६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

धन्न धानेका छन् विभागीयले

चार वर्षअघि चीनको ग्वान्झाउमा भएको १६ औं एसियाली खेलकुदको मार्चपासमा नेपाली सेनाका भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले राष्ट्रिय झन्डा बोकेका थिए।

श्रीलंकाको कोलम्बोमा सम्पन्न १० औं दक्षिण एसीयाली खेलकुद (साग) का स्वर्णधारी कमलबहादुर नेपाली भारोत्तोलनका मुख्य आशा हुन्।

राजेन्द्र भण्डारी नेपाली खेलुकदका अर्का तारा हुन्। पाकिस्तानको इस्लामाबादमा ८ वर्षअघि सम्पन्न नवांै साफको ५ हजार मिटर र ३ हजार मिटर स्टेपल चेजमा गरी दुई रजत पदक जितेका उनले २००६ को कोलम्बो सागमा तिनै विधामा स्वर्ण पदक जितेर सनसनी मच्चाए। डोपिङमा असफल भएपछि उनका पदकले औपचारिक हैसियत गुमाए भने उनले दुई वर्षको प्रतिबन्ध भोग्नुपर्योल। तर, दुई वर्षको प्रतिबन्धबाट फुकुवा हुनेबित्तिकै उनले २०१० मा सम्पन्न बंगलादेश सागमा म्याराथनको स्वर्ण जिते। आयोजकले रुट नाप्न गरेको गल्तीका कारण उनको स्वर्णले यसपालि पनि रोडरेसको मात्र मान्यता पायो।
हरि खड्का, अशोक केसी, धीरेन्द्र प्रधान र रूपकराज शर्माहरू नेपाली फुटबलका सर्वकालीन महान खेलाडीको सूचीमा पर्छन्। नेपाल पुलिस क्लबका यी पूर्व खेलाडी देशमा फुटबल लोकप्रिय बनाउन मुख्य योगदान गर्नेमध्येका हुन्। करातेकी गंगादेवी अधिकारीले बंगलादेश सागमा स्वर्ण पदक जितेकी थिइन्। यसबाहेक थुपै्र अन्तर्राष्ट्रिय पदक जितेकी पुलिसकी उनीबाट नेपाली करातेले योभन्दा ठूलो आशा राखेको छ।
नेपाली खेलकुदलाई व्यावसायिक बाटोमा डोर्या उन सबभन्दा मुख्य भूमिका निर्वाह गरिरहेका नेपाली सेना, नेपाल पुलिस र सशस्त्र प्रहरी बलमा यस्ता थुप्रै खेलाडी छन्, जसले अन्तर्राष्ट्रिय स्तरमा देशको गौरव बढाउन योगदान गरेका छन्। खेलकुद आफैंमा एउटा व्यवसायका रूपमा स्थापित भएमात्र यो क्षेत्र अघि बढ्न सक्छ। विकसित देशको अनुभवले यस्तै बताउँछ। नेपालमा खेलकुदको संस्थागत इतिहास ६ दशकभन्दा पुरानो भए पनि अझैसम्म खेलकुद व्यवसाय बनिसकेको छैन। खेलाडी भएर बाँच्न सक्ने अवस्था सेना, पुलिस र सशस्त्रका विभागीय टोलीसँग अनुबन्धितबाहेकका लागि आइसकेको छैन।
फुटबलले अर्धव्यावसायिक ढाँचामा आफूलाई विकास गर्दै लैजाँदा त्यहाँ खेलाडीको दैनिकी खेलेर थेगिने अवस्था छ। तर, अन्य खेलमा खेलेरै बाँच्नु भनेको अपवादबाहेक छैन। ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गर्दा राज्यबाट पाउने पुरस्कारमात्र खेलाडीको अन्य आम्दानी हो। फुटबलमा खेलुन्जेल राम्रो तलब पाए पनि सामुदायिक क्लबका खेलाडी खुट्टा चल्न छाडेपछि घर न घाटको हुने अवस्था यथावत छ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तेक्वान्दो स्टार दीपक विष्ट विभागीय टोलीको अनुपस्थितीमा नेपाली खेलकुद कल्पना गर्नसमेत नसकिने विचार राख्छन्। ‘विभागीय टोलीले खेलाडीलाई स्थायी जागिर दिइरहेको छ। जसले गर्दा खेलाडी भविष्यप्रति ढुक्क भएर मैदानमा उत्रिन सक्छ,' सागमा लगातार ४ स्वर्ण पदक जितेर कीर्तिमान बनाएका विष्ट भन्छन्, ‘खेलेर पनि जागिर पाइन्छ, घर परिवार चलाउन सकिन्छ भन्ने भयो भने मानसिक रूपमा खेलाडीले शतप्रतिशत दिन सक्छ। खेल संस्कारको विकास हुन्छ। जुन काम नेपालमा विभागीय टोलीले गर्दै आएका छन्।'
खेलविज्ञ सञ्जीव मिश्र पनि विष्टसँग सहमति जनाउँदै भन्छन्, ‘विभागीय टोलीहरूले खेलाडीलाई जागिर दिएर नियमित प्रशिक्षणको व्यवस्था मिलाएकै कारण हामीले आफूलाई अन्तर्राष्ट्रिय स्पर्धाहरूमा उभ्याइरहन सकेका हौं। विभागीय टोली नभएको भए कतिपय खेलमा त हामी सहभागिता जनाउन नसक्ने अवस्थामा हुन्थ्यौं।'
जनशक्तिबाहेक पूर्वाधारमा पनि नेपाली खेलकुदका लागि विभागीय टोलीको भूमिका आडिलो रहँदै आएको छ। सशस्त्रको हल्चोक मैदान तथा आर्मीको लगनखेलस्थित आर्मी स्पोर्टस् सेन्टरका फुटबल मैदान र एथलेटिक्स ट्र्याकले ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा खेल आयोजना गर्ने गरेका छन्। यसबाहेक तीनै विभागका उपत्यकामा उपलब्ध सबै मैदान नेपाली तथा विदेशी टोलीको अभ्यासका लागि उपयोग हुने गरेको छ।

