५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

पहिलो र अन्तिम प्रेमीलाई

तिम्रो र मेरोजस्तै
उहिले उहिले
माई र तमोरको मायापिरती थ्यो' रे।


चञ्चले तमोर 
छाँगाबाट हाम्फाल्दा–हाम्फाल्दा
चट्टानमा खोपेछ एक मानिस गहिरो दह 
सुटुक्क आफ्नो अनुहार हेर्दा
बूढो हिमाललाई देखेछ
भागेछ लाजले ओरालैओरालो।

औलमा आइपुगेर पालाम गाउँदै लागेको तेर्सैतेर्सो 
चाल पाएछन् पहाडका तरुनीहरूले
धान नाच्नलाई तान्न थालेछन् 
तमोरको पालो तरुनी जम्मै सोहोरेर मधेस हिँडेछ।

चुरेघाँटीमा आइपुग्दा
बिहे गरूँ गरूँ भएछ
विरक्तिएर पहरालाई लात्ताले हान्दै सोच्दो रहेछ–
कहिले छुट्दै भंगालो कहिले घुम्दै दस फन्का 
आफैंले खेला'का तरुनीसँग त के गर्नु हौ बिहे?!

लेकबाट हस्याँङ र फस्याँङ आइपुगेछ कुटुनी बतास 
सुनाएछ चारखोलका दुई मस्त तरुनी 
वल्लो गैरो पल्लो गैरो तन्देरी खोज्दै हिँडेको' 
तमोर खुशीले यस्तरी उफ्रिएछ–
झन्नैले चुरेको उचाइ उछिनेछ। 

पक्कन्दी खेल्दै डाँडैडाँडा
तमोरको चाह लिएर इलाम पुगेछ बतास
छ महिना त आँखै देखेनछ
छ महिनापछि पो मालिंगो घारी/अम्लिसो घारीमा 
जोगमाई र देउमाईलाई फेला पारेछ।

सोधेछ हैरान बतासलेे 'राजी कि विराजी?'
पहाडकी छोरी देउमाई र जोगमाई खोजेछन् जोरी
'राजी भने राजी!' 

ल है! 
दुई बहिनी नभए नि एक बहिनी त ल्याउने–ल्याउने
सुर गरेछ तमोरले र 
छेलो हान्दै त्रिवेणी वरिपरि अलमलिई बसेछ !

एक बर्खा–
तमोरलाई भेट्न देउमाई र माई 
नीलो केशराशी घिसार्दै लागेछन् चुलीको फेदैफेद 
खपिनसक्नु डाह भएछ रतुवालाई 
ढाँटेछ– 'तमोरको बिहे भइसक्यो।' 

'हो त हो!'

माईको पालो पानीको मन न हो 
रिसले पसेछ दक्खिनैदक्खिन' ओरालैओरोलो।

तमोरलाई पनि शत्रुको आँखा लागेछ

माई त अन्तै फात्चा गई– सर्दु खोलालाई ईर्ष्या लागेछ 
शिर ढलिहाल्यो तमोरको र
अरुनमा हेलिँदैहेलिँदै कोशीमा बङ्गै हाम्फालेछ।

पछिपछि'
मुग्लानमा
तल' तल'
तमोर र माईको हंशमात्र भेट भएछ।

तिम्रो र मेरोजस्तै
दुरुस्तै
ठूली! 
उहिले उहिले 
माई र तमोरको माया पिरती थ्यो' रे।
०००
पक्कन्दी– बिहे, मेलाहाट या अन्य खुसीयालीका अवसरमा खुसीले डाँडा या भञ्ज्याङमा गाउँ थर्किने गरी, सुसूचित हुने गरी कराउने या उफ्रिने सञ्चार परम्परा।
पालाम–लिम्बूहरूले धान नाच्दा गाउने गीत।
फात्चा–पोइला

प्रकाशित: २८ चैत्र २०७० २३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App