२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

फेरिँदैछ बालापान

काठमाडौं– बाल्यकालमा गीर (लठ्ठीले बललाई हानेर खेलिने) खेलेर हुर्किएका राष्ट्रकवि माधवप्रसाद घिमिरेले अहिलेको लोकप्रिय क्रिकेटसम्म हेर्ने मौका पाए। विश्वभर चलिरहेको क्रिकेट त्यही गीर खेलको विकसित रूपझैं लाग्छ, उनलाई।

'गीरदेखि क्रिकेटसम्म आइपुग्दा बच्चाहरूको खेलमात्र होइन, व्यवहारमा पनि धेरै परिवर्तन आइसकेका छन्,' ९६ वर्ष पुगेका घिमिरे भन्छन्, 'भौतिक विकास र समाज परिवर्तनले हुर्कने वातावरणमा असर परिरहेको छ।'
१२–१३ वर्षको हुँदा उनी पढाइका लागि अर्को गाउँ जानुपर्ने भयो। जन्मघर लमजुङको पुस्तुनबाट अर्को गाउँ जाँदा परिवार छोड्नुपर्ने पीरले जति छोएको थियो, त्योभन्दा बढी गीर खेल्न नपाइने चिन्ताले नरमाइलो लागेको थियो उनलाई।
हिउँदमा बाली भित्त्याएपछि खेत खाली हुन्थे। खाली खेतमा साथीहरू भेला भई हिउँदभर गीर खेलेर दिन बिताउँथे। फुक्काफाल बालापनको स्वतन्त्रता सम्झँदा अहिले पनि घिमिरेलाई बत्तिएर उही गाउँ पुग्न मन लाग्छ। तर उमेरले दिँदैन।
बितिसकेको बालापन फेरि कहाँ आउँछ र!
गीर खेलमा त्यति धेरै स्पिड थिएन, जति अहिले क्रिकेटमा छ। क्रिकेट ट्वान्टी–२० मा पुगेको छ। छिटोछिटो खेल्नुपर्ने। हतार, प्रेसर र प्रतिस्पर्धा। यही खेलजस्तै हतार र प्रतिस्पर्धाले सबैको जीवन व्यस्त बनाएको छ। सबैलाई बेफुर्सदिलो बनाएको छ।
र, यही व्यस्तताको प्रभाव बालापनमा परेको छ।
घिमिरे गीर खेल्दाको समय सम्झन्छन्। त्यसबेला बच्चाका लागि खेल्ने, पढ्ने र प्रकृतिको काखमा रमाइलो गर्दै सिक्ने वातावरण थियो। त्यसबेला संयुक्त परिवारमा हजुरबा–हजुरआमा हुन्थे। ठूलाबा–आमा, काका–काकीसँगको घुलमिल र निकटतासँगै हुर्किन्थे नानीहरू। बाबुआमा व्यस्त भए पनि परिवारका अन्य सदस्यले उनीहरूको हेरचाहमा कुनै कमी हुन दिँदैनथे।
'छरछिमेकमा डुल्थ्यौं, साथीभाइसँग खेल्न टाढाटाढा जाने गर्थ्यौं,' उनी बाल्यकालीन सम्झना सुनाउँछन्, 'अहिलेजस्तो पढाइको बोझ नभएकाले समाजमा हुने बिहे, व्रतबन्ध, भोजभतेरमा सहभागी हुँदा संस्कृतिसँगको निकटता बढी नै हुन्थ्यो।'
पहिले पढाइका लागि बच्चालाई जबर्जस्ती गराउने चलन नै नभएको घिमिरे बताउँछन्। 'छोराछोरीलाई कसरी हृष्टपुस्ट बनाएर काम गर्न सक्ने स्वस्थ बनाउने भन्ने बाबुआमाको चाहना हुन्थ्यो,' उनले भने, 'पढ्नेले औंसी–पूर्णिमा छुट्याउन सक्थे। लाहुरेले पठाएका चिठीसम्म बाच्न सक्थे।'
