४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

अधिकारी हत्याका अभियुक्त रिहा

चितवन-गोरखा फुजेलका कृष्ण अधिकारीको हत्या अभियोगमा मुद्दा चलाइएका १३ मध्ये पक्राउ परेका दुईजनालाई बिहीबार चितवन जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ।जिल्ला न्यायाधीश विनोदमोहन आचार्यको इजलाशले भीमसेन पौडेल र छविलाल पौडेललाई धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको हो। सरकारी वकिलको कार्यालयले आइतबार सर्वश्वसहित जन्मकैद माग गर्दै १३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। 
कृष्ण अधिकारी हत्या प्रकरणमा छविलाल र भीमसेन कसुरदार हुन् भनी यकिन गर्न सकिने आधार नभएकाले मागदाबी गरेकै भरमा थुनामा राख्नुपर्ने अवस्था नरहेको न्यायाधीश आचार्यको आदेशमा उल्लेख छ। तत्काल प्राप्त हुने प्रमाणको अभाव देखिएको आचार्यको निष्कर्ष छ।
थुनछेक बहसपछि न्यायाधीश आचार्यले भीमसेनसँग २७ हजार र छविलालसँग २० हजार रुपैयाँ धरौटी लिएर तारेखमा छाड्न आदेश दिएका हुन्। तीन वर्षभन्दा बढी कैद हुने मुद्दामा अन्तिम फैसला नहुँदासम्म कारागारमा राख्ने कानुनी व्यवस्था छ।
द्वन्द्वकालीन अवधिपछि देशमा आएको परिवर्तित अवस्थालाई पनि ख्याल गरेको आदेशमा उल्लेख छ। ७२ वर्षीय छविलाल पौडेलको उमेरलाई ख्याल राखेर भीमसेनलाई भन्दा सात हजार रुपैयाँ कम धरौटी माग गरेको आदेशमा जनाइएको छ।
जाहेरीमा उल्लेख भएका व्यक्तिको कसुरको प्रकृति, संलग्नताको स्थिति र विवरण अभियोगपत्रमा खुलाउन नसकेको आचार्यले उल्लेख गरेका छन्। त्यस्तै घटनास्थलबाट प्रमाण र प्रतिवादी प्रमाणित हुने आधारसमेत भेटिन नसकेको र तत्कालीन प्रमाण नजुटेको भन्दै न्यायाधीश आचार्यले अभियुक्तलाई थुनामा पठाउन इन्कार गरेका छन्।
पक्राउ नपरेका बाँकी ११ अभियुक्तका नाममा सात दिने वारेन्ट जारी गर्ने निर्णय भएको अदालतमा स्रेस्तेदार विद्याराज पौडेलले जानकारी दिए। सात दिनभित्र अदालतमा हाजिर नभए पुनः ७० दिनको म्यादी पुर्जी जारी हुने उनले बताए। सो प्रकरणका अभियुक्त रुद्र आचार्य बेलायतमा छन्।
रामप्रसाद अधिकारी र अजिव भनिने परशुराम पौडेललाई यसअघि प्रहरीले समातेर २५ दिन हिरासतमा राखी अनुसन्धान गरेको थियो। तर, मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै उनीहरूलाईसरकारी वकिलको निर्देशनमा सामान्य तारेखमा छाडिएको थियो।
चैत ६ गते छविलाल र भीमसेन पक्राउ परेपछि भने प्रहरीले गरेको अनुसन्धानलाई आधार मानेर उनीहरुविरुद्ध मुद्दा दायर भएको थियो। सो हत्या प्रकरणमा छविलाल, भीमसेन, रामप्रसाद, रुद्र र अजिवसँगै सीता अधिकारी, सुभद्रा तिवारी, मेघनाथ पौडेल, कालिप्रसाद पौडेल, हिमलाल अधिकारी पनि अभियुक्त छन्। रामप्रसाद अधिकारी नै नाम भएका अर्का व्यक्ति, विष्णु तिवारी र जानुका पौडेलविरुद्ध पनि अभियोग छ। 
सशस्त्र संघर्षका बेला भएको घटनामा सत्य निरुपण तथा मेलमिलाप अयोग बनाएर अनुसन्धान गर्नुपर्ने अडान लिँदै माओवादीले मुद्दा फिर्ता लिनुपर्ने मागसहित आन्दोलन सुरु गरेको थियो। अदालतमा मुद्दा चलेको विरोधमा चितवनमा दुवै माओवादीले संयुक्त विरोध सुरु गरेका थिए। उनीहरुले बिहीबार पनि चितवन जिल्ला अदालत परिसरमा धर्ना दिए। छविलाल र भीमसेन छुटेपछि विरोध कार्यक्रम स्थगित भएको एकीकृत नेकपा (माओवादी) चितवनका संयोजक नारायण दाहालले जानकारी दिए।

प्रकाशित: ४ वैशाख २०७१ २०:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App