६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

मोबाइल चोरलाई केही सुझाव

समयले अकल्पनीय छलाङ मारिसकेछ। कुनै बेला, यही भू–परिधिमा रामले खराउ फुकालेर त्यत्तिकै छाडिदिँदा पनि कसैको गिद्धेनजर लाग्दैनथ्यो। सकुशल नै रहन्थ्यो खराउ। तर, अचेल समय यति परिवर्तित भइसकेछ कि, अलपत्र छाडिएको खराउ चोरी नहुने यही भू–परिधिमा हालसालै जतनसाथ, स्नेहपूर्वक खल्तीभित्र राखिएको मेरो मोबाइल चोरी भयो।

चोरको चंगुलमा फसेको मेरो मोबाइलप्रति अहिले म केबल सहानुभूति प्रकट गर्न सक्छु। तर, मोबाइल चोरी भएपछि म त्यत्तिकै निष्त्रि्कय भएर बसिनँ। केही भिन्न–भिन्न क्षेत्रका विद्वत् वर्गसित परामर्श चलाउन उचित ठानेँ। मलाई के कुरा बुझ्नुथियो भने, आखिरमा मेरो मोबाइल कुन अभिप्राय र उद्देश्यअनुरूप चोरिन पुगेको हो? चोरले केबल मजाकका लागि मेरो मोबाइल अवश्य नै चोरेको होइन होला।
सुरुमा मैले एक जना दार्शनिकलाई सोधेँ– 'मेरो मोबाइल चोरी हुनुको कारण के हुन सक्छ?'
एकछिन गम्भीर र शान्त मुद्रामा उभिँदै ती दार्शनिकले मोबाइल चोरीको कारण खोतल्न चाहे– 'यो एउटा नियमित आकस्मिकता हो। पहिला यो संसारमा मोबाइल त के टेलिफोन भन्ने जिनिस पनि थिएन। टेलिफोनको लामो विकासपछि मोबाइल आयो। त्यही मोबाइल हरेकले बोक्ने क्रमसँगै तपाईंले पनि बोक्नुभयो। प्रविधिको तीव्र विकाससँगै नयाँ–नयाँ मोडेलका मोबाइलहरू आए। त्यसपछि, नयाँ मोबाइल किन्न नसक्नेहरूले चोरीको बाटो अपनाए र त्यही क्रम/उपक्रममा तपार्इंको मोवाइल चोरी हुनपुग्यो। यो कुन अनौठो कुरा भयो र † यो त एउटा नियमित आकस्मिकतामात्र हो।' 
दार्शनिक महोदयको तर्क मलाई त्यति पचेन। त्यसपछि म एक जना पुरातत्वविद्कहाँ पुगेँ र त्यही समस्या बिसाएँ। उनले भने– 'म अहिले तिरौलाकोटमा व्यस्त छु। त्यहाँका बौद्धकालीन खण्डहरहरूको उत्खननमा लागिपरेको छु। मलाई के विश्वास छ भने, त्यहाँको उत्खननबाट केही न केही नयाँ रहस्य उद्घानटित हुनेछ। उक्त उत्खननको क्रममा तपाईंको मोबाइल भेटियो भने म अवश्य तपार्इंलाई खबर गर्नेछु। बरु, तपाईको मोबाइल नम्बर मलाई टिपाइदिनुस् न।'
जनकपुर–जलेश्वर चल्ने थोत्रा बसका टायरझैँ मेरो दिमाग पनि झन्डै पन्चर भएन। उबडखाबड जबाफहरूले मेरो दिमागलाई पूरै थिल्थिलो बनाइरहेका थिए र करिब–करिब पञ्चर हुने स्थितिमा पुगेको थियो। तर, कुनै अप्रिय स्थिति भने उत्पन्न भएन। 
पुनः म एक जना अर्थशास्त्रीकहाँ पुगैँ। उनले भने– 'यो चोरी–चकारी भन्ने कुरा आदिम समाजमा थिएन। तर, निजी सम्पत्तिको उत्पत्ति भएपछि भने मानिसहरूमा लालच बढ्न थाल्यो र चोरी, डकैती आदि नराम्रा पक्ष पनि जन्मिए। हेर्नुस्, म एक जना मार्क्सवादी अर्थविद् हुँ। जबसम्म यो संसारमा निजी सम्पत्तिको अस्तित्व रहन्छ, तबसम्म चौरी, डकैती भई नै रहनेछन्। यसलाई हामी कसरी रोक्न सक्छौँ र?'
