१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्य

अपराध बढेपछि प्रहरी सतर्क

म्याग्दी- जिल्लामा पछिल्लो समय आपराधिक गतिविधि बढेसँगै प्रहरीमाथि सुरक्षा चुनौती थपिएको छ। पछिल्ला तीन महिनामा मात्रै दुई जनाको हत्या भएको छ, २१ महिला सम्पर्कविहीन छन्। प्रहरी कार्यालयमा हत्या, कुटपिट, बलात्कारका उजुरी थपिँदै छन्।गत माघ २६ गते हिस्तान, औलमा सोमबहादुर गर्बुजाको हत्या भयो। अनुसन्धानले स्थानीय रूपबहादुर पुर्जा, चन्द्रबहादुर रतिन्जालगायतले हत्या गरेको पत्ता लाग्यो। हत्याका लागि पटकपटक बैठक बसेका उनीहरूले गोली हान्ने व्यक्ति (सुटर) भाडामा लिन तीन लाख रकमसमेत संकलन गरे। सहयोगी धनसुबा पुर्जा र पुनिसा रतिन्जा पैसा बोकेर सुटर खोज्दै पोखरासम्म पुगे पनि कुरा नमिलेपछि आफैंले हत्या गरेको बयान उनीहरूले प्रहरीलाई दिएका छन्। 'यो घटना गम्भीर छ। उनीहरूले सुटर खोज्न सम्पर्क गरेका व्यक्तिको खोजी भइरहेको छ,' प्रहरी नायब उपरीक्षक जनार्दन जिसीले भने। घरेलु हतियारको प्रयोग र आपराधिक गतिविधि बढेपछि सुरक्षा रणनीति बलियो बनाउने तयारी थालिएको उनले जानकारी दिए। 'स्कुले विद्यार्थीसमेत दिउँसै खुलाबजारमा ग्याङफाइट गर्छन्, पन्ध्र वर्षभन्दा कमका भएकाले अदालतको आदेशमा छोड्नुपर्यो ,' प्रहरी सहायक निरीक्षक कृष्ण बेलबासेले भने। 
मदिरासेवन गरेका युवाहरूले हत्या गरेका जामुनाखर्कका श्याम जैशीको शव तीन दिनपछि भेटिँदा प्रहरीलाई अनुसन्धानको मेसो भेट्न गाह्रो परेको थियो। घटनास्थलबाट १० मिनेट टाढा भिरबाट फ्याँकिएको अवस्थामा शव भेटिएको थियो। 'हत्यापछि लास लुकाउन गरेको प्रयासले अपराधमा योजनाबद्ध सहभागिता हुने गरेको देखाउँछ,' अनुसन्धान विभागका एक प्रहरीले भने । यस घटनाका अभियुक्त पत्ता लगाउन विभिन्न रणनीति प्रयोग गरिए पनि यस्ता अपराध दोहोरिनै नदिन प्रहरीले सतर्कता अपनाउनुपर्ने उनले बताए। 
हत्या, कुटपिटसँगै घरेलु हिंसा, बहुविवाहलगायत कारणले तीन महिनामा २१ महिला हराएको उजुरी प्रहरीमा परेपछि खोजीका लागि प्रहरीले छुट्टै टोली परिचालन गरेको छ। 'मौखिक उजुरी धेरै छन्, यो मानव तस्करीको घटना हुन सक्नेतर्फ सतर्क छौं,' एक प्रहरीले भने। उनका अनुसार अन्य जिल्लाको तुलनामा आत्महत्याका घटनामा समेत बढेका छन्। यसका लागि प्रहरीले चेतनामूलक गतिविधि सञ्चालन गर्ने तयारी गरेको छ। 
अपराधीलाई राजनीतिक संरक्षण 
अपराधमा संलग्नहरूलाई राजनीतिक दलको संरक्षणका कारण प्रभावकारी कारबाही गर्न नसकिएको प्रहरी बताउँछ। थुप्रै उदाहरणमध्येको एउटा हो, जैशी हत्या प्रकरण। हत्यामा संलग्न दिनेश बरुवाललाई प्रहरीले सार्वजनिक अपराध, चोरी र मापसे मुद्दामा दसपटकसम्म हिरासतमा लिएको थियो। 'राजनीतिक प्रेसरले छुट्ने गरेकाले बरुवाल सधैं गाउँलेलाई सताउँथ्यो,' एक प्रहरी अधिकारीले भने। अपराधी छुटाउन स्थानीय दलहरूले केन्द्रबाटै समेत दबाब दिलाउने गरेको उनी बताउँछन्। 
'राजनीतिक दबाबमा छुटेपछि अपराधीको मनोबल अझ बढ्छ, फेरि अपराध गर्छ,' नागरिक समाजका संयोजक सुर्दशनकुमार श्रेष्ठले भने। प्रहरीलाई दलको सहयोग हुने हो भने ५० प्रतिशत अपराध कम हुने उनी देख्छन्।

प्रकाशित: ८ चैत्र २०७० २२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App