“यो क्याम्पस पद्म शमशेर राणाले खोलेका हुन्। पहिले अविवाहिताहरू मात्रै पढ्थे। तिनका लागि खोलिएकाले यस क्याम्पसको नाउँ 'पद्म कन्या क्याम्पस' राखिएको हो।” एक जना वयोवृद्ध दन्तहीन गिजा देखाउँदै जान्ने पल्टिए।
कन्या र कुमारी यी दुई शब्द समानार्थी अथवा पर्यायवाची हुन् कि होइनन् त? म अकमकाएँ।
नेपालमा कुमारीलाई जीवित देवी मानेर पूजा गर्ने तान्त्रिक परम्परा वा प्रचलन प्रसिद्ध छ। यद्यपि यो परम्परा पौराणिक नभएर ऐतिहासिक हो। कुमारीको विवाह हुँदैन। कुमारीको त रजस्वला पनि भएको हुँदैन। गोडैमा ढोग्नुपर्ने पूजनीय चरित्र कुमारीको थप विशेषता हो।
मजस्तो अधबैँसेलाई देख्दासमेत सिट्ठी बजाएर बोलाउने अचेलका कन्या–क्याम्पसे ठिटीहरू किमार्थ कुमारी होइनन्। अङ्ग्रेजीमा कुमारीलाई 'भर्जिन' पनि भन्छन् क्यारे। हाम्रो कुमारी शब्द उनको भर्जिनभन्दा धेरै पवित्र छ।
विवाहिताहरू पनि कन्या हुन सक्छन्। कुमारी हुन किमार्थ सक्तैनन्। मानस–पति बनाइसकेकाहरू पनि कुमारी हुन सक्तैनन्। कन्या हुन चाहिँ कुमारी रहन जस्तो विवाह अथवा यौन–सम्बन्धी आचार–संहिता पालना गर्नै पर्छ भन्ने छैन। हाम्रा पूजनीया पाँच कन्याहरू बहुपतिवाला थिए। ऋषिपत्नी अहल्याको सतीत्व इन्द्रले खोसिदिएकै हुन्। द्रुपदकन्या द्रौपदीका पाँच पति पाण्डवहरू नै थिए। बालिकी पत्नी ताराले सुग्रीवसँग पनि विवाह गरिन्। कुन्तीका पनि सूर्य, धर्मराज, वायु र इन्द्रसमेत गरी चार पति थिए। रावणकी पत्नी मन्दोदरीले विभीषणसँग विवाह गरेकी हुन्। बहुपति भएकाहरू नै कन्या थिए यद्यपि उनीहरू सबै जितेन्द्रिय थिए। उत्ताउला र छिल्लिएका थिएनन्। हामी स्पष्ट हुन सक्छौँ विधवाहरू र विधिवत् सम्बन्ध–विच्छेद गरी एकल भएकाहरूलाई पुनः कन्यादान गर्न सकिन्छ। ती कन्या नै भइरहन्छन्। वैधव्य बाध्यता हो, रहर होइन। सामाजिक अनुशासनका लागि विधवा–विवाह आवश्यक र अनिवार्य हुन सक्छ,। पुत्रवती वा पुत्रीवतीहरू पनि कन्या हुन सक्दा रहेछन्। यदि अनुशासनबद्धा कुनै एकल महिला अथवा विधवाले उनको अनुकूल वर पाइन् भने कृपया, निर्धक्कसँग तिनको कन्यादान गरी पुण्य आर्जन गर्नुहोला।
प्रकाशित: २ फाल्गुन २०७० ००:५४ शुक्रबार





