दोस्रो सेट चलिरहँदा पिठ्युमा चोट लागेपछि नाडाल रिटायर्ड हर्ट हुने अवस्थामा पुगेका थिए। तर, केही समयको मेडिकल टाइम आउटबाट ठिक भएर मैदान फर्किए पनि मेलबर्न पार्कमा नतिजा उल्टाउन सकेनन्।
'राफा म तिम्रा लागि साच्चै दुखि छु। तिमी एउटा महान खेलाडी र मानिस हौं। तिम्रो चोट चाढै निको होस भन्ने कामना गर्छु,' पहिलो ग्राण्ड स्लाम जितेपछि नाडालबारे वारिन्काले भने, 'गतवर्ष एउटा महत्वपूर्ण खेल हार्दा रातभर रोएँ। तर, अहिले लगातारको मेहनतको फल पाएको छु।'
गतवर्ष अस्ट्रेलियन ओपनको चौथो चरणमा वारिन्का नोभाक जोकोभिचसँग पाँच सेटसम्म संघर्ष गर्दै पराजित भएका थिए। त्यो २०१३ सिजनको ग्राण्ड स्लाममा सबभन्दा लामो समय चलेको प्रतिस्पर्धा थियो। उक्त संस्करणमा उपाधि जितेका जोकोभिचले पाँच सेट चलेको युएस ओपन सेमिफाइनलमा पनि वारिन्कालाई हराएका थिए। तर, वारिन्काले यसपाली सबैको बदला लिने क्रममा तीन पटकका साविक विजेता जोकोभिचलाई क्वाटर फाइनलमै पराजित गरे।
उपाधिसम्मको यात्रा तय गर्दा विश्व वरियताक्रमको पहिलो र दोस्रो स्थानमा रहेका खेलाडीलाई हराउन सफल वारिन्का आठौंबाट तेस्रो वरियतामा उक्लिने भएका छन्। सेमिफाइनलमा नाडालसँग पराजित भएका १७ पटकका ग्राण्ड स्लाम विजेता फेडेररलाई वरियताक्रममा उनले पछि पार्नेछन्।
'वारिन्का आज जितको पूरा हकदार थिए। त्यसैले म उनलाई बधाई दिन चाहन्छु,' नाडालले भने, 'आज भाग्य मेरो विरुद्धमा थियो र उनी जितको लायक थिए। पछिल्लो दुई साता मेरा लागि निकै भाभुक रहयो। मैले धेरै कडा मेहनत गरेको थिएँ, तर यो अवस्थामा पुगेर निराश हुनुपर्दा मलाई ज्यादै दुख लागेको छ।'
प्रकाशित: १२ माघ २०७० २१:५४ आइतबार


-600x400.jpg)


-600x400.jpg)