अंग्रेजी भाषामा साहित्य सृजना गर्ने नेपालीहरूको समूहमा प्रवीणले यो संग्रहसहित सबल उपस्थिति जनाएका छन्। नौ कथा समेटिएको पुस्तकका सुरुका तीन कथा ‘द बोय फ्रम बनौटी', ‘मयापुरी' र ‘फर्चुन' मर्स्याङ्दी नदीको किनारमा अवस्थित आँबुखैरेनीको पृष्ठभूमिमा रचिएका छन् भने ‘द मसिहा', ‘द गेम' र ‘स्टाम्प एन्ड सिग्नेचर' काठमाडौंको पृष्ठभूमिमा तयार गरिएका छन्। मर्स्याङ्दी र बागमती किनारका कथा भन्दाभन्दै प्रवीण क्यालिफोर्निया किनारका कथा ‘द फेस अफ क्यारोलिन फ्लिन्ट' र ‘द भेनिसिङ एक्ट'मार्फत पाठकसम्म ल्याउँछन्। ‘द कन्डोलेन्स पिक्चर' कथामा हिमाली पदयात्रा र काठमाडौं सेरोफेरो पृष्ठभूमिको रूपमा देखा पर्छ।
मानवीय सभ्यता नदी किनारबाटै सुरु भएको मानिन्छ। प्रवीणको कथा पनि मर्स्याङ्दीको किनारबाट सुरु हुन्छ। मानिस प्रेम चाहन्छ, स्वतन्त्रता चाहन्छ। चुली चढ्दै उचाइ चुम्न चाहन्छ। ऊ चेतनाको खोजीमा रहन्छ। प्रवीणका कथा पनि सबै चाहनाको पछि लाग्दै चेतनाकै खोजीमा पुगेर टुंगिन्छन्, भलै कथामा चेतना एउटा पात्रको रूपमा पनि उपस्थित भएकी किन नहोस्।
कथाकारको भाषा सरल छ। यसभित्र नेपाली गाउँघरमा देखिएका परिवर्तन, काठमाडांैमा स्वतन्त्रता र सम्वृद्धिको खोजी गर्दा जीवनमूल्य र संस्कृतिमा आएको ह्रास र परिवर्तन अनि नेपाली डायस्पोराले भोगिरहेको जीवन भेटिन्छ। कथाहरू बिल्कुल नयाँ लाग्दैनन् तर प्रवीणको कथा शिल्पले तिनलाई ताजा बनाएका छन्।
केही फिल्मको पटकथा लेखिसकेका अधिकारीको कथामा त्यसको छाप भेट्न सकिन्छ। उनी कथाको केन्द्रमा प्रवेश गर्नुअघि दृश्य र पृष्ठभूमिको निर्माण विस्तारमा गर्छन् जो स्वयं पनि कथामा पात्र वा विम्ब बनेर छाउँछन्। ‘फर्च्युन' कथाका लोकनाथ काकाले मर्किएको खुट्टा समातेर बसेको एक्लो चौतारी होस् वा ‘द बोय फ्रम बनौटी'को मर्स्याङ्दी नदी। तर अधिकारीको यही शैली कतिपय कथामा भने लामो र पट्यारलाग्दो गरी आएको आभास हुन्छ। पाठकले धैर्य गुमाउने डरसमेत हुन्छ।
उनका सबै कथा उही स्तरका छैनन्। ‘मायापुरी' र ‘द गेम'जस्ता कथा सतही र अपरिपक्व लाग्छन् भने शीर्ष कथा ‘द भेनिसिङ एक्ट' र ‘स्टाम्प एन्ड सिग्नेचर'जस्ता कथा अब्बल स्तरका छन्।
उनका कथामा ग्रामीण गरिबी भोगिरहेका किसान, निर्माणस्थलका मजदुर, सम्वृद्धिको सपनामा दौडिएको मध्यम वर्ग र क्यालिफोर्नियाको बारमा युवतीको पछि लागिरहेको युवक पात्रको रूपमा भेटिन्छन्। फराकिलो पृष्ठभूमि र त्यहीअनुसारका पात्रलाई समेटे पनि प्रवीणले उनीहरूलाई न्याय गरेका छन्।
विकासका योजना र तिनका प्रभावले परिवर्तित आर्थिक वातावरणका कारण नेपालभित्र सहरबजार केन्द्रित बसाइँसराइ बढ्दो छ। स्वतन्त्रता र सम्वृद्धिको खोजमा विदेश जानेको लर्को दिनहुँ बढ्दो छ। आप्रवासी बन्न जानेको संख्या उत्तिकै छ। उनीहरूका कथा सरल र मार्मिक तवरमा भन्न सकेका छन्, प्रवीणले।
यथार्थ र जीवन भोगाइ वरिपरिका कथा भन्दा भन्दै कथाकारले पटकपटक अनुहार परिवर्तन हुने क्यारोलिन फ्लिन्टको अनुहार वा ‘द भेनिसिङ एक्ट' कथाभित्र प्रवेश पाएको मेक्सिकन जादु वा ‘द कन्डोलन्स पिक्चर' कथाभित्रको निरञ्जनको तस्बिरले ल्याएको प्रभावजस्ता अभौतिक लाग्ने प्रसंग पनि कथामा समेटेका छन्। तर ती प्रसंग विम्बका रूपमा छन्, त्यही कारण कथा सबल दरिएका छन्।
यी सबैका बीच प्रवीणका कथालाई संग्रहको आवरण पाकिस्तानी लेखक मोहम्मद हनिफले भनेझैं नयाँ आवाज र सुन्दर सुरुवात भन्न हच्किनुपर्ने स्थिति छैन।
प्रकाशित: १४ चैत्र २०७० २१:३७ शुक्रबार