करिब १७ वर्षको उमेरमा काठमाडौं छिरेका घिमिरे त्यो बेलासँग अहिलेको काठमाडौंलाई दाँज्न खोज्छन्, तर एकछिन अलमलिन्छन्। 'टोलटोलमा बच्चा जम्मा भएर खेल्ने वातावरण थियो, खुला चौर, खेतबारी थिए,' उनी भन्छन्, 'त्यो बेला र अहिलेको परिवेशमा बच्चाको व्यवहार आकाशपाताल फरक छ।'
'तपाईं आफ्नो परिवारका लागि कति समय छुट्याउनुहुन्छ?' पत्रकारहरूले प्रायः सोध्ने यही प्रश्नले नै अहिलेको व्यस्त जीवन प्रस्ट पार्ने उनी बताउँछन्। 'पहिले परिवारका सबै सँगसँगै हुन्थे,' उनले भने, 'अहिलेको व्यस्त जीवनमा बाबुआमाले छोराछोरीका लागि समय छुट्याउनुपर्ने अवस्था आइसकेछ।'
बाबुआमा बच्चाको पहिलो शिक्षक हुन्, घर पहिलो पाठशाला। पहिले बालबालिकाको रोल मोडल भनेका बाबुआमा वा चिनेजानेको वरिपरिका छिमेकी नै हुन्थे। आफ्नै परिवार वा समाजभित्र रोलमोडलको खोजी हुन्थ्यो। आफ्नै जातिमा जुन ठूलो व्यक्ति छ, त्योजस्तै बन्न खोज्थे। कालिगढ, मूर्तिकारका छोराछोरी बाबुजस्तै बन्न खोज्थे। तर अहिले यो आफ्नै परिवार, संस्कृतिभित्र मात्र सीमित छैन। हरेक नानीका सपना सानो घेराबाट बाहिर निस्किएर संसारभर फैलिएका छन्। संसारको कुनै पनि कुनामा आफ्नो रोलमोडल खोज्न लालायित छन् उनीहरू।
'नयाँ पुस्ता 'होम ग्राउन्ड'बाट अलग्गिँदै छ,' वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ भन्छन्, 'संसारसँग उनीहरूको कनेक्सन बढेको छ।'
राष्ट्रकवि घिमिरे र वनस्पतिविद् श्रेष्ठको भनाइको तात्पर्य हो, सहरीकरण र आधुनिकीकरणसँगै पुरानो बालापन हराउँदै गएको छ। समाजसँगै नानीहरूको जीवनशैली र लालनपालन शैलीमा पनि फरक देखिएको छ।

डिजिटल युग
टेलिभिजन, इमेल–इन्टरनेट, भिडियो गेम र सामाजिक सञ्जालले प्रविधिलाई सबैतिर जोडेको छ। पछिल्लो पुस्ताका बालबालिका पनि प्रविधिका हरेक क्षेत्रसँग नजिकिएका छन्। टेलिभिजनका कार्टुन र भिडियो गेममा रमाउन पाउँदा उनीहरू घन्टौं बितेको पत्तो पाउँदैनन्।
इन्टरनेट केटाकेटीका लागि राम्रो उपहार बनेको छ। ज्ञानगुनका कुरा थाहा पाउन यो उपयोगी माध्यम हो। स्कुलमा पढेका विषयको थप अध्ययनका लागि इन्टरनेट प्रयोग गर्न सकिन्छ। तर धेरैले यसको सदुपयोग गदर्ैैनन्। इन्टरनेटको पहुँचसम्म पुग्नेबित्तिकै धेरै त भिडियो गेम र सामाजिक  सञ्जालमा झुत्तिने गरेको पाइन्छ।
