६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

गजुरमुखीको गौरव

स्थान उही तर सौन्दर्य फरक। विश्वास उही तर प्रचार व्यापक। धाम उही तर पहुँच सहज। फेरिँदै गएको गजुरमुखी धामका विशेषता हुन् यी।

जुन आस्था र विश्वासले मानिस दशकौंदेखि गजुरमुखी आउँथे, त्यही विश्वासले अहिले पनि आइरहेछन्। तर, पहिले आउने र अहिले आउनेले यो धाममा ठूलै अन्तर देख्छन्। त्यसको मुख्य श्रेय ‘पञ्जाबी पुजारी' चण्डीप्रसाद कँडेललाई जान्छ, जो गजुरमुखी सुधार्न तल्लीन छन्। 
इलामबाट बग्ने प्रमुख चार खोलामध्येको एक देउमाई किनारमा अवस्थित गजुरमुखीको रूप जसरी फेरिँदैछ, यहाँ आउने दर्शनार्थीको संख्या उत्तिकै बढिरहेको छ। हरियाली चियाबारीको सौन्दर्यमाझ लुकेको इलाममा गजुरमुखीको छुट्टै विशेषता छ। लारुम्बा र माङ्मालुङमा जसरी किरातीको घुइँचो लाग्छ, त्यसरी नै गजुरमुखीमा हिन्दुको धुइरो। अचेल अन्य धर्मावलम्बीमाझ पनि गजुरमुखीको महत्र्व छ। 
‘सन्तान दायिनी, वाक्य दायिनी' भनेर परिचित छ गजुरमुखी। यो इलामको प्रमुख धार्मिक पर्यटकीयस्थल हो। अचेल यहाँ भारतीय पर्यटक पनि भित्रिन थालेका छन्। निःसन्तानलाई सन्तान र बोली नफुटेका बालबालिकालाई बोली दिने धामका रूपमा विश्वास गर्दै दर्शन गर्न केही वर्षपहिले स्वदेशी भक्तजनमात्रै आउँथे। सडक, बिजुली, होटलजस्ता पूर्वाधार तयार भएपछि गजुरमुखीमा भारतीय आउन थालेका हुन्। 
‘नेपाल गए कपाल सँगै, बर्मा गए कर्म सँगै', गाउँघरमा यो उखान अझै प्रचलित छ। हातमुख जोड्ने उपाय खोजीमा बाग्लुङबाट बर्मा पुगेको एउटा परिवारमा जन्मिएका थिए, कँडेल। तत्कालीन राजा महेन्द्रले परदेशिएकालाई महेन्द्रनगरमा पुनर्वास गराएपछि परिवारसँगै ११ वर्षे कँडेल पनि गोवरिया पुगे। काकाको अह्रनखटनमा खोरिया फाँडेर बस्नुपर्ने भयो। चञ्चले उमेरमा जंगलको बास! कँडेललाई त्यो पटक्कै मन परेन।
मनले ‘दास' होइन बरु ‘साधु' हुन अह्रायो। खर्च र योजनाविनै एक भारतीयको पछि लागेर पञ्जाब पुगे उनी। त्यहाँ एउटा घरमा अरू ११ वर्ष भान्से जिन्दगी बिताइदिए। २२ वर्षको लक्का जवान भएपछि पञ्जाबमै पैसावाल काम पाए। त्यहाँ लामो समय काम गरेपछि कँडेल फिरन्ता बनेर चारतिरका देवस्थल डुल्दैछन्। काश्मिरको कठ्यांग्रिने चिसोदेखि ताप्लेजुङको फुइँकी पचाइसकेका उनी अहिले गजुरमुखीमा छन्।
