रामचन्द्रः म्युजिक प्वाइन्ट स्टुडियोमा। 'श्रीनगर डाँडैमा फूल फुल्यो' भन्ने गीत डोयट गाउनुपर्ने थियो। रमेश अधिकारी दाइ ले 'एक जना नयाँ ट्यालेन्ट छिन्, उनलाई चान्स दिउँ्क न त' भनेपछि रेकर्डिङकै सिलसिलामा भेट भएको हो।
जुनुः मैले चाहिँ उहाँलाई त्यसअघि दुई चोटि भेटिसकेकी थिएँ। गन्धर्व संगीत पाठशालामा उहाँ पनि सिक्नुहुन्थ्यो, म चाहिँ नयाँ विद्यार्थी थिएँ। सरस्वती पूजामा पनि उहाँ आउनुभएको थियो। त्यो त तेस्रोपटक थियो।
भेट अझ पहिल्यै भएको रहेछ!
रामचन्द्रः मैले 'प्वाइन्ट आउट' गरिनछु।
जुनुः उहाँ त्यतिबेलाको हिट गायक, म चाहिँ भर्खर सिक्दै गरेकाले त्यस्तो भएको हुनुपर्छ। तर, सरस्वती पूजाको दिन प्वाइन्ट आउट गरेको भनेर पछि भन्नुहुन्थ्यो त!
भेट हुनुअघि जुनुजीलाई रामचन्द्रजीको कुन गीत असाध्यै मन पर्थ्याे?
जुनुः 'लाठी चार्ज', 'सुनको बाला', 'काला कुर्तैले' निकै मन पर्थे। हाम्रो गुरुले टप गायकको गीत हामीलाई पनि सिकाउनुहुन्थ्यो। त्यसमा उहाँका पनि पर्थे।
पहिलो पटक जुनुजीको स्वर सुन्दा कस्तो लागेको थियो?
रामचन्द्रः भन्छन् नि, 'फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन'। मलाई पनि पहिलो चोटि नै उनको स्वर र स्वभावले प्रभाव पारेकै हो। धेरै गायिकासँग काम गरिसकेको थिएँ। तर, नयाँ आउनेमा यिनीजस्तो प्रतिभावान् भेटेको थिइनँ।
'श्रीनगर डाँडैमा फूल फुल्यो' भन्ने गीत रेकर्ड नहुँदै तपार्इंको मुटुमा प्रेमको फूल फुलिसकेको रहेछ!
जुनुः मलाई गीतकारले चाहिँ 'रामकृष्ण ढकाल वा रामचन्द्र काफ्ले एउटा गायकसँग तिम्रो डोयट पर्न सक्छ' भन्नुभएको थियो। तर, संयोगले उहाँसँगै परेछ। राम्रो गायकसँग गाउन पाइयो भन्ने थियो। राम्रो स्वर, लुक्स पनि राम्रो थियो। (रामचन्द्रतिर हेर्दै) अहिले पनि छ! त्यति मात्रै लागेको थियो।
जुनुजीमा पनि प्रेम पलाउने गरी कहिले प्रभावित गरियो?
रामचन्द्रः तीन महिनापछि एचआईभी एड्सविरुद्ध जनचेतना जगाउने एउटा जिंगलको काम लिएको थिएँ। नारी स्वर यिनकै राख्ने विचार गरेँ। डेढ मिनेटको पारिश्रमिक पाँच हजार रुपैयाँ दिएको थिएँ। सायद त्यसले इम्प्रेसन गरेको हुनुपर्छ। किनभने 'यत्रो पैसा किन दिनुभएको?' भनेकी थिइन्। मैले पनि राम्रै पाएको छु भनेको थिएँ।
जुनुः नयाँलाई ठग्ने/ढाँट्ने यो क्षेत्रमा भइरहन्छ। तर, उहाँले त्यस्तो गर्नुभएन। मान्छे मनको पनि सफा रहेछन् भन्ने लागेको थियो।
प्रेम अभिव्यक्त कहिले गर्नुभयो?
जुनुः एउटा गीतको सुटिङका लागि चोभार गएका थियौँ। एउटै गाडीमा जाँदा उहाँले खुब 'फ्लर्टिङ' गर्नुभएको थियो। दिउँसो पनि जिस्किनुभयो। बेलुका ट्याक्सीमा सँगै घर फकर्िंदा उहाँले आफूलाई एकदमै महत्वपूर्ण व्यक्ति भएको झल्काउँदै भन्नुभएको थियो, 'मलाई चाहने पनि धेरै छन्, तिमीलाई मन पराएपछि तिनीहरूलाई साइड लगाउनुपर्छ।'
रामचन्द्रः मलाई पनि मन परेको, गीतकार रमेश दाइले 'भाइ बेला भा'छ, यत्तिको केटीलाई बिहे गर्यौ् भने राम्रै हुन्छ' भन्नुभएकाले त्यो दिन मन पराएको कुरा सुनाएको थिएँ।
उहाँको प्रस्ताव कतिपछि स्विकार्नुभयो?