बाल साहित्य सर्जक विनय कसजूका अनुसार इन्टरनेट नराम्रो होइन, तर पछिल्लो समय यसले बालबालिकामा नकारात्मक असर पारिरहेको छ। इन्टरनेटको बढ्दो प्रयोगले नराम्रो प्रवृत्ति नल्याउला भन्न सकिन्न। यसबाट आउने 'इन्फर्मेसन ओभरफ्लो'ले नानीहरूलाई अलमल पारिरहेको हुन्छ। कतिपय किशोरकिशोरी अश्लील साइटको लतमा समेत फसेको भेटिएको छ। नेपालमा पनि यस्ता केही केस आएको बताउँछिन्, मनोविश्लेषक गंगा पाठक। 'मैले अश्लील भिडियोमा लत लागेका केही केसहरूमा काउन्सिलिङ गरेकी छु,' उनले भनिन्।
कसजू भने कोरियाको उदाहरणबाट यहाँका बालबालिकाले सिक्नुपर्ने बताउँछन्। संसारमा सबैभन्दा धेरै इन्टरनेट प्रयोगकर्ता कोरियामा छन्। त्यहाँका किशोरकिशोरीले नै बढी इन्टरनेट प्रयोग गर्छन्। 'त्यही लतका कारण नकारात्मक असर देखियो र आत्महत्याका घटना धेरै भए,' उनले भने।
पहिले झुम्राको पुतली खेलेर हुर्किएका राष्ट्रकवि घिमिरे अहिले भिडियो गेममा झुम्मिएका बच्चा देख्दा छक्क पर्छन्। 'साथी भेला भएर बाहिरफेर खुब खेल्थ्यौं,' उनी भन्छन्, 'अहिलेका बच्चाका लागि खेल्ने ठाउँ नै ल्यापटप बनेको छ। यसले बाहिरी संस्कार खुम्च्याउँदै लगेको छ।'
प्रविधिको अधिक प्रयोगले एकोहोरो र एकलकाँटे हुने, सानोतिनो कुरामा रिसाउने, उत्तेजित हुने, अबुझ हुने, ठूल्ठुलो कुरा माग गर्ने, तलतल लागिरहने, शारीरिक रूपमा निस्त्रि्कय रहने, शारीरिक भद्दापनजस्ता समस्या आउने मनोविद् पाठकको भनाइ छ। त्यही भएर एक दिनमा बढीमा डेढ घन्टाभन्दा धेरै विद्युतीय सामग्रीमा बिताउन नहुने उनी सुझाव दिन्छिन्।
आर्ट थेरापिस्ट लज्जा दीक्षित पनि प्रविधिमैत्री समाजको विकाससँगै अहिलेका केटाकेटीमा अन्तर्क्रियाको बानी कम हुँदै गएको बताउँछिन्। 'यसले बाबुआमासँग टाढा हुने र एकांगीपनको समस्या देखा पर्छ,' उनी भन्छिन्।
भत्कँदै गएको संयुक्त परिवारको संरचनाका कारण बच्चाहरूमा पारिवारिक अन्तर्क्रिया र घुलमिल कम हुँदै गएको राष्ट्रकवि घिमिरेको अनुभव छ। 'बूढीआमाले लोरी गाउँदै बच्चा सुताउने र लोककथा सुनाउने परम्परा हराउँदैछ,' उनले भने, 'एकल परिवार र व्यस्त जीवनशैलीका कारण बच्चाहरूको लालनपालनमा बाबुआमाले ध्यान दिन सकेका छैनन्।'
गाउँ, सहर वा घरको सानो कोठा प्रविधिमार्फत विश्वसँग जोडिएको छ। विश्वमा भर्खरै भएका घटना वा जानकारी इन्टरनेटको तरंगमार्फत थाहा पाउन सकिन्छ। तर बच्चाहरूमा के सिक्ने/नसिक्ने द्विविधा देखा परेको छ। प्रविधिमा देखापर्ने नयाँ प्रयोग नेपाली सन्दर्भअनुसार नभएको कसजू बताउँछन्।
