५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

किशोरी ‘बेचविखन' मा ओभरसियर पक्राउ

पाल्पा– कक्षा ९ मा पढ्ने तीन किशोरीलाई ‘बेचविखन’ गर्न लागेको आरोपमा प्रहरीले जिल्ला विकास समिति पाल्पाका ओभरसियर सन्तोष कार्कीलाई पक्राउ गरेको छ। कार्कीलाई जिल्ला अदालत पाल्पाले सात दिन हिरासतमा राखी अनुसन्धान गर्न आदेश दिएको छ।‘नाबालकलाई अभिभावकको जानकारी र मञ्जुरीबिना रात बिताउनेगरी अन्यत्र राखेको’ भन्दै अदालतले अनुसन्धानका लागि म्याद थप गरेको हो।
‘नाबालकलाई रात बिताउनेगरी कतै लैजाने हो भने अभिभावकको मञ्जुरी लिएको हुनुपर्छ,’ जिल्ला न्यायाधीश दयानाथ खरेलले भने, ‘यो घटनामा अभिभावकलाई थाहै नदिई अन्यत्र राख्ने प्रपञ्च गरेको र नियत सफा नदेखिएकाले म्याद थप गर्न उचित ठानिएको हो।’ घटनामा परेका तीनैजना किशोरी १६ वर्षभन्दा कमका छन्। पक्राउ परेका सन्तोष पाल्पा मस्याम–१ का हुन्।
किशोरीको वयानका आधारमा प्रहरीले सन्तोषलाई नियन्त्रणमा लिएको हो। ‘अदालतमा पेस गरी थप अनुसन्धानका लागि एक साताको म्याद थपिएको छ,’ पाल्पाका प्रहरी प्रमुख डिएसपी शिव श्रेष्ठले भने ‘प्रारम्भिक अनुसन्धान र किशोरीको वयानका आधारमा बेचविखन गर्ने नियत देखिएको छ।’
कार्कीले किशोरीलाई जागिरको प्रलोभन दिएर बुटवल लैजान लागेका थिए। बुटवल लगेर होटलमा काम लगाइदिन्छु भनेको उनीहरुले प्रहरीमा बयान दिएका छन्। कार्कीले एकजनालाई सेक्युरिटी गार्ड र दुईजनालाई वेटरमा ७० देखि ९० हजार तलब दिनेगरी जागिर लगाउने प्रलोभन दिएको वयानमा छ। 
प्रहरी स्रोतका अनुसार चैत ६ गते एक किशोरीका बाबुले छोरी हराएको उजुरी प्रहरीमा दिएका थिए। अर्को दिन बाँकी दुईजनाको घरबाट समेत खोजीका लागि उजुरी परेपछि प्रहरीले सक्रियता बढाएको थियो। प्रहरीले सन्तोषलाई ८ गते दिउँसो तानसेनबाट नियन्त्रणमा लिएको थियो भने किशोरीलाई सोही दिन बेलुकी ८ बजे बारुदखानस्थित साथीको कोठामा फेला पारेको प्रहरी निरीक्षक राजकुमार खिउँजुले बताए।
८ गते बिहान किशोरीलाई बुटवल पुर्यातउने योजना रहेको उनीहरुको वयानमा छ। प्रहरी सक्रियता बढेको सुइँको पाएपछि ‘बुटवल प्लान क्यान्सिल भयो, तिमीहरू घर जाओ’ भनेर सन्तोषले फोन गरेको किशोरीले बताएका छन्। प्रहरीका अनुसार चैत ६ गते बेलुकापख तानसेनको एक होटलमा तीनै किशोरी र सन्तोष खाजा खान पसेका थिए। 
अघिल्लो दिन (६ गते) खाजा खाएर फर्केका उनीहरु भोलिपल्ट (७ गते) बेलुका उही होटलमा गएका थिए। होटलमा बेलुका आठ बजे इन्ट्री गरेको रेकर्ड छ। होटलको कोठा कार्कीले बुक गराएका थिए र रेकर्ड बुकमा नाम, ठेगाना र फोन गलत लेखिएको थियो। ‘केटा र केटी सँगै बस्ने हो भने कोठा दिँदैनौं भन्यौं,’ होटल सञ्चालकले भने ‘केटी मात्रै एउटा कोठामा बस्ने भनेपछि कोठा दिइएको हो।’ उनीहरु होटलमा गएको र बाहिर निस्केको होटलको सिसिटिभी क्यामेरा फुटेजमा पनि देखिएको डिएसपी श्रेष्ठले बताए। भिडियोमा उनीहरुसँगै कार्की पनि देखिएका छन्। ८ गते बिहान ७ बजे किशोरीले होटल छाडेका थिए।
कार्कीले भने आफूलाई फसाइएको बताएका छन्। ‘मलाई फसाइएको हो, अन्याय भयो,’ उनले नागरिकसँग संक्षिप्त प्रतिक्रिया दिए। कार्कीका परिवारले पनि योजनाबद्ध रुपमा उनलाई फसाइएको बताएका छन्।

प्रकाशित: १४ चैत्र २०७० २०:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App