३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

१४ डिसेम्बर १९९६

मध्य युरोपको यो बाल्कन पेनिनसुला हिउँदभरि नै पूरै सेताम्मे हुने गर्छ। हिँउको खास्टो ओढेर।
म झ्यालबाट बाहिर हेर्छु, हिँउ लगातार बर्सिरहेको छ। आरुको रूख पूरै हिउँले ढाकिएको छ, पारिको डाँडा पूरै सेताम्मे। यो हिँउले रगतको सबै टाटो पनि छोपेको छ। यो हिउँदभरि यी सबै त्यसरी नै छोपिने छन्, जसरी यो ट्राभनिकबाट बोस्नीयाको राजधानी सरायेभो जाने बाटो छोपिएको छ।
चिसो सिरेटो झ्यालबाट भित्र छिर्छ। मुटु नै छेड्लाजस्तो।बोस्निया हर्जगोभिनाको भूगोल मुटु आकारजस्तो छ– बोस्नियनहरू मलाई भन्छन् र रकेटको प्रहारले ध्वस्त घरहरू देखाएर भन्छन्– तर मुटु भत्केको छ। अर्र्थोडक्स सर्व, क्याथोलिक क्रोयटस र मुसलिमा बोस्न्याकहरूको हातेमालोमा अडेको बोस्नियाले रक्तपातपूर्ण विगतमा के देख्यो के देखेन! कथाहरू छन्, आँसु छन् र रगतका टाटा छन्। तर अहिले हिँउले छोपिएका छन्– सायद वसन्तको आगमनसँगै हामी फेरि मास ग्रेभहरू खोज्न सक्रिय हुनेछौं। मानवताविरुद्धको अपराधका फरेन्सिक प्रमाणहरू। बेपत्ता सार्वभौम नागरिकहरूको कंकाल– परिवारको आँसु। 
साँच्चै यो आँसुको मूल्य कति हुन्छ? सायद रगतभन्दा पनि महँगो! 
राजकुमारले कफी बनाएर ल्यायो। ऊ मेरो मिसनको सहयोगी। सधैं उत्साहित हुन्छ। पट्रोलिङबाट आएपछि सधैं नयाँ विवरण सुनाउँछ। राष्ट्रसंघको प्रहरी प्रतिनिधि ऊ जसरी स्थानीयवासीसँग विश्वास निर्माण गर्दैछ, मलाई लाग्छ उसलाई राम्रो रिपोर्ट लेख्न आउने भए सायद त्यो रिपोर्ट राष्ट्रसंघको महासभामा पढिने थियो होला।
कोही काम गर्छन्, रिपोर्ट लेख्दैनन्। कोही काम गर्दैनन्, तर राम्रो रिपोर्ट लेख्छन्। सायद त्यो पछिल्लोको हैकम बढी चल्छ क्यारे यो मिसन प्रणालीमा।
युएन लेखिएको सेतो गाडीले शान्ति प्रयासको गतिशीलता जाहेर गर्छ । तर हिउँमा गाडी हाँक्नु भनेको सकसके काम हो। झन् ओरालो बाटो ओर्लंदा त सासै अड्किन्छ। ब्ल्याक आइसमा कति बेला पांग्रा चिप्लिएर तल गुल्टिने हो पत्तै हुँदैन। लडाइँमा मारिएकाहरूको चिहानघाट बाटो भएर जाँदै गर्दा म देख्छु, सबै चिहान हिँउले छोपिएका छन्। र, चिहानको टाउकोतर्फ गाडिएका ढुंगाहरू मात्र ठिंग उभिएर जमिनमुनि चीर निद्रामा सुतेको आत्मालाई चिनाइरहेका छन्। 
कति क्रुर इतिहासको पाना बोकेको छ यो भूगोलले आन्तरिक द्वन्द्वको। रक्तपात–हिंसा–विभाजन अनि फेरि शान्तिको चाहना, सबै अभिव्यक्त छ यो सेताम्मे हिँउले छोपेको चिहानघाटमा। 
अफिसमा पुग्छु। ललित हाँस्दै आउँछ सधैंझैं। बोहरा तल कफी पिउँदैछ, चिन्तित अनुहारमा। टर्कसि यासेर अनिँदो अनुहारमा गुडमर्निङ भन्दै आउँछ, सायद रातभरि नै डिस्कोथेकमा थियो होला। पाकिस्तानी रोबिन चुपचाप छ– यासेरको विरुद्ध जातीय भेदभावको उजुरी हालेको छ उसले । त्यसै होला, ऊ गम्भीर छ।
यो जमातमा यस्तो भैरहन्छ। मल्टिकल्चरल इन्भाएरोमेन्टको डायनामिक्स।
अमेरिकी केन मार्कसन मेरोअगाडि आउँछ र आफ्नो खल्ती नै खल्ती भएको प्यान्टबाट मान्छेका हाडका टुक्रा मेरो टेबलभरि फिजाउँछ र भन्छ– यो नोभि–ट्राभ्निकको सम्भाव्य मास ग्रेभबाट संकलित नमुना हो। सायद, मार्चतिर मात्र हामीले त्यहाँ उत्खनन गर्न सक्नेछौं। म मेरो घरबेटी आमा सेनादालाई सम्झन्छु, उनी घरको बरन्डामा बसेर हिजो साँझमात्रै हिंसाले बेपत्ता पारेका हजारौंको नामावलीको किताबको ठेलीमा आफन्तहरूको नाम खोज्दै थिइन्। लाग्छ, तिनैमध्येको कसैको नर कंकालका टुक्राटाक्री होलान् यी– मेराअगाडि। 
इतिहासको द्वन्द्व, अस्तित्वको इगो, एथ्निक क्लिन्जिङ। मास ग्रेभ, हिंसाको उपहार, मानवता विरुद्धको उपहास। 
चिसो सिरेटोको अर्को झोँक्का झ्यालबाट सोहोरिएर भित्र पस्छ। बाहिर हिँउ परेको परेकै छ। घरबाट हजारौं कोश टाढा यो भूगोलको शान्ति र स्थिरताको लागि समर्पित यो अर्को दिन फेरि सुरु भयो। 
मास ग्रेभहरू सेतो हिँउको तन्नामुनि छोपिएका छन्।

प्रकाशित: २८ चैत्र २०७० २३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App