जुनुः मलाई उहाँले प्रस्ताव गर्नुहुन्छ भन्ने त्यसभन्दा अघि नै लागिसकेको थियो। मसँग उहाँले गर्ने व्यवहारले मनभित्र त्यस्तो महसुस भएकाले आमालाई 'एउटा सिनियर गायकको प्रस्ताव आउने सम्भावना छ' भनिसकेकी थिएँ। उहाँले घुमाएर प्रस्ताव राखेकाले एस/नो भनिहाल्नुपर्ने अवस्था थिएन। एक महिनासम्म प्रतिक्रिया दिइनँ।
तपाईं पनि उहाँको प्रेममा परिसक्नुभएको रहेछ। एक महिनासम्म प्रतिक्रिया नदिँदा उहाँको मन मोडिएला भन्ने डर लागेन?
जुनुः लागेन। प्रस्ताव आउने र 'रिजेक्ट' गर्ने सिलसिला निकै चलिसकेको थियो। बाह्र वर्षकै उमेरदेखि स्टेजमा गीत गाउन थालेकाले प्रस्ताव गर्नेको संख्या निकै पुगिसकेको थियो। त्यसैले उहाँको प्रस्ताव पनि त्यही सिलसिलामा परेको जस्तो भयो। योजना पनि चार वर्षअघि बिहे नै नगर्ने भन्ने थियो।
लामो समय प्रतिक्रिया नपाउँदा तपाईंलाई कस्तो महसुस भएको थियो?
रामचन्द्रः नाइँ, भन्दिनन् होला भन्ने ढुक्कै भएर प्रस्ताव गरेको थिएँ। नाम छ, कमाइ पनि राम्रै छ, किन मन नपराउलिन् जस्तो लागेको थियो। तर, लामो समय प्रतिक्रिया नआएपछि भने ममा पनि केही खोट छ कि क्या हो? भन्ने लाग्न थालेको थियो। म्युजिकमै रहेकीसँग विवाह गर्ने सोच भएकाले यत्तिकी केटी पाइँदैन भन्ने लागेर जसरी पनि मनाउँछु भन्ने सोच बनाइसकेको थिएँ।
मन पराएको कुरा पहिलोपल्ट कसलाई सेयर गर्नुभयो?
रामचन्द्रः परिवारले डाक्टरदेखि इन्जिनियरसम्मका प्रस्ताव ल्याएर पनि अस्वीकार गरेर बसेको थिएँ। उनलाई मन पराएपछि परिवारको डर लाग्यो। मेरो रोजाइ त्यति राम्रो परेन भने परिवारले 'हामीले भनेको मानिनस्, दुःख पाइस्' भन्ला भन्ने डर! त्यसैले आफ्नो जिम्मेवारी आफैँले वहन गर्नुपर्छ, सबै कुरा बुझेर मात्रै बिहे गर्नुपर्छ भन्ने लागेर गायक भरत सिटौलालाई 'कस्तो केटी हो, बुझ् न' भनेर सेयर गरेको थिएँ। उसले 'यत्तिको केटी भएपछि तिम्रा लागि साह्रै राम्रो हुन्छ, आरसी' भनेको थियो। एक जना अर्काे दाइलाई पनि कुलघरानसम्म बुझ्न लगाएको थिएँ।
जुनुः मैले आमालाई भनेँ। केही कुरा पहिल्यै चुहाइसकेकी थिएँ। आमा खुसी हुनुभयो, किनकि आफ्नो सन्तानलाई अरूले मन पराएको सबै अभिभावकलाई मन पर्छ। तर, 'राम्ररी बुझेर मात्रै अघि बढ्' भन्नुभयो।
तपाईंले कस्तो अवस्थामा स्विकार्नुभयो?
जुनुः उहाँ बाठै हुनुहुन्थ्यो। मैले प्रतिक्रिया नदिएको त्यो समयमा उहाँले फोन धेरै गर्नुभयो। राति २ बजे पनि गर्नुहुन्थ्यो। 'तिमी मलाई मन पराउँछ्यौ, आई लभ यू टू भन त' भन्नुहुन्थ्यो। त्यस्तै फकाउनका लागि 'मैले सम्झेकै बेला तिम्रो फोन आउँछ, हामी एकअर्काका लागि बनेका हौँ' आदि/इत्यादि भन्नुहुन्थ्यो। मलाई उहाँ मन पर्नुहुन्थ्यो। आमाले पनि यत्तिको 'केयरिङ' केटा भएपछि हुन्छ भन्नुभएको थियो। म केही भन्दिनथेँ। एकदिन 'आई लभ यू टू' भनिछु क्यारे!
त्यसपछि बिहे गर्ने योजना बन्यो होला!
