४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

दक्षिण एसियाली जुडो सुरु

काठमाडौं-नेपालकी सुनीता बोहराले सातौं दक्षिण एसियाली सिनियर जुडो च्याम्पियनसिपको पहिलो दिन स्वर्ण जितेकी छिन्। शनिबार ७ मध्ये ६ स्वर्ण जित्दै भारतले प्रतियोगितामा अग्रता लिएको छ।त्रिपुरेश्वस्थित राखेप कभर्डहलमा नेपाललाई पहिलो स्वर्ण दिलाउने क्रममा सुनीताले श्रीलंकाकी हेवा अम्बाफिलियादलाई ग्राउन्ड टेक्निका आधारमा पराजित गरेकी हुन्। 
७८ केजीमाथि तौल समुहमा सुनीता र हेवाले मात्र सहभागिता जनाएका थिए। 
दुई जनामात्र खेलाडी भएपछि आयोजकले वेस्ट अफ थ्रीका आधारमा सोझै फाइनल खेल गरेको थियो। सुनीताले लगातार दुई खेलमा हेवालाई ग्राराउन्ड टेक्निकमा हराइन्। 
शनिबार सुनीताले जितेको दोस्रो अन्तराष्ट्रिय स्वर्ण हो।
यसअघि उनले राजीव गान्धी अन्तराष्ट्रिय आमन्त्रण जुडोमा कास्य जितेकी थिइन। सुनीताले स्वर्ण जितेपछि करियरमै सर्वाधिक ठुलो उपलब्धी हासिल गरेको बताइन। सुनीताले भनिन, ‘ घरेलु म्याटमा स्वर्ण जित्नुको महत्व बेग्लै हुन्छ। मैले पहिलो पल्ट घरेलु मैदानमा स्वर्ण जितेको हु। प्रतियोगितामा नेपाललाई पहिलो स्वर्ण जित्न खुसी छु।'
उनले अगाडी थपिन्, ‘ एउटामात्र प्रतिद्धन्द्धी भएकोले स्वर्ण जित्छु भन्ने लागेको थियो। तर उसको तौल नपुग्ने सम्भावना थियो। पहिलो राउन्ड मैले सहजै जिते। दोस्रो राउन्डमा मेरो टेक्निक प्रतिद्धन्द्धीलाई थाहा भएर अलि अप्ठयारो परेको थियो।' महेन्द्रनगरकी सुनीताले छैटौं राष्ट्रिय खेलकुदमा स्वर्ण र पाँचौ राष्ट्रिय खेलकुदमा रजत जितेकी थिईन। 
पुरुष ६० केजीमा सरोज महर्जनले पाकिस्तानका सैयद समुल्लाहलाई हराउँदै कास्य जिते। सो तौल समुहमा भारतका नवजोत छानाले श्रीलंकाका मदुसंका थेनेगारालाई हराएर स्वर्ण जिते। सरोज सँगै अफगानिस्तानका अब्दुल फहिमले कास्य जिते। 

शनिबार नेपालकी फुपु ल्हामु खत्री र इन्दिरा राईले रजत प्राप्त गरे। ६३ केजी भन्दा कम तौल समुहको फाइनलमा फुपु भारतकी गरिमा चौधरीसँग पराजित भईन। फुपुले रजत जित्दा पाकिस्तानकी अम्ब्रिन मासिहलाई हराएकी थिईन। ७० केजी भन्दा कम तौल समुहको फाइनलमा इन्दिरा भारतकी सुनिबाला देवी हुदरोमसँग पराजित भईन। रजत जित्दा इन्दिराले पाकिस्तानकी फुजिएलाई हराइन। 
७८ केजीमुनि जिनादेवी छोङथामले पाकिस्तानकी बिनिश खानलाई हराउँदै स्वर्ण जितिन। नेपालकी सुनीता मगर र गंगा चौधरी कास्य जिते। 
पुरुष ७३ केजीमुनिको फाइनलमा नवदिप छानाले अफ्गानिस्तानका शाहवली मोहसियोन हराए। नेपालका मोहन सुनवार र पाकिस्तानका जावेड खान संयुक्त रुपमा तेस्रो भए। ८१ केजीमुनि विकेन्दर सिंहले स्वर्ण जित्दा अफ्गानिस्तानका इहसानुल्हक पराजित गरेका थिए। पाकिस्तानका करामत बट र नेपालका सन्जित डंगोलले कास्य हात पारे। प्रतियोगिताको अन्तिम दिन आइतबार ७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। शनिबार उप्रधान एवं स्थानिय विकास मन्त्री प्रकाशमान सिंहले प्रतियोगिताको उद्घाटन गरेका थिए। अन्तराष्ट्रिय प्रतियोगिताले राष्ट्रको प्रतिष्ठा बढाउने काम गरेको भन्दै मन्त्री श्रेष्ठले आयोजकलाई बधाई दिएका थिए।

प्रकाशित: २९ चैत्र २०७० २३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App