आर्मीः
नेपाली खेलकुदमा आर्मी प्रभावशाली विभागीय टोली हो। खेलाडी उत्पादनको हकमा आर्मी अझ भिन्न छ। अरू विभागले रेडिमेड खेलाडीलाई बढी जोड दिँदा आर्मीले भने विभागभित्रैबाट खेलाडी उत्पादनमा जोड दिँदै आएको छ। 
२०४६ सालमा त्रिभुवन आर्मी क्लब स्थापना भए पनि आर्मी त्यसअघि नै खेलकुदमा सक्रिय थियो। अहिले आर्मीले विभिन्न २० खेलमा ४ सय ५० खेलाडीलाई रोजगारी दिएको छ। त्यसैले राष्ट्रिय खेलकुदको नतिजामा पनि आर्मीको हिस्सा ठूलै छ। आर्मीकै दाबी मान्ने हो भने नेपाली खेलकुदको ४३ प्रतिशत नतिजामा आर्मीको साझेदारी छ। 
प्रधान सेनापति कप राष्ट्रिय महिला फुटबल र खुला राष्ट्रिय हयान्डबल आर्मीले गर्ने मुख्य प्रतियोगिता हुन्। आर्मीले आफ्नो विभागभित्र गण, बाहिनी, गुल्म र पृतनास्तरीय खेलकुद प्रतियोगिता हरेक वर्ष गर्ने गरेको छ। त्यहाँबाट धेरै खेलाडीको प्रतिभा प्रस्फुटित हुने गरेको आर्मीका खेलकुद विभाग प्रमुख प्रकाशजंग कार्की बताउँछन्। 
एथलेटिक्स, तेक्वान्दो, बक्सिङ, सुटिङ, हक्की, भारोत्तोलन, घोगचढी र ह्यान्डबल नेपाली खेलकुदमा आर्मीको वर्चस्व भएका खेल हुन्। ‘स्थापनाकालदेखि नै हामीले खेलकुदको माध्यमबाट देशको प्रतिष्ठा बढाउन योगदान गर्दै आएका छौं,' कार्की भन्छन्, ‘नेपालमा खेलकुद विकासमा विभागीय टोलीको मुख्य योगदान छ। खेलकुदले संगठनसँगै देशकै इज्जत बढाउँछ।'
२ महिनाअघि सकिएको ३९ औं राष्ट्रिय एथलेटिक्समा ३६ मध्ये आर्मीका खेलाडीले १६ स्वर्ण जितेको थियो। क्लब स्थापना भएदेखि नै नेपाली एथ्लेटिक्सको लामो दुरीमा आर्मी खेलाडीले धेरै सफलता प्राप्त गरेका छन्। एथलेटिक्सको अन्तर्राष्ट्रिय पदक नेपाललाई दिलाउनेमा आर्मी अगाडि पर्छ। 
दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने राजेन्द्र भण्डारी र टीका बोगटी आर्मीकै उत्पादन हुन्। आर्मीकै यामबहादुर पुडासैनीले आठौं साफमा १० हजार मिटरमा कास्य पदक जितेका थिए। ज्ञानबहादुर बोहराले साफमा १० हजार र ५ हजार मिटरमा रजत जितेका छन्। आर्मीका धावक गणेश राई र अर्जुन बस्नेत साफका कास्य विजेता खेलाडी हुन्। २०१४ सालमा सैनिक–११ को नाममा सहिद स्मारक ए डिभिजन लिग जितेको आर्मीले अन्य खेलमा बलियो दाबेदारी प्रस्तुत गदै आएको छ। 