गजुरमुखीलाई हिन्दु धर्मावलम्बीको आस्थाकेन्द्र असमको कामाक्ष देवीकी बहिनी मान्दै गुवाहटी, मणिपुर, कोलकाता, सिलिगुडी, नक्सल र दक्षिणि भारतका पर्यटक भित्रिँदैछन्। गजुरमुखीमा हरेक आइतबार भारतीय पर्यटक आउने पुजारी क“डेल बताउँछन्। भारतीय परिवार र साथीसंगीको समूह बनाएर गजुरमुखी दर्शन गर्न आइपुग्छन्। रिजर्भ गाडी लिएर आउने पनि छन्। कोहीकोही रात बस्ने गरी पनि आउँछन्। 
‘गजुरमुखीको प्रचार फैलिँदै जाँदा भारतीय भक्तजन आउन थालेका हुन्,' पञ्जाबमा ३४ वर्ष नोकरी गरी अवकाशपछि यहाँ पुजारी बसेका क“डेलले भने, ‘मेरै प्रयासले भारतीय भक्तजनका थुप्रै टोली यहाँ आएका छन्।' लुधियानामा ३४ वर्षे नोकरी पूरा गरेपछि काश्मिर, ताप्लेजुङ हुँदै चार वर्षदेखि कँडेल यहाँ छन्। कँडेल ‘पञ्जाबी' अर्थात् भारतीय होइनन्। छातीसम्म लर्किएको दाह्री र बोली त्यस्तो लागे पनि उनी नेपाली हुन्। 
पुर्ख्यौली थलो– बिहुँकोट बाग्लुङ। जन्म– बर्माको रंगून। बुढ्यौली– गजुरमुखी इलाम। त्यसअघि– काश्मिर, पाथीभरा र सुरुंगा। कँडेलको सर्टकर्ट परिचय हो यो। पञ्जाबमै धेरै बसेकाले उनी ‘पञ्जाबी पुजारी' भनेर चिनिन्छन्। ‘जीवनमा नसोचेका कुरा धेरै हुन्छन्, नसोचेरै यहाँ आइपुगेँ,' उनी भन्छन्, ‘अझै निकै बस्नुछ।'
भारतमा टाटा कम्पनीमा खलाँती (फलाम काट्ने) काम गर्ने उनी पेन्सन थाप्न अहिले पनि पञ्जाब पुग्छन्। भारतीय हिन्दु धर्मावलम्बीमाझ असार ८ को दिनले विशेष महत्व राख्छ। त्यस दिन ‘भूमि रजस्वला' हुने विश्वासमा कामाक्ष मन्दिर दर्शन गर्न जाने धेरै हुन्छन्। मन्दिर परिसरमा कपडा बिछ्याइन्छ सो दिन। त्यसमा रगतजस्तै पदार्थ देखिए भक्तजन खुसी हुन्छन्। नदेखिए ‘भूमिलाई कष्ट परेको' भन्दै दुःखी बन्छन्। 
‘दुई वर्षअघि भूमि रजस्वला हुने दिन कामाक्षमा बिछ्याएको कपडामा रातोपन नदेखिँदा भक्तजन यता आएका हुन्,' पुजारी कँडेलले भने, ‘कहिल्यै नदेखेको ठाउँ सोध्दै आउने भारतीय बढेका छन्।' 
धामबाट एक रुपैयाँ ‘आम्दानी' नहुने गजुरमुखीमा कँडेलको पहलमा तीन वर्षभित्रै अढाई लाख रुपैयाँ जुटेको छ। त्यो रकम विकासमा खर्चिएको छ। पहिलो वर्ष संकलित ७२ हजारले धाम प्रवेशमार्गमा ढुंगा सोलिङ भयो। दोस्रो वर्षको ६२ हजारले सोलिङमाथि सिमेन्ट प्लास्टर। तेस्रो वर्षको ६५ हजारले शिवालयसम्म बाटो बन्यो। प्रवेशद्वारमा ग्रिल लगाइयो। गजुरमुखीलाई ‘पञ्जाबी पुजारी'ले केही न केही दिइरहेकै छन्। 
‘पहिलेका पुजारीले धामको भेटी आफैं कुम्ल्याए, अचेल त्यस्तो प्रवृत्ति छैन,' स्थानीय दधिराम अधिकारीले ‘पञ्जाबी पुजारी'को प्रशंसा गरे, ‘भारतमा वर्षौं बिताएको मान्छे यस्तो ठाउँमा आएर धाम सुधार्नु सुखको कुरा हो।' धुसेनी, एकतप्पा र इभाङको फेदीमा रहेको गजुरमुखी फेरिँदाका साक्षी हुन् उनी।
