८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

धराने दादा कविहरू

धरानको अमरहाटमा म एकाएक हराएँ। झन्डै एक घन्टा ल्वारल्वार हिँडेपछि। त्यो पनि बम दाइकै गेटमा पुगेर। दुइटा गेट रैछन् घडेरीको दुईपट्टिबाट। कताबाट छिर्ने– अलमलमा परेँ। र, त्यहाँ हराएँ।



'दाइ...दाइ' भनेर बोलाउँदा कुकुर भुक्न थाल्यो। कुकुर दाइप्रति साँच्चै बफादार रैछ। भुकाइको भोल्युम बढाउँदै लग्यो। मेरो आवाजले केही लछारपाटो लाएन। बरु त्यही कुकरको हल्लाले घर हल्लाएछ। पर्दा पन्छाउँदै निक्ल्यो एउटा पुरुष काया। जसरी नापे पनि अल्गो भन्न नमिल्ने कदका। जनगणना गर्न मिल्ने जुँगाका मालिक। यिनै थिए मैले खोजेको बम दाइ। कवि बम देवान। 
तीन दशकपछि त्यो घरमा म पुगेको थिएँ। गोजीमा मोबाइलको रातोदिन बास छ, र पनि खबरै नगरी पुग्ने मेरो दुस्साहस भर्त्सनायोग्य थियो। त्यो पनि एकासबेरै। बब मार्ले स्टाइलको रातो टोपी हालेका रहेछन्। झिल्के देखिएका दाइ मलाई एक्कासि देख्दा एकफेर आत्तिए। अन्ततः रमाए। गेटबाट मलाई हुलेपछि तीनपानेको तीव्र हरक आयो कतैबाट। यो थियो खाँटी धराने बास्ना। तर कलात्मक। जोसँग म हुर्कें, बढेँ। 
बम दाइसँग जोडिएर थुप्रै पुराना सम्झनाका रिल धावकझैं दौडँदै आउन लागे। तँछाडमछाड गर्दै। पहिलो, यो सानो मुन्डा घरमा एकफेर सनसनीपूर्ण हत्या भएको सुनेका थियौं। तीसको दशकको अन्ततिर यिनै दाइले एकाएक बुबा–आमालगायत आफन्त गुमाएका थिए। अहिले पनि म गम्छु– कसरी धाने प्रियजनहरू गुमाएको पीडा यी कवि दाइले। हुन त परेपछि मान्छेले सहन के बाँकी राखेको छ र?
अर्को रिल आउँछ। यसपल्ट धरान नगर पञ्चायतमा प्रधानपञ्चको चुनावको सम्झना दिलाउँछ। चालिसको दशकको सुरुवात। हामी अलि आलाकाँचा थियौं। हेर्दाहेर्दै बजारतिर यिनको चुनावी लहर दौडन छाडेर उड्न थाल्यो। सडकछेउ अडेसिएका पर्खाल र भित्ता, मान्छे थुप्रने चियापसल, डाक्टर जँचाउने अस्पतालको लाइन, सागका मुठा बेच्ने तरकारी बजार, तिन्ताका पूर्वतिर चल्ने कोसी बस र बूढासुब्बा बस– सबैतिर यिनका गफ बाफिन थाले। बमलाई भोट क्रान्तिलाई स्यालुट मान्न थालियो। बुझेर वा नबुझेर धरान क्रान्ति कर्ममा पहिलेदेखि नै रौसे हो। 