अब मेरो भेटघाटको पालो थियो, एकजना धर्मगुरुसित। उनले मेरो मुहारतिर गम्भीरतापूर्वक नियाल्दै भने– 'अरे, बबुआ। लोभ, मोह, अहंकार, चिन्ताजस्ता चिजहरू हरेक मनुवाले त्याग्नुपर्दछ। यो संसार बिग्रिएको नै लोभ, मोह आदि कारणहरूले हो। अझ चिन्ता त फिटिक्कै लिन हुँदैन। चिन्ताले हाम्रा सबै सम्भावना समाप्त पारिदिन्छ। तसर्थ, आज तिम्रो मोबाइल हरायो, भोलि कसैको के हराउला। यही चिन्ता, लोभ, मोहमा नै अल्भि्कएर बस्ने हो भने मानिसले प्रगति गर्ने समय चाहिँ कहिले आउला? म त भन्दछु, सबैले आफूबाट चिन्ता, लोभ, मोह, अहंकारजस्ता विकारजन्य पदार्थलाई उखेलेर फ्याँक्नुपर्छ।' 
अब कसकहाँ जाऊँ? के बिन्ती बिसाउँ कि? म पूरै अलमलमा परेँ। जाने ठाउँ सिद्धिएको थियो। तसर्थ, मैले के विचार गरेँ भने, अब म कसैकहाँ पनि परामर्शको स्वाद चाख्न जान्नँ। परामर्शको स्वाद अत्यन्तै तीतो हुने रहेछ, निल्नै मुस्किल पर्ने। यो त निमको पातभन्दा पनि जब्बर तीतो हुने रहेछ। मैले के निश्चय गरेँ भने बरु, एउटा नयाँ मोबाइल किन्नेछु र संसारका नामुद चोरहरूले समेत चोर्न नसक्ने तौरतरिकाले सुरक्षित राख्नेछु। र, जाँदाजाँदै मोबाइल चोरहरूलाई केही सुझाव दिन पनि उचित ठान्दछु। मेरो सुझाव ग्रहण गर्ने जाँगर कुनै मोबाइल चोरले चलाओस् वा नचलाओस्, तर म सुझाव भने दिएरै छाड्छ्ः 
– चोर महोदय, कुनै पनि व्यक्तिको मोबाइल चोर्नुअघि त्यस व्यक्तिको अनुहारको भाषा अवश्य पढ्नुस्। किनकि, त्यो मोबाइल उसले आफ्नै आर्जनले किनेको हो वा कसैले दयास्वरूप दिएको हो, यसबारे बुझ्न केही मात्रामा सघाउ पुर्या उनेछ। 
–कुनै पनि व्यक्तिको मोबाइल चोरिँदा धेरैभन्दा धेरै को चाहिँ खुसी होला? सिर्फ श्रीमती। किनकि, सबैका श्रीमतीले आफ्ना पतिलाई मोबाइल फेर्न बारम्बार सुझाव दिइरहन्छन्। 
–जसरी हरेक पहेँला चिज सुन हुँदैनन्, त्यसरी नै हरेक मोबाइल उच्च कोटीका हु“दैनन्। नक्कली गहना र सक्कली गहना पहिचान गर्न नसकिएजस्तै मोबाइल पनि पहिचान गर्न मुस्किल छ। तसर्थ, सक्कली गहना पहिचान गरेजस्तै मोबाइलको पनि पहिचान गरियोस्।
–अहिले देशमा सबैको संगठन बनेको छ। तसर्थ, मोबाइल चोर महोदयहरू, तपार्इंहरूले पनि एउटा छुट्टै संगठन बनाउनुस्। भोलिका दिनमा मोबाइल चोरीका क्रममा समस्या आउन सक्लान्, चोरहरूप्रति आक्षेप, आक्रोश जन्मिन सक्लान्। त्यस्तो बेला संगठित आवाज उठाउनका लागि संगठन चाहिन्छ नै।

प्रकाशित: ६ वैशाख २०७१ ००:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App