मन्दिर परिसर सफा छ। बाटो र पूजास्थल व्यवस्थित। देशीविदेशी भक्तजन आउँदैछन्। सबै खुसी छन्। धाम व्यवस्थापन समितिका अनुसार वर्Èमा ३ देखि ४ सय भारतीय पर्यटक आस्थापूर्वक गजुरमुखी आइपुग्छन्। कामाक्ष मन्दिरका एक पुजारी २ दिन बस्दै गजुरमुखी आएपछि असमबाट धार्मिक पर्यटक आउन थालेका हुन्। दार्जिलिङको महाँकाल मन्दिरका पुजारीसमेत गजुरमुखीबारे जानकार भएकाले त्यस क्षेत्रबाट पनि पर्यटक आउँदैछन्। हुलका हुल गजुरमुखी आइपुग्ने स्वदेशी पर्यटकमा चाहिँ पूर्वी पहाड र तराईका धेरै हुन्छन्। 
देउमाई र फाकफोक खोलाको संगमस्थल नजिकैको गजुरमुखीमा हरेक मंगल र शनिबार नेपाली भक्तजन धुइरिन्छन्। त्यो हुलमा कहिलेकाहीँ भारतीय पनि देखिन्छन्। स्वदेशकै पूर्वी जिल्लाका बजारमा व्यापार गर्ने भारतीय पहिल्यैदेखि गजुरमुखी आउँथे। अचेल उनीहरूका भारतीय आफन्त पनि आउन थालेका छन्। व्यवसायी बिना कार्कीले भनिन्, ‘भारतीय आउँदा होटल, लज र पूजा सामग्रीको कारोबार बढ्छ।'
बिर्तामोडदेखि गाडी चढ्दा साढे ५ घन्टामै गजुरमुखी आइपुगिन्छ। इलामबाट अढाई घन्टा। दमकबाट लारुम्बा–चतुरे हुँदै पनि यहाँ आउने सडक छ। मेची राजमार्गको नेपालटारदेखि मंगलबारे–धुसेनीसम्मै सडक कालोपत्रे गर्ने क्रम सुरु भएकाले गाडी यात्रा आरामदायी हुन्छ। मोटरसाइकल लिएर आउने उत्तिकै छन्। 
खेतैखेतको माथिल्लो भागमा पत्रे चट्टानयुक्त भीरमा छ– गजुरमुखी धाम। नजिकै बजार विस्तार भइसकेको छ। २ दर्जन जति घर रहेको बजारमा खाने/बस्ने सुविधायुक्त ४ होटल छन्। रोजेको परिकार खान खासै महँगो शुल्क तिर्नुपर्दैन। बिजुली र सडक सुविधाले पर्यटकलाई सजिलो छ। यहाँबाट इलाम र झापासम्म दैनिक गाडी चल्छन्। धाम रुँघ्दै भक्तजनको सेवा गर्न तैनाथ कँडेल पर्यटकको चाप बढ्दै जाँदा उत्साहित देखिन्छन्। भन्छन्, ‘सबैले गर्दा राम्रो हुँदोर हेछ, पहिले यहाँकेही थिएन, अहिले हेर्दाहेर्दै झरिझुट्ट भइसक्यो।' 

जागिर छोडेपछि सुरुमा काश्मिरको वैष्णोमाता मन्दिर पुगेका क“डेलले त्यहाँ हिउँको सिरेटो खेप्दै दुई वर्ष बिताए। ताप्लेजुङका एक शेर्पा त्यहाँ पुगेछन्। उनैको आग्रहमा पाथिभरा मन्दिर आइपुगे। त्यहाँ ५ महिनाभन्दा टिकेनन्। कन्काई किनारको सुरुंगा धाम झरे। फेरि कसैको आग्रहमा उक्लिए गजुरमुखी धाम। ढुंगैढुंगाको पत्रभित्र गुफामा छ, धाम। काश्मिरमा हिउँको कष्ट व्यहोरेका कँडेलले गुफामा त्यस्तो भोग्नुपर्दैन

प्रकाशित: ५ वैशाख २०७१ २३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App