जुनुः प्रेम प्रस्ताव स्विकार्ने समयमा म विराटनगरमा थिएँ। परिवारबाट चाहिँ 'अफेयर चलाउँदै नचलाउनू, चलाएपछि पाँच/सात महिनामै बिहे गरिहाल्नू' भन्ने सुझाव थियो। पछि कारणवश प्रेम टुट्यो भने 'क्यारेक्टर'को कुरा पनि आउँछ भनेर यस्तो भन्नुभएको थियो। मेरो योजना पनि त्यस्तै थियो। कि त बिहे नगर्ने, कि अफेयर नलम्ब्याई बिहे गर्ने। त्यसपछि काठमाडौँ आएँ। उहाँसँग कुरा गरेको त चार/पाँच वर्ष बिहे नगर्ने योजना सुनाउनुभयो। कम्ता रिस उठेन। म निकै रिसाएपछि डेढ वर्षमै बिहे भयो।
पहिलो उपहार के दिनु/पाउनुभएको थियो?
जुनुः पहिलो उपहार राम्रै दिनुभएको थियो। हङकङबाट सुनको सिक्री र लकेट, औँठी, ब्रासलेट र टिसर्ट ल्याइदिनुभएको थियो। अझ कानमा लगाउने रिङ थियो। उपहार हेरेर छक्कै परेकी थिएँ।
रामचन्द्रः आँटै गरेर किनेको थिएँ नि। त्यतिबेला १२ सय डलर उपहारका लागि खर्चेको थिएँ। जसरी पनि आफ्नो बनाउनुपर्ने जो थियो।
फर्स्ट डेट कहाँ गइयो?
जुनुः गोदावरी गएका थियौँ।
रामचन्द्रः होइन। शुक्रवार साप्ताहिकको अफिसनेर (चाइना टाउन), हो, त्यहीँ गएका थियौँ। किनभने, हङकङबाट पैसा आउनेवाला थियो। उसलाई सपिङ पनि गराउँछु भनेर बोलाएको थिएँ। हिउँ परिरहेको थियो। त्यही दिन कफीसपमा लिएर पहिलोपल्ट उनको हात समाएर प्रेमको तातो अनुभूति लिएको थिएँ।
भ्यालेन्टाइन्स डे पनि मनाउनुभएको थियो?
रामचन्द्रः मनाइएन। अफेयर चलेपछि हाम्रो त सधैँ भ्यालेन्टाइन्स डे भयो।
जुनुः मलाई त यो दिनको ब्याड इम्प्रेसन थियो। स्कुलमा पढ्दै गर्दा 'त्यो दिन गुलाब अस्वीकार गर्नुहुन्न' भन्ने हावा थियो। त्यसैले वर्षभरि बाल नदिइएका केटाहरू त्यही दिन गुलाब लिएर बस्थे, दिक्कलाग्दो!
म्युजिकबाहेक तपाईंहरूका समान रुचि के–के हुन्?
रामचन्द्रः गेममा दुवैको रुचि छ। पहिला म सिकाउँछु, पछि उसले जित्छे। क्यारेमबोर्ड मैले सिकाएँ, उसले नै जित्न थाली। चेस पनि मैले नै सिकाएको। पछि उसले नै जित्न थाली।
तपाईंहरूलाई एकअर्काले गाएकामध्ये कुन गीत असाध्यै मन पर्छ?
रामचन्द्रः 'हिमाललाई ढाक्यो कान्छा हिउँको पछ्यौरी'ले मन पर्छ।
जुनुः धेरै गीत छन्।
सँगै गीत गाउन कहाँ–कहाँ पुग्नुभएको छ?
जुनुः नेपालका अधिकांश ठाउँमा पुगेका छौँ। आरसी पश्चिमको भएर पश्चिमका धेरै ठाउँ पुगियो। म पूर्व विराटनगरको हुँ। तर, माइतीले त्यति बोलाउँदैनन्। युरोपका सात वटा देश, हङकङ, मलेसिया पुगेका छौँ।
गायनमा चाहिँ एकअर्काबाट के–के सिकियो?
जुनुः लोकदोहोरीमा सवालजवाफ गर्न पनि सिकियो। उहाँलाई चाहिँ हिन्दी गीत गाउन सिकाउँछु।
एकअर्कालाई माया त गर्नुहुन्छ नै। झगडा चाहिँ कत्तिको गर्नुहुन्छ?
रामचन्द्रः पहिला गर्लफ्रेन्ड–ब्वाइफ्रेन्ड थियौँ, त्यतिबेला माया नै माया! त्यसपछि बीचमा श्रीमान्–श्रीमती भइयो। त्यतिबेला चाहिँ अलिअलि हुन्थ्यो तर पाँच मिनेट टिक्थेन। अहिले साथी–साथी भएका छौँ, झगडा नै हुँदैन भने पनि हुन्छ।
प्रकाशित: २ फाल्गुन २०७० ०१:३० शुक्रबार