'जति सूचना आउँछन्, ती सबै बाहिरी संसारका बारेमा छन्,' उनले भने, 'प्रविधि प्रयोग गर्ने नानीहरूले आफ्नो समाज–संस्कृतिभन्दा बढी अरूका बारे थाहा पाउँछन, जसले उनीहरूलाई अलग्याउँदै लान्छ।'
पहिला बच्चाहरू के खाने, के लगाउने भनेर बाबुआमालाई सोध्थे। अहिले उनीहरूलाई मल्टीमिडियाले सिकाइरहेको छ। यसले फाइदाभन्दा धेरै बेफाइदा देखिएको कसजूको अनुभव छ।

सहरीकरण
राष्ट्रकवि घिमिरेलाई पहिलेको काठमाडौं सम्झँदा लोभ लाग्छ। खेल्ने र डुल्ने ठाउँको अभाव थिएन। काठमाडौं यसरी साँघुरियो कि, यहाँ खुल्ला ठाउँ भेट्नै गाह्रो भइसक्यो। बच्चा घुमाउने ठाउँ त परै जाओस्, खेल्ने ठाउँसम्म छैन। कतिपय स्कुलका चौरमा राम्रोसँग फुटबल खेल्न सकिँदैन। बढ्दो सहरीकरणले काठमाडौंजस्ता ठूला सहर साँघुरिदैछन्। यसको असर बच्चाहरूको शारीरिक र मानसिक विकाससँग जोडिएको छ।
श्रेष्ठ जापानीज जोक्सको सन्दर्भ सुनाउँछन्, 'जापानमा तिम्रो छोरा कत्रो भयो भनेर सोध्यो भने बाबुआमाले दुई हात दायाँ–बायाँ फैलाएर आकारको संकेत गर्छन्। यसको मतलब, जापानी बाबुआमाले आफ्ना बच्चा सधैं सुतिरहेका देख्छन्। बेलुका घर पुग्दा वा बिहान अफिस हिँड्दा बच्चा सुतिरहेको हुन्छ। त्यसैले उनीहरू बच्चाको वृद्धि खाटको लम्बाइअनुसार गणना गर्छन्।'
'हाम्रो समाज पनि त्यतैतिर लम्किएको छ,' श्रेष्ठ भन्छन्, 'त्यो अवस्थामा पुग्नुभन्दा पहिले नै लालनपालनबारे धेरै जानकारी हुनु जरुरी छ।'
उनका अनुसार सहरमा विलासी जीवन बिताउने बढेका छन्। कतिपय बाबुआमा छोराछोरीको झन्झट सकेसम्म झेल्न नपरोस् भन्ने चाहन्छन्। आर्थिकस्तर बढ्दो छ। ठमेल वा झमेल (झम्सिखेल) मा डिनर लिन चाहन्छन्। बच्चालाई भने होस्टल वा अरूको जिम्मामा छाडिन्छ। उनीहरू बाबुआमाको न्यानो काखबाट वञ्चित रहन्छन्। अभिभावकमा आफ्ना नानीहरूलाई महँगा स्कुलमा भर्ना गराएर मात्र जिम्मेवारी पूरा भएको ठान्ने प्रवृत्ति छ। तर, स्कुल जस्तोसुकै होस्, अभिभावकले पर्याप्त समय आफ्ना केटाकेटीसँग बिताए र उनीहरूसँग अन्तर्क्रिया गरे भने त्योभन्दा ठूलो शिक्षा अर्थोक हुँदैन भन्ने व्यवहारिक लालनपालनको सिद्धान्तले भन्छ।
'म त भन्छु बरु तपाईं सस्तो स्कुलमा हाल्नुस्, तर प्रशस्त समय दिनुस्,' श्रेष्ठ भन्छन्, 'केटाकेटीसँग घुलमिल हुनुस्, उनीहरूलाई घुमाउन लग्नुस्। प्रकृति देखाउनुस्, समाज चिनाउनुस् र साथी बनाउनुस्। वैभवको जिन्दगीमा एक्लै छाड्नुले आमाबाबुको कर्तव्य पूरा हुँदैन।'
