५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

भाग्दा भाग्दै नीला आँखाहरूसित

थाकेर लखतरान परेकी छु
पसिनाले निथ्रुक्क भिजेकी छु
दौडँदा दौडँदै फुलेको छ सास
लछारिएर काँडाघारीमा च्यातिएका छन्, जिउका लुगा
ओहो, तप्तपी बग्दैछ रगत!
फुस्किएको छ कपालको गुजुल्टोखेतै खेत
जंगलै जंगल 
खोला र बगरै बगर
भाग्दैछु म बेपत्ताले 
ती भयानक आँखाहरूसित

मलाई तिनीहरूले मेरो घरैबाट ल्याएका हुन् लखेट्दै
मेरो पढ्ने टेबलबाटै उठाएका हुन्
पढ्दै थिएँ माया एन्जेलोको कविता
‘स्टिल आई राइज!'

तिनीहरुले जुरुक्क उचालेका हुन् मलाई
र घुयेँत्रो मिल्काएजसरी 
मिल्काएका हुन् कौसीबाट

ताराहरू घुमिरहेका थिए
उभिन्डो परेको हँसियाजसरी 
झुन्डिएको थियो जून
र मेरोअगाडि अट्टहास गरिरहेकी थिई
एउटी कुरूप स्वास्नीमान्छे

त्यसको कपाल 
मेरी स्कुले साथी
निरमाया मगरको जस्तै बिछट्टै सुन्दर थियो
त्यसको जिउ 
मैना सुनारको जस्तै असाध्यै कलिलो थियो
हातमा गोदना खोपाएको
निलो बुट्टा थियो ढेगनीदेवीको जस्तै
जिउमा थियो कालो गाउन नजराना खातुनको जस्तै
तर अंगार भरिएको अगेनुजस्तै थियो उसको अनुहार 
र अनुहारमा टाँसिएका थिए
डरलाग्दा नीला नीला आँखा!

‘स्कुलमा छँदैदेखि तँ लेख्थिस् कविता
तैंले देखेकी थिइस् निर्दयतापूर्वक काटिएका मेरा स्तन
गिँड गिँड पारेर छिनालिएका मेरा अंग 
खौरिएर केश
सिसौको हाँगामा अड्किबसेको चुल्ठो
गन्हाइरहेको मेरो लासमाथि घोप्टिएर
रोइरहेकी मेरी आमा 
मेरो न्यायका लागि
किन केही लेखेन तेरो कलमले अझैसम्म?'

अचानक लगायो कसैले मेरा गालामा झापड
र छरियो हावामा निरमाया मगरको खित्का ‘...!'

आह!
कति धेरै काला गाउनहरू!
कति धेरै नीला आँखाहरू!
कति धेरै! कति धेरै!!

हजार हजार निरमाया मगर
हजार हजार मैना सुनार
ओहो!
हज्जारौं ढेगनीदेवी
हज्जारौं नजराना खातुन

एकाएक भरियो मेरो वरिपरि
काला गाउनहरूको जंगल 
अंगार परेका अनुहारमाथि चम्किएका
डरलाग्दा आँखाहरू नीला नीला!

ती हज्जारौ स्वास्नीमान्छेहरूको ऐँठनबाट फुत्केर
भाग्दै आएकी हुँ यहाँसम्म 
लखेटिरहेका छन् उनीहरू अझै मलाई
र म दौडँदा दौडँदै अचानक ब्युँझिएकी छु
झल्याँस्स...!

यतिबेला 
आनन्दले निदाइरहेका होलान्
यो व्यवस्थाका कुख्यात ठेकेदारहरू
ढुक्कले घुरिरहेका होलान्
कानुनका टुच्चा दलालहरू
र कुकृत्यको धुरीमुन्तिर 
चैनले रात काटिरहेका होलान्
समाजका खुँखार अपराधीहरू
तर सकेकी छैन म निदाउन

बिस्तारै ओभाउँदैछ पसिना
र फर्कदैछु सामान्य स्थितिमा

अब धैर्यपूर्वक
लेख्नु छ मध्यरातमै जागेर
काला गाउनहरूको कविता,
नीला आँखाहरूको कथा
र भिड्नु छ यो व्यवस्थाका खलनायकहरूसित
शब्दको अथाह शक्तिले।

प्रकाशित: ५ वैशाख २०७१ २२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App