१० माघ २०८२ शनिबार
image/svg+xml
अन्य

खेल विकास बारे गगन थापाले के भने?

काठमाडौं– नवनिर्वाचित सभासदद्वय गगन थापा र रवीन्द्र अधिकारीले खेलकुद विकासका लागि राजनीतिक क्षेत्रले सरकारलाई घच्घच्याउनुपर्ने बताएका छन्।एसियाली पत्रकार संघ (आजा) नेपालले सोमबार गरेको अन्तरक्रियामा बोल्दै कांग्रेस सभासद थापाले भने, 'खेलकुद राष्ट्रिय एकतालाई जोड्ने सबैभन्दा प्रभावकारी क्षेत्र हो । राजनीति यसको विकासमा सहयोगी हुनुपर्छ ।'

उनले विभिन्न खेलमा स्कुल र कलेजस्तरमा लिगको व्यवस्था गरिनुपर्ने तथा भौतिक पूर्वाधार क्षेत्रमा सरकारले नै ठूलो लगानी गर्नुपर्ने विचार राखे । 'अहिले नेपाली क्रिकेट विश्वकपलाई छनोट भएको छ । हाम्रो देशले पछिल्लो महिना पाएका दुई ठूला उपलब्धिमा एउटा निर्वाचनको सफलता र अर्को नेपाली टोली ट्वान्टी–२० विश्वकपमा छनोट हुनु हो,' थापाले भने, 'भौतिक पूर्वाधारको हकमा मुलपानीमा बन्दै गरेको रंगशाला अझै ठूलो स्वरुपमा दुई वर्षभित्र तयार गरिनुपर्छ र म त्यसका लागि भूमिका खेल्न तयार छु ।'

नेकपा एमालेका सभासद अधिकारीले राजनीतिक दलहरूले चुनावी घोषणापत्रमै खेलकुदलाई सम्बोधन गर्न थाल्नुले यसको महत्ज प्रस्टिएको बताए । उनले राज्यको प्राथमिकता विभाजित भए पनि खेलकुदलाई न्यायोचित महत्व दिलाउन योगदान गर्ने प्रतिबद्धता जनाए। 'अहिले हामीकहाँ सबै क्षेत्रमा धेरै गर्नुपर्ने अवस्था छ । त्यसैले धेरै ठूलो अपेक्षा नगरौं । तर, राज्यको दायित्व पूरा हुनैपर्छ । त्यसका लागि तपाईहरूले घच्घच्याइरहनुस् । हामी पनि सरकारको ध्यान तानिरहने छौं,' उनले भने।

कार्यक्रममा एनेकपा माओवादीका प्रतिनिधि प्रशान्त, नेपाल क्रिकेट संघका महासचिव अशोकनाथ प्याकुरेल, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दास, आजा नेपालका अध्यक्ष विष्णु निष्ठुरी र पत्रकार निरञ्जन राजवंशीले क्रिकेट टोलीले पाएको सफलता संस्थागत गर्न राज्यले लगानी गर्न कञ्जुस्याइँ गर्न नहुने बताए ।

प्रकाशित: ८ पुस २०७० २०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App