केटाकेटीसँग बाहिर घुमफिर गर्नु र खेल्नु भनेको उनीहरूलाई शारीरिक, मानसिक र सांस्कृतिक रूपमा तयार पार्नु पनि हो। श्रेष्ठ यसलाई 'सोसियल प्यारेन्टिङ' (सामाजिक लालनपालन) भन्छन्। केटाकेटीको यो अधिकार सहरीकरणले लुटेको उनको भनाइ छ।
बसाइँसराइसँगै बच्चाहरूले नयाँनयाँ परिवेश र सारसंगत तयार गर्नुपर्छ। 'पहिले खेतमा खेल्न जाने, अम्बा टिप्ने, लामो बाटो हिँड्दै स्कुल जाने वातावरण थियो,' उनले भने, 'सहरी वातावरणमा हार्दिकताको अभाव छ। एकलकाँटे समाजका कारण छिमेकीपन हराउँदैछ।'
शिक्षा, खेलकुद, नयाँनयाँ प्रविधिका कारण बच्चाहरूको इच्छा र चाहना धेरै छन्, तर उचित सरसल्लाह दिनेको अभाव छ। 'अभिभावकको व्यस्तताले त्यतातिर ध्यान छैन,' कसजूले भने, 'बालापनमै उनीहरूको व्यवस्थापन गर्न नसके भविष्यमा समस्या देखा पर्न सक्छ।'
अमेरिकी तथा युरोपेली मुलुकमा जस्तो नेपालका ठूला सहरमा बालबालिका केन्द्रित पुस्तकालय र पार्क छैनन्। 'ती मुलुकका रेस्टुरेन्टमा समेत पढ्ने वातावरण हुन्छ,' कसजू भन्छन्, 'हाम्रोजस्तो अविकसित देशले यी विषयमा ध्यान दिन जरुरी छ।'

प्रतिस्पर्धात्मक शिक्षा
प्रतिस्पर्धात्मक शिक्षाले बालबालिकाको सिकाइ प्रक्रियामा सुधार त ल्याएको छ, तर पढाइको बोझले पर्ने मानसिक असरबारे कसैले चासो देखाएका छैनन्।
नेपालमा नाम चलेका राम्रा निजी स्कुलमा भर्ना गर्न हजारौंको लाइन लागेर फर्म भर्नुपर्ने र साना नानीलाई हजारौंका बीच प्रतिस्पर्धा गराउनुपर्ने बाध्यता देखिन्छ। यसले बच्चालाई थप तनाव र बोझ थपिएको छ। उनीहरूलाई खेल्ने समय छैन। स्कुलमा दिनभरि पढ्नु त छँदैछ, त्यसबाहेक ट्युसन र गृहकार्यको बोझले स्वतन्त्र भएर खेल्ने, छरछिमेकमा घुलमिल हुने समय कटौती गरिदिएको छ।
खेलकुद, संगीत, कम्प्युटरजस्ता नयाँनयाँ थप विषयको भार उनीहरूको कलिलो मस्तिस्कले थेग्न गाह्रो हुने कसजू बताउँछन्।
कोरियामा देखिएको अनुभवबारे उनी सुनाउँछन्– कोरिया यसरी विकसित भयो कि, हरेक बाबुआमाले बच्चाबाट ठूलो आशा राख्न थाले। राम्रो बनाउने खेलमा उनीहरूलाई धेरै भारी बोकाइएको छ। अत्यधिक प्रतिस्पर्धाले जागिर कसरी खाने भन्ने समस्या पनि देखिएको छ। यसले स्कुल छाड्ने प्रवृत्ति धेरै छ। स्कुल छाड्नेमा १२–१३ वर्षका केटाकेटी धेरै भएको कसजू बताउँछन्। नेपालमा स्कुल नभएर वा सुविधाबाट वञ्चित भएर पढ्न नपाएका घटना हुन्छन् भने कोरियामा प्रतिस्पर्धा गर्न नसकेर, बच्चामा ओभरलोड भएर स्कुल छाड्ने प्रवृत्ति धेरै देखिएको छ। ८० प्रतिशतभन्दा कम नम्बर ल्याउँदा स्कुल नै भर्ना हुन नपाउने भएको छ त्यहाँ। यो वातावरण बच्चाका लागि अत्यन्तै चिन्ताजनक भएको कसजू बताउँछन्।