'अर्को जमात'का कवि टंक घिमिरे लपक्कै भएर लागेका थिए, चुनाव जिताउन। समय पुगेपछि जितको सिन्दूर बम दाइले घसे। क्रान्तिलाई सघाएकोमा धराने रमाए। त्यसपछि बम दाइले बुझ्दै गए, कामै गरेर देखाउन अलि चर्कै रैछ। जे होस्, चुनाव अभियानदेखि विकासे काममा यिनले धरानमा हुरीबतास ल्याएथे।
बम दाइ दिलका शुद्ध कवि। यिनका बथानमा देखिन्थे– वेणु आचार्य, कृष्ण पाखि्रन, गोपाल भण्डारी, गोविन्द विकल, नरेश शाक्य, बद्री पलिखे र अरू पनि। मेरा लागि यी बम दाइ बमझैं विष्फोटक थिए। यिनका कवितामा थिए, उफ्रने झिल्का। भाषणमा मुस्लो। मान्छे थिए, सोहै्र आना नौनीझैं मुलायम। 
चिया पिउँदैगर्दा वार्तालापमा उनी राजनीतिमा ओर्लिए– जातीय बबालले देश बन्दैन। कुनै पनि उन्मादले समाज बन्दैन। हाम्रा नेताले जानेनन्। दक्षिण अफ्रिकामा नेल्सन मन्डेला थिए। उनले देशलाई तारे संक्रमणको दलदलबाट। हामी कौवाजस्तो हराएका छौं। म दर्शकदीर्घाबाट सुन्दै थिएँ। 
यी दाइले पनि राजनीतिमा निकै गोता लाए। पञ्चायतकालमा क्रान्तिका कुरा छर्दै हिँडे। कहिले झोरा बस्तीतिर। सहर बजारतिर। कहिले पञ्चायततिर। ०४६ सालपछि कहिले राष्ट्रिय प्रजातन्त्र पार्टीतिर। कहिले नेपाली कांग्रेसतिर। अहिले रैछन्, एमाओवादीतिर। यसो हेर्दा सबैलाई आफ्नो ल्याबमा टेस्ट गरिसकेको ल्याब असिस्टेन्ट भएछन्। थाहा पाउन बाँकी अरू पनि फेहरिस्त होलान्। जे होस्, यी नथाकेका धराने योद्धा भिड्दैछन्।
मुड न हो। एकफेर सुनसरी तरहरामा कविता गोष्ठी थिएछ। सैंतिस सालतिर क्यार! बम दाइको पालो आयो कविता पाठ गर्ने। के सुर चढ्यो कोनि! बिँडी तान्दै कविता पाठ गर्न थाले। कविता हो वा बिँडी सकिर्यो। बिचरा बम दाइ सर्केर हुरुक्क भएछन्। त्यो गोष्ठी नै भाँडिने गरी।
बम दाइ कवितामा पोखिन्छन्, यसरी : 
'विस्तृत/विशाल
घना जंगलभित्र
कति–कति मनसुनका हातले उमारे
बेनाम/बेखबर वनफूलहरू!
र ओइलाए, हराए
बेनाम/बेखबर वनफूलहरू!'
('बेनाम वनफूल'बाट)