नेपाल पुलिस क्लबः 
विभाग गठन भएदेखि नै नेपाल प्रहरी खेलकुदमा कुनै न कुनै रूपमा सक्रिय रहँदै आएको थियो। २०२३ सालमा महेन्द्र पुलिस क्लब गठन हुनुअघिसम्म केन्द्रीय खेलकुद समितिमार्फत पुलिसका खेलाडीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने गरेका थिए। 
क्लब स्थापना भएपछि भने पुलिसको प्राथमिकतामा खेलकुदले थप ठाउँ पायो। लोकतन्त्र स्थापनापछि क्लबको नाम फेरिएर नेपाल पुलिस क्लब भएको छ। तर, खेलकुदमा गर्दै आएको सबैखाले योगदानलाई कायम राख्दै।
खेल जीवनमा पूर्णविराम लगाएर पुलिसको नियमित ड्युटीमा खटिएकाबाहेक हाल पुलिस क्लबमा विभिन्न १३ खेलका १ सय ६१ खेलाडी छन्। 
फुटबल र भलिबलका घरेलु स्पर्धामा पुलिस सुरुदेखि नै सफल टिमका रूपमा रहँदै आएको छ। फुटबल, भलिबल, सुटिङ, बक्सिङ, कबड्डी, भरोत्तोलन, जुडो, कराते, तेक्वान्दो, एथलेटिक्स, टेबल टेनिस, ब्याडमिन्टन र पौडी पुलिसको प्राथमिकतामा परेका खेल हुन्। 
आन्तरिक रूपमा थुप्रै खेलमा प्रतियोगिता गर्ने पुलिसले विगतमा खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता गर्दै आएको थियो। जसले पछिल्लो दुई वर्षदेखि निरन्तरता पाउन सकेको छैन। 
पुलिसले ६ पल्ट सहिद स्मारक ए डिभिजन लिग जितेको छ। भलिबलमा पुलिस पुरुष र महिला दुवैमा च्याम्पियन हो। महिला फुटबलमा पुलिस राम्रो टिमका रूपमा चिनिन्छ। अन्य खेलमा पुलिसका खेलाडीले सशक्त सहभागिता जनाउँदै आएका छन्। घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगितामा महत्वपूर्ण उपलब्धि हात पार्ने खेलाडीलाई पुरस्कृत गदै आएको पुलिस क्लबका खेलाडीलाई हरेक प्रतियोगितामा दाबेदारका रूपमा हेरिन्छ। 
केन्द्रीय खेलकुद समितिका प्रहरी महानिरीक्षक प्रकाश विष्ट विभागीय टोलीको प्रतिस्पर्धाले नेपाली खेलकुदको स्तर बढाउन सहयोग गरेको बताउँछन्। 
‘तीन विभागीय टोलीको उपस्थितीले नेपालका सबै प्रतियोगितामा कडा प्रतिस्पर्धा हुने गरेको छ। यसले नेपालको खेलकुदलाई माथि उठाउन योगदान गरेको छ। हाम्रो संगठनले खेलकुदलाई सुरुदेखि नै विशेष प्राथमिकता राख्ने गरेको छ,' उनले भने, ‘महत्वपूर्ण उपलब्धि हासिल गर्ने खेलाडीलाई प्रोत्साहन गर्ने, युएन मिसन र बढुवा गर्नेजस्ता सुविधाले पुलिसप्रति खेलाडीको आकर्षण बढ्दो छ।'