'त्यही भएर संसारकै सबैभन्दा धेरै किशोर किशोरीको आत्महत्या दर कोरियामा देखिएको छ,' उनले भने।
अहिले आमाबाबुको धारणा आफ्ना छोराछोरी पढाइमा जान्ने हुन् भन्नेमात्र छ। सामान्य काम गर्न पनि आउँदैन। चिया बनाउनसमेत नसक्ने अवस्थामा बच्चा हुर्किरहेका हुन्छन्। पढाइसँगै उनीहरूले गर्न सक्ने सामान्य घरायसी काम पनि सिकाउनुपर्ने धारणा राख्छन् कसजू।
यतिमात्र होइन, साना नानीहरूलाई समेत पढाइको अनावश्यक बोझ थोपर्ने चलन बढ्दो छ हिजोआज। हरेक अभिभावक आफ्ना छोराछोरी पहिलो होऊन् भन्ने चाहन्छन्। डाक्टर नै बनाउन खोज्छन्, र त्यही किसिमले किताबमै मात्र एकोहोर्‍याउँछन्। कहिलेकाहीँ यसको नतिजा नकारात्मक पनि हुनसक्छ भन्नेतर्फ धेरैले सोचेका छैनन्।
'केटाकेटीको मनस्थिति विचारै नगरी करिअर लाद्नु पनि अपराध हो, यसले उनीहरूको मानसिक विकासमै असर पुर्‍याउँछ,' मनोविद् पाठक भन्छिन्, 'हरेक केटाकेटीको आफ्नो सोच हुन्छ, आमाबाबुले त्यही सोच पहिल्याएर उनीहरूको रुचिअनुसार मलजल गर्नेतर्फ पहल गर्नुपर्छ।'
यसको निम्ति सबभन्दा पहिला त 'फस्ट' हुनुपर्छ भन्ने दबाबबाट अभिभावकले आफू पनि मुक्त हुनुपर्छ र आफ्ना नानीहरूलाई पनि मुक्त राख्नुपर्छ। त्यसपछि उनीहरूको रुचि कुन विषयमा छ, त्यसैमा केन्द्रित रहेर पठनपाठन वा अभ्यास अघि बढाउनु उपयुक्त हुने उनी बताउँछिन्।

'कम्युनिकेसन ग्याप'
अहिलेका बच्चा डिजिटल मिडियाबाट जति अन्तर्क्रिया गरे पनि त्यो वास्तविक अन्तर्क्रिया नभएको मनोविद् पाठकको भनाइ छ। 'प्रविधिले बाबुआमा र साथीभाइबीचको अन्तर्क्रियामा कमी ल्याएको छ,' उनी भन्छिन्, 'कम्युनिकेसन ग्याप छ। छोराछोरीले बाबुआमासँग कम्युनिकेसन गर्न नपाउनु एक किसिमको अपराधजत्तिकै हो।'
पहिले र अहिलेका बच्चाको खानपानमा धेरै फरक छ। पहिलेजस्तो पोषिलो खानेकुरा धेरैले नपाउलान्, तर बच्चाका लागि अझ धेरै गाह्रो छ। धेरै बच्चा जंक फुडमा रमाएका छन्। जंक फुड खाँदा शारीरिक समस्या पनि देखिएका छन्।
यसमा धेरैजसो आमाबाबुको व्यस्तता र केही हदसम्म 'चलिहाल्छ नि' भन्ने सोचले पनि काम गरेको छ। उदाहरणका लागि, स्कुल जाने नानीहरूलाई बिहान ८ बजे र अझ त्योभन्दा अगाडि नै तयार पार्नुपर्ने बाध्यता हुन्छ। कामकाजी आमाबाबु बिहानै उठेर केटाकेटीका निम्ति खानेकुरा तयार पार्न भ्याउँदैनन्। त्यसैले, आफ्नो सजिलोका लागि जाम–पाउरोटी खुवाइदिने चलन सहरी क्षेत्रमा बढ्दो छ। दिउँसोको खाना खुवाउने स्कुलहरू फस्टाउनुको कारण यही हो। तर, त्यहाँ खुवाइने खानेकुराको गुणस्तरमा न सरकारी निकायको अनुगमन छ, न अभिभावककै ध्यान पुगेको छ।