'लकवाग्रस्त धरानको पीडापूर्ण सपनाहरू छामेर
आकाशमा यत्रोविघ्न 
ताराहरू, जूनहरू उदाए अस्ताए
धरान आत्महत्या गर्न तम्सन्छ
मध्यरातमा हिन्दीमा रिसाएर
एकाएक नेपाली छाडा गालीमा
झोकिँदै फट्फटाउँछ। 
उसको स्वतन्त्रतामा 
बाधा हाल्ने को?
('धरान'बाट)
दाइलाई विगत सम्झाउने जागिर फोटाहरूले खाका छन्। कोठाका सुगम–दुर्गम सपै ठाउँमा पोस्टिङ भएजस्तो। विदेशमा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जाँदाका कुनै। राजा वीरेन्द्रसँग खिचेका कुनै। ती दिन अजीवका थिए।
मलाई वेणु दाइसम्म पुर्या उन बम दाइ कस्सिए। हामी अमरहाटको बाटामा हिँड्दै थियौं। बाटैमा पर्थ्यो स्वर्गीय कवि टंक घिमिरेको घर। पुरानो काठे पुड्को घरपछाडि परेछ। अघिल्तिर सिमेन्टीको नयाँ घर। यो काठे घरले मलाई 'अर्को जमात'को समय सम्झायो। घचेट्दै सत्ताइस–अठाइस वर्षअघि पुर्या यो। जहाँ हामीले रात बिताएका थियौ, कविता–वार्ता गर्दै। कविता–पाठ गर्दै। अहिले त्यो घर छ। कवि टंक घिमिरे छैनन्। बम दाइसँग उभिएको छु। अर्को जमात छैन। बम दाइले टंकजीको बुबाआमालाई खोजे। बाहिर जानुभएकाले भेट जुरेन।
अब बाटो अमरहाटबाट फुस्रेतिर लम्कँदै थियो। दुई सदस्यीय हाम्रो टोलीलाई लिएर। बारी–बारी, जहाँ अन्तै बग्न खोज्ने खहरे खोला छिचोलेपछि एउटा गेटमा ठडिए, बम दाइ। र बोले, 'लौ आयो कवि कुञ्ज।' वेणु दाइ अलि बुढिए छन्। फ्ल्याट टाइपको टोपीमा वेणु दाई विछट्टै सुहाएछन्। यी दाइ हुन कविताका दिवाना मस्ताना। यी दुईको फोटो लिन मेरो क्यामेरा जम्जमायो। 
वेणु दाइ कविमात्र होइन, दिल्दार पनि हुन्। दाइको कुरा खुलेर लेखूँ यसपाला सोधेको। भनिहालेँ 'लेखौं भाइ, लेखौं।' अचेल दाइले पिउन चटक्कै छाडेको सुनिन्छ। पहिला विशेषज्ञ नै थिए। एकपल्ट म जागिरे ठिटो काठमाडौंबाट धरान पुगेको थिएँ। उमेर थियो मसँग। परिवार थिएन। बरु पैसा थियो। छाताचोकमा भेटिए एकदिन यिनै मस्ताना वेणु दाइ। 'लेखाइ कत्तिको जाँदैछ दाइ?' मेरो सोधाइले दाइ त कम्लाए पो। आँखा रसिला–रसिला पार्दै कविता लेख्न नसकेको व्यथा पटुकाझैं फुकाए। आँखा कमजोर भाको विवरण दिए। 'डाक्टर नजँचाको दाइ?' मैले जारी राखेँ। 'अँ, जँचाको...चस्मा ला भन्या छ। के गर्नु? पोइसा छैन चस्मा लाम भन्न।' मैले दाइको कूटनीतिक व्याकरण बुझेँ। वेणु दाइको लेखन चस्माविना रोकिनु मलाई चित्त बुझेन। गोजीमा जति सयका नोट थिए, जिम्मा लाएँ। अलिअघि लम्केपछि भेटिएका अर्का धराने कवि दाइलाई बताए पछि हाँस्दै गिज्याए, 'लौ, आज भाइको पालो परेछ। दाइलाई भक्कु जाँड खान जुरेछ!' यो दुई दशकअघिको कुरो थियो। दिल्दार यी वेणु दाइलेे अरूलाई दिल दिएनन। कि कवितालाई दिए कि दाइको भलो चिताउने सोझी भाउजूलाई दिए।
धराने कवि राजकुमार कार्की सम्भि्कन्छन् बयालिस–त्रिचालिस साले एउटा घटना। लेखक भवानी घिमिरेलाई सम्मान गर्ने कार्यक्रम जुराएको रैछ धरानले त्यसबेला। कार्कीजीको सौजन्यमा बेलुका खानपिनको व्यवस्था भएछ। रात नछिप्पिँदै प्रमुख आगन्तुक र वेणु दाइ दुवै फिटान भइसकेछन्। आयोजकलाई चिन्ता पस्यो। आयोजकले घर पुर्यारउने जिम्मा दुब्ला–पातला युवा कवि रमेश केसीलाई लगाएनन। बरु अलि हट्टाकट्टा युवा कवि टंक घिमिरेलाई लगाएछन्। उनले बडो कष्टसाथ धान्दै लगेछन् केही किलोमिटर परसम्म। लक्ष्मीचोक पुगेपछि हायलकायल भएछन्। आजभोलि जस्तो मोबाइलको बिगबिगी थिएन। मध्यराततिर त्यतै छाडिगएछन। बाटैमा शरण लिएका ती वेणु दाइ र प्रमुख आगन्तुक बिहानीपख जागेर बल्लतल्ल घर पुगेछन्। भनिन्छ, लक्ष्मीचोक अहिले पनि कृतज्ञ छ ती हस्तीहरूलाई सडकमा बास दिन पाएकोमा।

प्रकाशित: २१ चैत्र २०७० १९:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App