एपीएफः 
कान्छो विभागीय टोली भए पनि एपीएफले छोटो समयमा नेपाली खेलकुदमा आफ्नो परिचय बनाउन सफल भइसकेको छ। 
२०६१ बैसाख ३१ गते स्थापना भएको सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा विभिन्न १६ खेलका ३ सय ८ खेलाडी छन्। त्यस्तै विभिन्न ९ खेलमा एपीएफले ५२ खेलाडीलाई करारमा अनुबन्धन गरेको छ। 
एपीएफ क्लबले हरेक वर्ष गर्ने राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन, सहवीर स्मृति खुला लन टेनिस र सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुला महिला भलिबल देशको स्तरीय प्रतियोगितामा पर्छन्। सहवीर स्मृति लन टेनिस नेपालको सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिता हो। 
एपीएफ नेपालको नम्बर एक क्रिकेट टिम हो। यसमा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, अमृत भट्टराई, पृथु बास्कोटा, सुवास खकुरेलसहित एक दर्जन खेलाडी छन्। 
एपीएफमा फुटबल, भलिबल, क्रिकेट, ह्यान्डबल, बेसबल, कराते, तेक्वान्दो, बक्सिङ, उसु, जुडो, टेबल टेनिस, ब्याडमिन्टन, एथलेटिक्स, आइटिएफ तेक्वान्दो, जिम्न्यास्टिक र लन टेनिस खेलाडी छन्। ब्याडमिन्टन, भलिबल र एथलेटिक्समा पनि एपीएफका खेलाडी मुख्य दाबेदारका रूपमा देखिन्छन्। स्थापना भएको ९ वर्षमा एपीएफका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा २७ स्वर्ण, २२ रजत र १३ कास्य जित्न सफल भएका छन्। 
राष्ट्रिय प्रतियोगितामा ५ सय २३ स्वर्ण, ३ सय ८५ रजत र ४ सय ११ कास्य एपीएफका खेलाडीले हात पारेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उपलब्धि हासिल गरेको आधारमा एपीएफले क्लबका खेलाडीलाई पुरस्कृत गर्दै आएको छ। त्यस्तै एपीएफले अन्तर्राष्ट्रिय पदक जित्ने राष्ट्रिय टोलीलाई पनि सम्मान गर्दै आएको छ।

प्रकाशित: १५ चैत्र २०७० ००:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App