मलंगवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ। मलंगवा-३ मा दादुरा सङ्क्रमणबाट प्रभावित सात बिरामी फेलापरेका छन्।
यहाँ दादुरा सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालयका प्रमुख डा नवलकिशोर झाले जानकारी दिए। उनको अनुसार सङ्क्रमणको आशंका गरिएका २२ जनालाई उनीहरुकै घरमा निगरानीमा राखिएको छ। दादुरा रोग तीव्रगतिमा फैलिने भएकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले मलंगवावासीसँग अनुरोध गरेको छ।
दादुरा रोगबाट बालबालिकालाई बचाउन र थप सङ्क्रमण फैलिन नदिन माघ १२ देखि माघ १६ गतेसम्म मलंगवामा विशेष खोप अभियान सञ्चालन गरिने प्रमुख डा झाले बताए। सो अभियानअन्तर्गत मलंगवा-३, २, ४, ८, ९ र १० वडाका ६ महिनादेखि १४ वर्ष उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप प्रदान गरिने मलंगवा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।
स्वास्थ्य शाखाले अभिभावकलाई नजिकैको खोप केन्द्रमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउन अनुरोध गरेको छ। समयमै खोप लगाउँदा दादुराजस्तो सङ्क्रामक रोगबाट बच्न सकिने कार्यालयको विश्वास छ। रासस
प्रकाशित: ११ माघ २०८२ ०७:०३ आइतबार





-600x400-wm.jpg)