी हाम्रो समयका सबैभन्दा ठूला आदर्श हुन् भन्ने मलाई विश्वास छ। हुनत यो नै उनका लागि सबैभन्दा ठूलो खतरा हो। सायद, यो नै उनको सबैभन्दा ठूलो गुण हो।
(क्युबाका कम्युनिष्ट नेता फिडेल क्यास्ट्रोको पुस्तक ‘मेरो युवाकाल'मा मार्खेजद्वारा लिखित भूमिकाको संपादित अंश)
प्रकाशित: ६ वैशाख २०७१ ००:४४ शनिबार