'चलिहाल्छ नि' भन्ने यही सोच नै असल लालनपालनमा सबभन्दा घातक हुन्छ। यसले केटाकेटीको हुर्काइमै समस्या ल्याउँछ। न उनीहरूले पोषिलो खानेकुरा खान पाउँछन्, न आमाबाबुसँग समय बिताउन सक्छन्, न उनीहरू समाजमै घुलमिल हुन्छन्।
'दौडधुपको यो जिन्दगीमा अभिभावक बन्न सजिलो छैन,' श्रेष्ठ भन्छन्, 'सही लालनपालन गर्न सकिएन भने केटाकेटीले बाटो बिराएको वा उनीहरूको शारीरिक तथा मानसिक विकासमा व्यवधान खडा भएको हेक्कै हुँदैन।'
साँच्नै, केटाकेटी जन्माउनु केटाकेटीको खेल होइन– आधुनिक लालनपालन सार यही हो।


बच्चाको खुसी
केही समयअघि एउटा कार्यक्रममा बाल साहित्य सर्जक शान्तदास मानन्धरसँग बच्चाको खुसीबारे कुराकानी हुँदा उनले निकै रोचक प्रसंगहरू झिके।
'अभिभावकले आफ्ना बच्चा खुसी पार्न मिठामिठा खानेकुरा, खासगरी चक्लेट दिनेबाहेक अरू केही गर्न जानेनन्,' उनले भने। रोयो कि चक्लेट खुवाइदियो। राम्रै कुरा मागे पनि त्यसलाई पन्छाउन चक्लेटकै सहारा लियो।
'हामीसँग पाँच ज्ञानेन्द्रीय छन्। यी सबै ज्ञानेन्द्रीय बच्चालाई खुसी पार्न प्रयोग गर्न सकिन्छ। हामीले मुख वा जिब्रोको स्वादबाहेक अरू प्रयोग गर्न जानेका छैनौं,' उनले प्रस्ट पार्दै भने, 'बच्चाहरूको मन बु‰नुपर्छ, यसको निम्ति मुखको मात्र प्रयोग होइन, आँखा, कान, छाला र नाक पनि प्रयोग गर्न सकिन्छ।' एउटा जाबो खानेकुराको नाममा बच्चालाई भुलाएर राख्नु भनेको उनीहरूप्रति आदर नगर्नु हो भन्ने मानन्धरको धारणा छ।
अभिभावकले आफ्ना केटाकेटीको रुचिअनुसार बेलाबेला नाटक, फिल्म, डकुमेन्ट्री देखाएर उनीहरूलाई खुसी पार्न सक्नुपर्छ। एकातिर यसले मनोरञ्जन दिन्छ भने अर्कातिर ज्ञान। मानन्धरका अनुसार बच्चाहरूलाई आँखाको माध्यमबाट खुसी दिनु नै उनीहरूप्रति आदर गर्नु हो।
यसको निम्ति बच्चाहरूलाई वरिपरिको वातावरणसँग घुलमिल गराउनुपर्छ। नयाँ ठाउँको हावापानी, मान्छेको आनीबानी, ठाउँको बनोटले बच्चाहरू खुसी हुन्छन्। पहाडमा जन्मेका नानीहरू समथर तराई देख्दा छक्क पर्छन्। तराईका नानीहरू अग्ला पहाडसामु रमाउँछन्। उनीहरू आफूलाई घुमाउन लग्ने अभिभावकप्रति सधैं कृतज्ञ हुन्छ। र, तोतेबोलीमा 'थ्यांक यु बाबा', 'थ्यांक यु मामु' भन्दा अभिभावकको निम्ति त्योभन्दा ठूलो खुसी अरू के होला?
