११ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

ढोरपाटन भलिबलमा ११ टोली

काठमाडौं– अर्को महिना राजधानीमा सुरु हुने नवौं ढोरपाटन ब्लुस्काई कप टिभिएस महिला डबल लिग भलिबल च्याम्पियनसिपमा एक विदेशीसहित ११ टोलीको सहभागिता रहने भएको छ।नयाँ बसपार्कमा माघ १६ देखि २८ गते सम्म चल्ने प्रतियोगितामा भारतको दक्षिण इन्डियन रेलविक कलकत्ता टिमले प्रतिस्पर्धा गर्ने पक्का भैसकेको आयोजक ढोरपाटन स्पोर्टस ट्रेनिङ क्लबका अध्यक्ष मनवीर छन्त्यालले सोमबार पत्रकार सम्मेलनमा बताए ।

नेपाली भलिबलको पहिलो डबल लिग प्रतियोगितामा यसपाली साविक विजेता एपिएफ, नेपाल पुलिस क्लब, न्यु डायमन्ड एकेडेमी, चण्डेश्वरी युवा क्लब, कुलेश्वर आवसीय मावि, पशुपति क्याम्पस, जावलाखेल भलिबल प्रशिक्षण क्लब, ज्ञानुबाबा उच्च मावि, जिल्ला भलिबल संघ काभ्रे र आयोजक ढोरपाटन स्पोर्टस टे«निङ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा तीन खेलाडीले विभिन्न विधामा स्कुटर पाउने आयोजकले बताएको छ । वर्षको उत्कृष्ट खेलाडी, प्रतियोगिताको उत्कृष्ट खेलाडी र प्रतिभावान खेलाडीलाई टिभिएस स्कुटर प्रदान गरिने अध्यक्ष छन्त्यालले बताए । वर्ष खेलाडी र प्रतिभावान खेलाडी आयोजक कमिटिको जुरीले छान्ने व्यवस्था भए पनि प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई भने आयोजकले व्यापारको भाँडो बनाएको छ । समर्थकले गरेको भोटका आधारमा छानिने यो विधाको मतदानमा भाग लिन समर्थकले २० रुपैयाँको टिकट किन्नु पर्ने आयोजकले बतायो ।

'हामीले भलिबल गतिविधि शुन्य अवस्थामा भएको बेला नियमित प्रतियोगिता गरेर नेपालमा यो खेललाई लोकप्रिय बनाउन योगदान गरेका थियौं,' छन्त्यालले भने, 'ढोरपाटन भलिबलले थुप्रै नयाँ खेलाडी जन्माएको छ । आगामी दिनमा हामी प्रतियोगितालाई थप व्यवस्थित बनाउने प्रयास गर्नेछौं ।'

नेपाली भलिबलमा सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा विजेताले नगद २ लाख ५१ हजार, उपविजेताले १ लाख २० हजार र तेस्रो हुनेले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथौं हुने टोलीले ३० हजार, पाँचौले २० हजार र छैटौं स्थान ल्याउने टिमले १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट स्पाइकर, वेस्ट ब्लकर, रक्षक, सर्भर, सेटर, क्विकर र प्रशिक्षकलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले बतायो ।

प्रतियोगिताको समूह चरणमा १ सय र फाइनलमा २ सय ५० रुपैयाँ टिकट मुल्य राखिएको छ ।

प्रतियोगिता दौरान नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङ, महासचिव जितेन्द्रबहादुर चन्द, राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान भरत शाह र राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्कालाई आयोजकले सम्मान गर्ने अध्यक्ष छन्त्यालले बताए ।

पोखराको ज्ञानुबाबा उच्च मावि ढोरपाटन भलिबलमा सबैभन्दा सफल टोली हो । ज्ञानुबाबाले पाँच पटक प्रतियोगिताको उपाधि जितेको छ । आर्मी, नेपाल पुलिस र एपिएफले १–१ पटक उपाधि हात पारेका छन् ।

प्रकाशित: ८ पुस २०७० २३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App