बच्चाहरूलाई खुसी पार्न कानको प्रयोग पनि महत्त्वपूर्ण हुन्छ।
बच्चाहरू ज्ञानका भोका हुन्छन्। नयाँ कुरा सुन्न सधैं उत्सुक हुन्छन्। उनीहरूको चाहनाअनुसार कथा, कविता, जोक्स, नाटक, गीतसंगीतजस्ता श्रव्य सामग्री प्रयोग गरेर बच्चालाई खुसी पार्न सकिन्छ। यसले उनीहरूमा अरूको कुरा सुन्ने, सुनेको कुरा बु‰ने र अरूलाई सुनाउने बानी बस्छ।
मानन्धरले आफू अमेरिका जाँदाको घटना सुनाए। 'अर्ली रिडर्स' भन्ने वर्कसपमा थिए उनी। एक अमेरिकीले उनलाई सोधेछन्, 'तपाईंको देशमा बच्चालाई राज्यले के–के आधारमा काउन्ट (आदर) गर्छ?'
मानन्धरले उत्तर दिनै सकेनन्।
'हाम्रो देशमा बच्चाको गन्ती नै छैन। १६ वर्ष पुगेपछि मात्र देशको नागरिक भनेर गन्ती गरिन्छ। त्यसअघि राज्यले गर्नुपर्ने कुनै दायित्व पूरा गरेको छैन,' उनी भन्छन्।
उनले केही उदाहरण दिए — कुनै भोजमा गयो भने अभिभावक टन्न भएर फर्किंदा बच्चा भोकै पर्छ। बच्चालाई भनेर कहीँ पनि, जतिसुकै ठूलो भोजमा खानेकुरा व्यवस्था गरिएको हुँदैन। यसले बच्चाहरू खुसी होइन, निरास भएर फर्किन्छ। 'यो उनीहरूलाई हामी ठूलाले गरेको अपहेलना हो,' उनले भने।
बच्चाहरूलाई स्कुल ड्रेस वा अन्य लुगा सिलाउँदा चाहिनेभन्दा ठूलो सिलाउने चलन छ। यसमा आमाबाबुको तर्क हुन्छ– छिटोछिटो हुर्कने बच्चालाई ठिक्कको सिलाइदिँदा अर्को वर्ष सानो हुन्छ। यसले बच्चाहरू आफूभन्दा ठूलो कपडा लगाउन बाध्य हुन्छन्। मानन्धर प्रश्न गर्छन्, 'के यस्तो स्थितिमा नयाँ कपडा पाएँ भनेर बच्चा खुसी होला त?'
पढाइमा पनि यस्तै स्थिति छ। बालबालिकालाई भनेर लेखिएका साहित्यमा उनीहरूलाई सम्मान गरिएको हुँदैन। बच्चालाई नैतिक शिक्षा, अर्ती दिने खालका बाल साहित्य मात्र लेखिएका छन्। यसले उनीहरू आफूलाई सानो भनेर हेपेको महसुस गर्छन्। यस्तो महसुस गर्नु भनेकै बच्चा दुःखी हुनु हो।
मानन्धरले चीनको अर्को अनुभव सुनाए। नेपालमा जस्तै बच्चाहरूलाई खुसी पार्ने एउटै चलन रहेछ त्यहाँ पनि। नेपालमा बाहिरबाट घर जाँदा मिठाइ–चक्लेट लगिन्छ, चीनमा भने हरेक आमाबाबुले खेलौना लगिदिँदा रहेछन्। यो चलन हाम्रोभन्दा धेरै माथिल्लो श्रेणीको भएको मानन्धर बताउँछन्।
'कुनै बच्चालाई खेलौना किनिदिनु भनेको नयाँ संसारमा प्रवेश गराउनु हो,' उनले भने, 'बच्चासँग पुतलीदेखि जनावर, हवाइजहाजजस्ता अनेकौं खेलौना हुन्छन्, जसले आफ्नै कोठा पनि उनीहरूलाई संसारजस्तो लाग्छ। मिठाइ चक्लेट एकैछिनमा सकिन्छ, खेलौनाले बच्चाहरूलाई बाहिरी संसारको कल्पना गर्न मद्दत गर्छ।'

प्रकाशित: २१ चैत्र २०७० २०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App